Thursday, April 15, 2021
Home > समाचार > फेरि टिप्पर आतङ्क: मोटरसाईकल चालकको दुःखद निधन !

फेरि टिप्पर आतङ्क: मोटरसाईकल चालकको दुःखद निधन !

भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ । निधन हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा१क ६२५५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको ना५७प १९ नंको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

त्यस्तै सवारी दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आज बिहान ४ः३० बजे चितवनको इच्छाकमना गाउँपालिका–६ जलवीरेमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४०३ नंको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना८ख ६९८० नंको गिट्टी बोकेको टिपर एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परेका सवारी साधन सडकमै तेर्सिएपछि सडक अवरुद्ध भएको थियो । क्रेनको सहायताबाट हटाएपछि बिहान ७ः१५ बजेबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।दुर्घटनामा ट्रकका चालक सामान्य घाइते भएका थिए । घाइते चालकलाई उपचारका लागि काठमाडौँ लगिएको छ भने टिपर चालक प्रहरीको नियन्त्रणमा छन् ।

Leave a Reply