Friday, April 16, 2021
Home > मनोरञ्जन > विश्व सुन्दरी श्रृंखला खतिवडाका साथमा मकवानपुरको चेपाङ बस्तीमा पुगिन् (हेर्नुस तस्विरहरूमा)

विश्व सुन्दरी श्रृंखला खतिवडाका साथमा मकवानपुरको चेपाङ बस्तीमा पुगिन् (हेर्नुस तस्विरहरूमा)

मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ तामलाङ गाउँमा मिस वल्र्ड २०१९ सहितको टोली पुगेको छ । शुक्रबार तामलाङस्थित ङिको स्वास्थ्य चौकीको अवलोकनका लागि मिस वल्र्ड टोनी एन सिंह, मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु पुग्नु भएको थियो। पाहूनाहरु तामलाङ पुग्दा कैलाश गाउँपालिका तथा स्थानीयबासिन्दाहरुले भब्य स्वागत गरेका थिए ।

तामलाङमा ङिको स्वास्थ्य चौकी निर्माण मिस नेपाल २०१८ कि बिजेता श्रृंखला खतिवडाले गर्नुभएको हो । मिस वल्र्ड च्याम्पियनमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नु भएकी खतिवडाले ब्युटी अफ पर्पज बिधा जित्न सफल भएको स्वास्थ्यचौकी मिस वल्र्डका आयोजकहरुलाई अबलोकन गराउनु भएको हो।

स्वाथ्यचौकीको अवलोकनपछि अवलोकनपछि मिस वल्र्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको बागमती प्रदेश सांसद एबम् खतिवडाकी आमा मुनु सिग्देलले जानकारी दिनुभयो । कैलाश गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मिस वल्र्डकी अध्यक्ष मोर्लेले २०१८ को मिस वल्र्डमा ब्युटी पर्पज जित्न सफल भएको स्थानमा पुग्न र देख्न पाएकामा खुसी व्यक्त गर्नुभयो।

कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो।

यसैगरी विश्वको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड नेपालमा आयोजना गर्ने चर्चा चल्न थालेको छ । नेपालमा मिस वर्ल्ड आयोजना गर्ने सम्भाव्यता बुझ्न आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्ली नेपाल आएकी छन् । उनीसँगै छिन् सन् २०१९ कि मिस वर्ल्ड टोनी एन सिंह। मोर्लीको टिमले पर्यटन मन्त्री योगेश भट्टराईसित बिहीबार भेटघाट गरेको थियो । सो भेटघाटमा प्रारम्भिक छलफल भएको मन्त्रालयले जनाएको छ । तीन दिनको तालिकामा आएको मिस वर्ल्डको टोली शुक्रबार हेलम्बु र मकवानपुर पुगेको छ।

हेलम्बुमा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठको प्रोजेक्ट र मकवानपुरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडाको प्रोजेक्ट अवलोकनका लागि सो टोली पुगेको हो । यिनै प्रोजेक्टले श्रृंखला र अनुष्कालाई ब्यूटी विथ दि प्रपोजको अवार्ड दिलाएको थियो।

विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रुपमा मिस वर्ल्डलाई लिने गरिन्छ । यसको पछिल्लो ६९ औं संस्करण बेलायतमा भएको थियो, जसमा नेपालकी अनुष्काले दुईवटा उपाधि जितेकी थिइन् । यसअघिको संस्करणमा नेपालकी श्रृंखला खतिवडाले निकै चर्चा पाएकी थिइन् र ब्यूटी विथ प्रपोज सहित उनले पनि दुई उपाधि जितेकी थिइन् । ब्यूटी विथ प्रपोजलाई मिस वर्ल्डपछिको सबैभन्दा महत्वपूर्ण टाइटल मानिन्छ।

नेपालका दुई सुन्दरीहरुले लगातार दुई–दुई उपाधि जितेपछि मिस वर्ल्डका आयोजकको ध्यान नेपालतर्फ तानिएको हो । आगामी मिस वर्ल्ड नेपालमा आयोजना गर्न आयोजकले देखाएको चासोलाई पनि यसैको प्रतिफलका रुपमा बुझ्न सकिन्छ । तर, यो समारोह नेपालमा आयोजना गर्ने कुरा सहज भने छैन।

स्मरणीय के छ भने मोर्लेले यसअघि ७० औं मिस वर्ल्ड थाइल्यान्डमा हुने भनेर गत वर्ष नै घोषणा गरिसकेकी छन् । यसअघि ६९ औं मिस वर्ल्ड थाइल्यान्डमा गर्ने भनिएको थियो । पछि लन्डन सारियो र ७० औं संस्करण थाइल्यान्डमा गर्ने भनियो । यद्यपि, मिस वर्ल्डको आधिकारिक वेवसाइटमा यसबारे कुनै जानकारी छैन।

अर्को तथ्य के हो भने मिस वर्ल्डको टोली नेपालमा आउनुको मुख्य उद्देश्य यहाँ आयोजनाको सम्भाव्यता अध्ययन गर्नु होइन । मिस वर्ल्डमा ब्यूटी विथ पर्पस टाइटल जितेका दुई मिस नेपाल श्रृंखला खतिवडा र अनुष्का श्रेष्ठको प्रोजेक्टको अवलोकन र सहयाताको लागि सो टोली आएको मिस वर्ल्डको वेवसाइटमा उल्लेख छ । उनीहरुलाई नेपाल ल्याउने तारतम्य मिस नेपालको आयोजक हिडन ट्रेजरले मिलाएको हो।

सोही संस्थाको पहलमा मिस वर्ल्डको टोलीसँग पर्यटनमन्त्रीको भेटघाटको मिलाइएको थियो । भेटघाटमा मिस वर्ल्डकी अध्यक्ष मोर्लेले नेपालमा प्रतियोगिता आयोजना गर्ने मौखिक इच्छा व्यक्त गरेकी थिइन् । तर, कुनै ठोस प्रस्ताव पेश गरेकी होइनन्।

तस्वीर हेर्नुहोस:

Leave a Reply