Sunday, September 20, 2020
Home > गसिप > कोरोनापछिकाे जीवनशैलीः बच्चालाई च्याप्प काखमा राखेर श्रीमतिलाई अँगालेर ओठ जोड्ने छैनन्

कोरोनापछिकाे जीवनशैलीः बच्चालाई च्याप्प काखमा राखेर श्रीमतिलाई अँगालेर ओठ जोड्ने छैनन्

कोरोना भाइरसले मान्छेको मनस्थितिमा हलचल पैदा गरेको छ। अब मान्छेले जीउने तरिकाहरु सोच्न थाल्नेछन्। अब प्रत्येक मान्छेहरु एकअर्का बीच शंकालु हुनेछन्। उनीहरु हात मिलाई सकेपछि त्यो हात सक्सकाउँदो हुनेछ। अनुहार जोड्न हिच्किचाउँने छन्। घरका कुनैपनि सदस्य बाहिर गएर घर फर्कदा कपडा परिवर्तन गरी एक पटक सरर शरीर पखाल्ने नत्र हातखुटृा स्यानिटाइजर वा साबुन पानीले मज्जाले धुने बानीको विकास हुनेछ।

यसैपनि बारम्बार हात धुने बानीको विकास भैसकेको छ। परिवारका कुनैपनि सदस्यहरु हुलहुज्जत वा भीडभाडमा कमै जानेछन्। गए भनेपनि संशकित हुनेछन्, डराउने छन्। अब ठूलाठूला आन्दोलन हुने छैनन्। आन्दोलनका नाममा धेरैभन्दा धेरै मानिसहरु जोडिने छैनन्।

पसल, होटल, सुपरमार्केट, यातायात जताततै कथंकदाचित कुनै मानिसले खोक्यो भने त्यसलाई अरु मानिसले घोरिएर हेर्नेछन्। उसको नजिक जाने छैनन्, गए भनेपनि सर्तकताका साथ जानेछन्। उ बसेको सीटमा बसेका छन् भने उठ्नेछन् वा उ उठेको छ भने सिट छाडिदिने छन्। मान्छेहरु शंकालु हुन्छन्, बाँच्नु जो छ।

कोही कसैलाई रुघा लाग्यो र हाच्छयूँ गर्यो भने लौ कोरोना त लागेन भन्ने छन्। कोरोना भाइरसको डर भय त्रास सर्वत्र सबैको मनमा गडेर बस्नेछ।

प्राइभेट अस्पतालहरुमा बिरामी भएर वा बिरामी लिएर गइयो भने सर्वप्रथम ज्वरो आएको, रुघाखोकी भए/नभएको रिसेप्सनमा सोधिनेछ। ज्वरो, रुघाखोकी र टाउको दुखाई भएको छ भने ऊ शंसकित हुनेछ र उसले भर्नाअघि डाक्टरलाई इन्टरकमबाट सोध्नेछ र केहीबेर साइड लगाएर राख्नेछ। अस्पतालहरुमा अबका दिनमा बोर्ड नै झुन्डाउने छन् र भन्नेछन्- ‘यहाँ कोरोना भाइरसको उपचार हुनेछ।’

सरकारले अबका केही वर्षसम्म कोरोना भाइरसका नाममा भ्रष्टचार गर्ने छन्। भाइरसका नियन्त्रण र निर्मूल पार्न चाहिने अत्यावश्यक सामानहरु विभिन्न देशबाट ल्याउने नाममा करोडौं/अर्बौं भ्रष्टचार हुनेछ र भन्नेछ मानव स्वास्थ्य पहिलो हो। जसरी बर्डफ्लूका नाममा वर्षौसम्म त्रिभुवन विमानस्थलमा डेस्क राखेर बिना कर्मचारी, बिना स्रोतसाधन तलब भत्ता खाइरहे, रकम निकासा गरिरहे, त्यसरी नै कोरोनाका नाममा केही वर्ष मोजमस्ती चल्नेछ।

यस भाइरसका नाममा भएका र हुने भ्रष्टचारको हिसाबकिताब गरिने छैन। किनभने अप्ठ्यारो अवस्थामा जति भनेपनि किनियो। जनताको जीउज्यानको सुरक्षा पहिलो हो भनिनेछ। अदालत र अख्तियारमा मुद्धा पर्दैगर्दा मानव स्वास्थ्य पहिलो प्राथमिकता रहेको जनाइनेछ।

गाउँगाउँदेखि वडावडासम्म जिल्लाजिल्लादेखि प्रदेशसम्म मानिसहरु यसको खोप वा थोपा जे अनुसन्धानमा पत्ता लाग्दछ, डाक्टर वैज्ञानिकले त्यो खुवाउने आम मानिसलाई भन्नेछन्। मानिसहरु लाम लाग्नेछन् बाँच्ने नाममा। अधिकांस मानिसहरु अब शाकाहारी हुनेछन्। उनीहरुले आफ्नो बाँझो रहेको खेतबारी करेसोहरुमा सागसब्जीहरु लगाउनेछन्। पहिलाजस्तो खेतबारी बाँझो राखेर बजारमा तरकारी किन्ने चलन हट्नेछ।

कम्प्यूटर, ल्यापटप आइफोनहरुलाई एकपटक स्यानिटाइजर वा अल्कोहलले पुछेर चलाउँदासम्म सिकसिक लाग्नेछ। बाहिरबाट घरभित्रै छिर्नेबित्तिकै बच्चालाई झ्याप्प काखा लिनेछैनन्। श्रीमतीलाई अँगालेर ओठ जोड्ने छैनन्। बाबुआमाको खुटृटामा टाउको राख्ने छैनन्। किनकी पहिलो प्राथमिकता स्वास्थ्य र सरसफाई हुनेछ।

विदेशबाट स्वदेश फिरेका मान्छेहरुलाई सोध्नेछन् कुनै ज्वरो रुघाखोकी त लागेको छैन? विदेश बस्ने मान्छेलाई शसंकितरुपले हेर्ने छन्। यही हालतले अब करिब तीन महिनासम्म मानिस मर्नेनै हो भने त्यसपछिका दिनहरु कष्टकर हुनेछ। अर्थतन्त्र डामाडोल हुनेछ। यसबाट उठ्न दुईदेखि पाँचवर्ष लाग्नेछ।

कोरोनाका नाममा विभिन्न बैँकहरुबाट किसानहरुले आशा गरेअनुरुप ऋण प्राप्त हुनेछैन। बैंकहरुले कोरोनाका कारण देखाएर ऋण दिन नसक्ने जनाउँनेछन्। तर बैंकहरुले अहिले कोराना माफियाहरु जो जसले अनावश्यकरुपमा ५० र १०० बेड भन्दै आफ्नो घर, होटल र चल्दै नचलेका अस्पताल र उद्योगहरुमा बिरामी राख्ने ठाउँ बनाइएको भनिएको छ, ती सरकार र सरकारी बैंकहरुबाट अनुदान लिने रणनीति हो भन्नेकुरा जो जसले पनि बुझ्न सक्छ। त्यसका लागि बैंक र सरकारले पत्याउनेछन् र ऋण दिनेछन्।

तर गरिब किसान र निम्नवर्गीय र मध्यमवर्गीय नागरिकका लागि नगरपालिका वा विभिन्न बहानामा कर उठाउने वा एक/दुई दिनको तलब काट्नेछन्। मास्टर कर्मचारीहरुको तलब काट्नेछन् केही दिनका विदेशबाट गएका जुनसुकै नागरिकलाई कोरोनाको नाउँमा कुनै लक्षण नदेखिएका भएपनि समाउँदै क्वारेन्टाइनमा राख्दै त्यसको डाटा संकलन गर्दै सरकारलाई बुझाउँदै यति र उति उपचार गरियो भन्दै अनुदान लिनेछन्।

तर वास्तविक रोगीलाई उपचार गर्ने छैनन् किनभने रोग सर्न सक्छ भन्ने डर हुनेछ। तिनीहरु यसै मर्ने छन्। मरिसकेपछि बल्ल रिपोर्ट दिने छन्। यस कोरोनाको भयावह र महामारीले भारत र नेपाल विशेषगरी दक्षिण एशियामा खासै असर गरेन भने मानिसहरु बौद्ध र हिन्दुधर्मप्रति आकर्षित हुनेछन्।

उनीहरुले गरेका कृयाकलापहरुको अनुसरण गर्नेछन्। यत्रो जनसंख्या भएको भारतमा खासै असर गरेन भने मान्छेहरु किन गरेन सोधखोज हुनेछ। चाइनाजस्तो क्लोज देश भारत होइन। सोसाइटीमा सोसियल डिस्टेन्सको नयाँ नियमहरु स्थापित हुनेछ। यो मान्छेले कायम राख्नेछन् दायराको।

हत्तपत्त कोही पनि मान्छे एकअर्काबीच नजिक जाने छैनन्। जानुभन्दा अघि यो मान्छे स्वस्थ छ कि छैन होला भनेर उनीहरुको दिमागमा खेल्नेछ। धेरै मान्छेले मास्क र पन्जाको प्रयोग गर्नेछन्। खोक्दा जहाँ पायो त्यै खोक्ने छैनन्। ध्यान पुराउने छन्। हाच्छ्यू गर्दा कुमले छोप्ने छन्।

योगा र ध्यानमा मान्छेले अब समय बिताउँनेछन्। ओम शब्दको व्यापक उच्चारण हुनेछ। यसैपनि कोरोना सुरु भएपछि हिन्दुहरुको मन्त्र उच्चारण हुन थालेको छ स्पेनका अस्पतालहरुमा। अमेरिकाका अस्पतालहरुमा प्रार्थना सुरु हुन थालेको छ। विश्व स्वास्थ्य संगठनले सूचना नै निकालेर योग गर्नुस भनेको छ। अब नियम र प्राणायम मान्छेले गर्नेछन्।

चमेरोहरु देख्नेबित्तिकै मान्छेहरु तर्सनेछन्। चराचुरुंगीहरुलाई मानिसले अब पहिलाको जस्तो व्यवहार गर्ने छैनन्। उनीहरुलाई संरक्षण गर्नेछन् झन् बढी। अफिस गएर समयमै घर आउँनेछन्। फुर्सदको समयमा भोज भतेर पार्टीतीर अब मान्छेको ध्यान त्यति जाने छैन। उनीहरुले धेरैभन्दा धेरै समय आफ्ना बालबच्चा र श्रीमतीमा दिने छन्।

स्थापित भैसकेका मान्यतालाई कोरोनाले पुर्नजिवित गरिदिएको छ। त्यो के भने जतिसुकै शक्ति, धन, बल र बुद्धि जेसुकै भएता पनि पृथ्वीमा सबै मनुष्य एकै हो। कोही सानो ठूलो, धनी गरिब, उपल्लो र तल्लो केही होइन। सबै बराबरी हुन् भन्ने मान्यतालाई स्थापित गरिदिएको छ।

भाइरसले सबैलाई छोएर सबैलाई डाकेर लगेको छ। दौडेर कहिँपनि पुगिन्न पृथ्वी गोलो छ। रोकिनेवालाले पनि जित्नेछ भनेर सिकाईदिएको छ। घरबस जित्नेछौं भनिएको छ। जबसम्म दिनेले आफूलाई ठूलो र लिनेले आफूलाई सानो ठान्दछ, यो असमानताको भेद समाजमा त्यतिबेलासम्म रहिरहन्छ।

यस्ता कोरोनाभाइरस जस्ता महामारी आइरहनु पर्दछ। शताब्दीहरुमा यस्ता अनेकौं भाइरस र प्रलय पृथ्वीमा आइनै रहेका हुन्छन्। यसले मतलब बुझाएर गएको छ। यस भाइरसले मान्छेबिचका भेद र असमानताको पाठ राम्ररी सिकाएको छ। दिनेले आफूलाई महादानी र लिनेले आफूलाई तुच्छ सम्झने सोचको अन्त्य नभएसम्म, यस्ता सोचका मानिसको निर्मूल नभएसम्म समाज कहिल्यै पनि उभोँ लाग्दैन भन्ने सिकाई दिएको छ।

विश्वमा कोरोना भाइरसभन्दा अन्य रोगले मान्छेहरु धेरै मर्ने रहेछन्। दैनिक डेढ लाखको हारहारीमा अन्य रोगल मान्छे मर्दा रहेछन्। तर ती मरेका मानिसहरुको हिसाब किताब हुँदैन उनीहरुले जीवनको मूल्य र मान्यता सिकाए/सिकाएनन्, तर कोरोनाले जीवनको मुल्य मान्यता सिकाइदिएको छ।

मृ त्यु सबैलाई अप्रिय लाग्दछ। कुनैपनि चीज अति भएपछि हुने खतिका रुपमा हामीले यस भाइरसलाई लिनुपर्दछ। प्राकृतिक चिजभन्दा माथि हामी उठ्नु भनेको जोखिम मोल्नु हो भन्ने हेक्का राख्नुपर्ने रहेछ। अमेरिका र युरोपजस्ता देशलाई तहस नहस बनाउने यो सामान्य भाइरस मात्रै होइन।

यो मानव समुदायलाई चेतना दिएको सुक्ष्म जीव हो भन्ने लाग्छ। र समय आइसकेपछि स्वत हराएर जानेछ भन्ने विश्वास पनि गडेको छ। यो आर्टिकल सेतोपार्टीबाट जनचेतनाकै लागि साभार गरिएकाे छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!