Monday, July 12, 2021
Home > समाज > निर्मलाको बलात्कारमा प्रयोग नभएकाे कण्डम कहाँ बाट फेला पार्यो पुलिसले?

निर्मलाको बलात्कारमा प्रयोग नभएकाे कण्डम कहाँ बाट फेला पार्यो पुलिसले?

गृह मन्त्रालयले सीआइबीका अनुसन्धान अधिकारीलाई निलम्बन गरेपछि अब निर्मला हत्या प्रकरणमा ती निलम्बित अनुसन्धानकर्ताले गरेको विगतको अनुसन्धान बदर हुन्छ कि सदर हुन्छ भन्ने प्रश्न उठेको छ । अब नयाँ छानविन समितिले सीआइबीकै अनुसन्धानमा टेक्ने हो भने यो अनुसन्धान घटनास्थलमा हैन, रगत परीक्षण गर्ने ल्याबमा मात्रै सीमित हुनेछ । अब कञ्चनपुर प्रहरीले यसअघि सीआइबीले गरेको अनुसन्धानलाईि खारेज गर्नुपर्छ ।

 

यदि खारेज नगर्ने हो भने डीएनए परीक्षण नगरी कसैलाई पनि निर्मला पन्तको हत्यारा सावित गर्न नसकिने स्थिति सिर्जना भएको छ । निर्मला पन्त हत्या प्रकरणको अहिलेसम्मको भवितव्य के हो भने अब शंका लागेको व्यक्तिलाई सुई घोपेर रगतको नमूना ल्याबमा ल्याउने अनि निर्मलाको शवबाट संकलित भेजिना स्वाबमा फेला परेको वीर्यसँग भिडाएर हेर्ने । जसको डीएनए म्याच गर्छ, यसलाई अपराधी करार गर्ने, जसको मिल्दैन, उसलाई निर्दोष सावित गर्नै जाने । यसरी सीआइबीको विगतको अनुसन्धानमा टेक्ने हो भने अबको अनुसन्धान टोलीले रगत संकलन र डीएनए परीक्षण मात्रै गर्नुपर्ने बाध्यता छ ।

एसपीका छोरा, एसपी, मेयरका भतिजा वा अरु जो कसैलाई पनि शंका लागेका रगतको स्याम्पल लिनैपर्ने बाध्यतामा सीआइबीको अनुसन्धानले पुर्‍याइदिएको छ । सीआइबीका पूर्व अनुसन्धानअधिकारीहरुको दाबी के छ भने निर्मला पन्तको अहिलेसम्म नष्ट नभएको एउटै प्रमाण भनेको उनको भेजिनल स्वाब मात्रै हो ।

यदि निर्मलाको ‘भेजिनल स्वाब’ लाई मात्रै अपराधकर्ताको एकमात्र अचूक एवं निरपेक्ष प्रमाण ठान्ने हो भने अब यस्तो अनुमान लगाउनैपर्ने हुन्छ- बलात्कारी र हत्यारा एउटैै व्यक्ति हो, जसले बलात्कारको समयमा कण्डम प्रयोग गरेको थिएन । तर, यसअघि घटनास्थलमा कण्डम फेला पारेको प्रहरीले चर्चा गरेको थियो । फोरेन्सिक ल्याबका विज्ञहरुका अनुसार भेजिनल स्वाबमा वीर्यको उपस्थिति त्यस्तो बेलामा मात्रै भेटिन्छ, जुनबेला बलात्कारीले कण्डमको प्रयोग गरेको हुँदैन । कण्डम प्रयोग भएको छैन भने मात्रै भेजिनल स्वाबमा वीर्य खस्न सक्ने अवस्था हुन्छ ।

प्रहरी टोलीले गरेको अहिलेसम्मको अनुसन्धान प्रक्रियालाई खारेज नगरी पुरानै अनुसन्धानमा टेकेर अनुसन्धान थाल्ने हो भने अब दिलिपसिंह विष्टलाई निर्दोषिताको स्थायी प्रमाणपत्र दिए हुन्छ । डीएनए परीक्षण गरीवरि छुटेका विष्टमाथि फेरि छानविन वा अनुसन्धान गर्ने हो भने डीएनए परीक्षणको विश्वसनीयतामाथि नै प्रश्न उठाउनुपर्ने हुन्छ । र, यससँगै निर्मला पन्तको शवबाट संकलन गरिएको भनिएको ‘भेजिना स्वाब’ को बैधतामाथि नै प्रश्न उठाउनुपर्ने हुन्छ ।

के हो भेजिनल स्वाब ?
भेजिनल स्वाब भनेको गुप्ताङ्गको भित्री भागबाट संकलिन गरिने एक प्रकारको जैविक पदार्थ हो । बलात्कृत महिलाको गुप्ताङ्गबाट त्यस्तो वस्तु संकलन गरेर ल्याबमा परीक्षण गर्दा त्यहाँ बलात्कारीको वीर्यको अंश फेला पर्‍यो भने त्यसलाई शंकास्पद व्यक्तिसँग भिडाएर हेरिन्छ र मिलेको खण्डमा अपराधीको पहिचान हुन्छ । माइक्रो बाइलोजिकल टेस्ट भएकाले यस्तो परीक्षणबाट अपराधी उम्कन नपाउने र कोही पनि निर्दोषले दोषको भागिदार हुनु नपर्ने दाबी गरिँदै आएको छ ।

तर, भेजिनल स्वाबको परीक्षणमा केही पक्षमाथि विचार पुर्‍याउनुपर्ने हुन्छ । बलात्कारीले भेजिनल स्वाबमा वीर्य वा अन्य कुनै स्वाब छाडेकै हुन्छ भन्ने छैन । अन्य प्रकारले अपराध पनि भएको हुन सक्छ । त्यसैले, भेजिनल स्वाबको परीक्षण एउटा त्यस्तो अन्तिम अस्त्र हो, जहाँ अपराधीलाई फेला पार्ने वा कबुल गराउने अन्य आधारहरु समाप्त भएका हुन्छन् ।

यद्यपि बलात्कारको घटनापछि मृत या जीवितै रहेका पीडितको शरीरबाट भेजिनल स्वाबको नमूना संकलन गरेर परीक्षण गर्ने प्रचलन विश्वमा धेरैवर्ष देखि प्रचलित छ । फ्रान्समा केही वर्ष पहिले गरिएको एक अनुसन्धानमा ७९ जना बलात्कृत महिलाको भेजिनल स्वाब परीक्षण गर्दा ३० प्रतिशतमा मात्रै पुरुषको ‘वाई क्रोमोजोम’ भेटिएको थियो ।

बलात्कारपछि हत्या भएको आशंका गरिएको स्थितिमा मृतकको पोष्टमार्टम गर्ने बेलामै डाक्टरहरुले भेजिनल स्वाब निकाल्छन् । प्रहरीले त्यस्तो स्वाब निकालिएको मुचुल्का तयार पार्छ र सर्जमिनसहित शीलबन्दी गर्छ । फोरेन्सिक ल्याबमा पनि त्यसलाई प्रक्रिया नपुर्‍याई खोल्न मिल्दैन । विधि नपुर्‍याई शील खोलिएको भेजिनल स्वाबको परीक्षण गर्न फोरेन्सिक ल्याबले स्वीकार गर्दैन । भेजिनल स्वाबको परीक्षणको बैधता पुष्टि हुनुपर्छ । यसलाई अपराध अनुसन्धानको भाषामा ‘चेन अफ कस्टडी मेन्टेन’ भएको हुनुपर्ने भनिन्छ ।

बलात्कृत महिलाको शरीरमा पुरुषको वाई-क्रोमोजोम रहे/नरहेको पत्ता लगाउनका लागि घटना भएको दुई दिनभित्रै भेजिनल स्वाब संकलन गर्नुपर्ने विज्ञहरु बताउँछन् । त्यसरी संकलन गरिएको नमूनालाई विधि विज्ञान प्रयोगशालामा २/३ महिनाभित्र परीक्षण गर्ने नेपाली प्रचलन छ ।

बलात्कारको घटनामा पोष्टमार्टम गर्दा पीडितको भेजिनल स्वाब सुरक्षित गरिएको सम्भवतः निर्मला पन्तकै पहिलो भएको अनुसन्धान अधिकारीहरुको दाबी छ ।

भेजिनल स्वाबमा भेटिएको वीर्य परीक्षण गर्दा धेरैजनाले बलात्कार गरेका हुन् कि एकैजनाले मात्र हो भन्ने पनि थाहा हुन्छ । धेरैजनाको वीर्य खसेको रहेछ भने मल्टिपल छुट्याउन सकिन्छ । तर, निर्मला पन्तको भेजिनल स्वाबमा एकजनाको मात्रै कन्टेन रहेको रिपोर्ट विधि विज्ञान प्रयोगशालाले सीआइबीलाई दिएको छ ।

सीआइबीको टोलीले के-के गर्‍यो ?
निर्मला पन्तको शव फेला परेको चार दिनपछि काठमाडौंबाट डीएसपी अंगुर जीसीको नेतृत्वमा सीआइबीको टोली कञ्चनपुर पुगेको थियो । सीआइबीको टोली घटनास्थलमा पुग्दा निर्मलाको दाहसंस्कार भइसकेको थियो । जीसीको टोलीले करिब एक महिना लगाएर घटनाको अनुसन्धान गर्‍यो ।

कञ्चनपुर जानेवित्तिकै डीएसपी जीसीले निर्मला पन्तको भेजिनल स्वाबको खोजी गरे । पोस्टमार्टम गर्ने ठाउँमै डाक्टरहरुले निर्मलाको भेजिनल स्वाब उठाएको सीआइबी टोलीलाई जानकारी आयो । अस्पतालले हामीसँग भेजिनल स्वाब छ भनेपछि त्यसलाई तुरुन्तै प्लेनबाट काठमाडौं पठाइयो ।

सीआइबीको अनुसन्धान टोलीले निर्मलाको भेजिनल स्वाबमा पुरुषको वीर्य छ कि छैन भन्ने हेर्न चाहेको थियो । फोरेन्सिक डिपार्टले तीन दिनपछि सीआइबीलाई भन्यो- पोजेटिभ रिपोर्ट आयो । अर्थात भेजिनल स्वाबमा वीर्यको अंश पाइयो ।

निर्मलाका हत्यारा पत्ता लगाउनका लागि एउटा बलियो आधार फेला परेको ठानेर सीआइबीको टोलीले ल्याबका विज्ञहरुलाई कञ्चनपुरबाटै फोन गरेर सोधे- ‘त्यो वीर्यको कन्टेनलाई ब्लड ग्रुपमा हेर्न सकिन्छ कि सकिँदैन ?’

ल्याबका विज्ञहरुले सीआइबीका अनुसन्धान अधिकारीलाई भने- ‘मान्छेको डीएनएमा सेक्रेटर र ननसेक्रेटर भन्ने दुई पक्ष हुन्छन् । सेक्रेटर ८० प्रतिशत र नन सेक्रेटर २० प्रतिशत हुने हुँदा सेक्रेटरमा पर्‍यो भने वीर्यबाट ब्लड ग्रुप छुट्याउन सकिन्छ । त्यसैले हामी यसमा प्रयास गर्छौं ।

अन्ततः निर्मलाको भेजिनल स्वाबमा भेटिएको वीर्यलाई ब्लड ग्रुपबा आधारमा डीएनए परीक्षण गर्न सम्भव रहेको सकारात्मक निश्कर्ष फरेन्सिक विशेषज्ञहरुले सीआइबीको टोलीलाई सुनाए ।

यसक्रममा अर्को समस्या के देखियो भने नेपालमा २/३ महिनामा एकपटकमात्रै डीएनए परीक्षण गरिँदोरहेछ । डीएनए परीक्षण गर्ने केमीकल ३/४ रुपैयाँसम्म महंगो पर्दोरहेछ । त्यो केमिकल एकपटक खोलेपछि धेरै दिन प्रयोग गर्न नमिल्ने भएकाले तीन/चार महिनासम्म डीएनएका नमूना संकलन गर्ने र एकैचोटि खोलेर परीक्षण गर्ने प्रचलन रहेछ । तर, निर्मलाको भेजिनल स्वाब परीक्षण गर्दा पैसा तिर्नु नपरेको र ल्याबले सित्तैमा गरिदिएको स्रोतले बतायो ।

तर, निर्मला पन्तको प्रकरणमा प्रहरीलाई छिटोभन्दा छिटो डीएनएको रिपोर्ट चाहिएको थियो । त्यसैले कञ्चनपुरबाट सीआएबीका डीएसपी अंगुर जोशीले डीआइजी नारायण खड्कालाई टेलीफोन गरेर आइजी साहेबलाई नै भनेर भए पनि चाँडो डीएनए परीक्षण गरिदिन आग्रह गर्‍यो । त्यसपछि निर्मलाको भेजिनल स्वाबमा फेला परेको वीर्यको डीएनए जाँच गरियो ।

अन्ततः कञ्चनपुरबाट काठमाडौं ल्याइएका दिलिपसिंह बिष्टको रगतलाई म्याच गराउँदा नमिलेपछि उनी रिहा भए ।
सीआइबीको टोलीले चाहिँ दिलिपसिंह विष्ट नै दोषी भएको विश्वास लिएको थियो । तर, ‘साइन्स’ ले प्रहरीको विश्वासलाई पुष्टि गरेन । आन्दोलनको आवाज र डीएनए रिपोर्ट दुबै प्रहरीका लागि भारी परे ।

तथापि निर्मला पन्तको भेजिनल स्वाब र त्यसमा रहेको वीर्य बचाइनु ठूलो उपलब्धि भएको अनुसन्धानमा संलग्न प्रहरीहरुको दाबी छ । प्रहरी स्रोत भन्छ- ‘अब त्यो डीएनए नै सबैभन्दा ठूलो प्रमाण हो । त्यसलाई अब रगत वा वीर्य दुबैबाट परीक्षण गर्न सकिन्छ । त्यो स्वाब बचाइयो, यो नै महत्वपूर्ण कुरा हो । कम्तिमा पनि यो ऐतिहासिक जीत जस्तै हो । यसले अब बलात्कारी पत्ता लगाउन सजिलो हुन्छ । अब कसैलाई पनि जबरजस्ती सकार्दे भनेका भरमा हामी असफल हुन्छौं । अब डीएनए मिल्नैपर्ने हुन्छ ।’

भेजिनल स्वाब बाहेक सीआइबीले गरेको काम
कञ्चनपुरमा खटिएको सीआइबीको टोलीले निर्मला हत्या प्रकरणको अनुसन्धान भेजिनल स्वाबमा मात्रै केन्दि्रत गरेको चाहिँ होइन । टोलीले यसवीचमा बम दिदीबहिनीमाथि पनि अनुसन्धान गर्‍यो । दिलिपसिंह विष्टमाथि छानविन गर्‍यो । एसपीका छोरा र मेयरका भतिजमाथि पनि निगरानी र अनुसन्धान गरेको सीआइबीका अधिकारीहरुको दाबी छ ।

स्रोतले भन्यो- ‘हामीले पब्लिक ओपिनियनका आधारमा नभएर घटनास्थलबाटै अनुसन्धान गर्ने हो । तर, एक महिनासम्म तथ्यहरु खोज्दा पनि पाइएन । निर्मला डान्स रेस्टुरेन्टमा गएको पनि पाइएन । अनुसन्धानको फोकस दुईवटी केटीमा केन्दि्रत भयो । उनीहरुको टेलिफोन ट्यापिङ गरियो । प्रत्येक दिन जिप्रकामा बोलाइएकै थियो । मोबाइलमा केही डिलिट गरिएको छ कि भनेर डिजिटल फरेन्सिक टेस्टमा पनि पठायौं । पोलिग्राफ चेकिङ गरियो । तर, केही पाइएन ।’

निलम्बनमा परेका एक प्रहरीले गुनासो पोख्दै भने- ‘प्रमाण नपाएपछि कसैलाई थुनेर राख्न वा म्याद थप्न मिलेन । पछि फिल्डमा गएकाहरुले हामीले गरेको भएन भनेर बम दिदीबहिनीको म्याद थप गरे, तर प्रमाण नपाएर छाडे । अब थप अनुसन्धान गरुन् न त ।’

विज्ञानमाथि नै भगवान भरोसा !
भेजिनल स्वाबमा फेला परेको वीर्यका आधारमा डीएनए परीक्षण गर्दा सामान्य कमजोरी भयो भने यसले अपराधी पत्ता लाग्न गाह्रो हुन्छ । विज्ञान र मानिसको क्षमतावीचको यही दुरीका कारण कहिलेकाहिँ डीएनएको रिपोर्ट पनि चिप्लिन सक्छ । यो स्थितिमा विज्ञानमाथि पनि भगवान भरोसा भन्नुपर्ने अवस्था आउन सक्छ ।

के दिलिपसिंह विष्टका सम्बन्धमा गरिएको डीएन परीक्षण विश्वसनीय नै थियो त ? यो प्रश्नमा सीआइबी स्रोतले भन्यो- ‘विष्टमा हामी लगभग ढुक्क भएका थियौं । डीएनएबाहेक अरुमा शंका गर्ने आधार थियो ।’

अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्- ‘मान्छेले साइन्स बनायो, तर त्यसलाई प्रयोग गर्न हामी कति सफल भयौं ? अब दिलिपले नै त्यस्तो गरेको रहेछ भने हामीले साइन्सलाई च्यालेञ्ज गर्न सकिँदैन । तर, हामीकहाँ ल्याबको कस्तो क्षमता छ ? कतै भेजिनल स्वाब उठाउने बेलामा वा जाँच्ने बेलामा पो ठीक भएन कि ? यसमा पनि अनुसन्धान गर्नुपर्ने हुन सक्छ ।’

फेरि प्रश्न त उही छ- के अबको अनुसन्धान समितिले निर्मला पन्तको भनिएको भेजिनल स्वाब, त्यसमा फेला परेको भनिएको वीर्यको कन्टेन र त्यसैका आधारमा गरिएको भनिएको दिलिपसिंह विष्टको डीएनए परीक्षणको पुनः परीक्षण गर्छ ? वा सीआइबीकै पूर्व अनुसन्धानमा टेकेर शंकास्पद व्यक्तिहरुको रगत संकलनमा मात्रै आफूलाई सीमित राख्छ ? यो चाहिँ हेर्न बाँकी छ ।

कञ्चनपुर प्रहरीले विभिन्न प्रमाणहरु सुनियोजित रुपमा नष्ट गरेको आरोप पीडित पक्षबाट लागिरहेका बेला निर्मला पन्तको भेजिनल स्वाबचाहिँ कसरी र कसको विवेकमा सुरक्षित राखिएछ ? त्यो प्रमाण कसले जोगाएर राखेको थियो ? अनि प्रहरीले नै उखुबारीमा कण्डम भेटिएको बताइरहेका अवस्थामा भेजिनल स्वाबमा वीर्यको कन्टेन कसरी फेला पर्‍यो ? यी प्रश्नहरु पनि अनुसन्धानकै विषय हुन् ।

अपराधी को हो भन्ने कुरा गृहमन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट टुंगो लाग्ने विषय होइन, यो त सूक्ष्म अनुुसन्धानबाट पत्ता लाग्ने विषय हो । ओपिनियन र तर्कबाट होइन, अनुसन्धान र तथ्यबाट मात्रै अपराधी पत्ता लगाउन सकिन्छ । त्यसैले, अबको अनुसन्धान त्यसैतर्फ लक्षित होस् र निर्मलाले चाँडो न्याय पाउन् । विज्ञानको बाहनामा ल्याबमा रगत जाँच्दै अपराधीलाई उम्काउने काम नगरियोस् । यो प्रश्न दिलिपसिंह वा डिल्लीराज वा अरु, सबैका हकमा बराबरी लागू हुन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!