Friday, June 18, 2021
Home > समाज > निर्मला हत्या प्रकरणमा प्रहरीका हरेक कर्तुत् प्रमाण मेटाउने को हुन् ती पोख्त व्यक्ति?

निर्मला हत्या प्रकरणमा प्रहरीका हरेक कर्तुत् प्रमाण मेटाउने को हुन् ती पोख्त व्यक्ति?

काठमाडौं । कञ्चनपुर घटना अथवा निर्मला हत्या प्रकरण । प्रहरी प्रशासन, सरकार र शासकबाट ढाकछोप र रक्षात्मक व्यवहार प्रदर्शन । अनुसन्धान जहाँको त्यहीँ । छानविन समिति, समय कटाउँदै । प्रहरीबाटै प्रमाण नष्ट । स्थानीयलाई अनावश्यक यातना । शंकास्पदहरुलाई सुरक्षा । यस्ता मिलेमतोमा बुनिएका कयौँ विवरण एक पछि अर्को गरी खुल्दै छन् । जसले प्रहरीको छवि धुलोमै मिल्न आँटिसक्यो ।

 

घटना घटेको ५२ दिन वितिसक्यो । अनुसन्धानको नतिजा शून्यप्रायः छ । संविधानको धारा २१ अथवा मौलिक हक अन्तर्गत अपराध पीडितको हक राखिएको छ । उपधारा (१) मा अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक हुनेछ, भनिएको छ । अहिलेसम्म अनुसन्धानको नतिजा शून्य भनिँदै छ । अनुसन्धानमा प्रगति नहुनु र पीडितलाई अनुसन्धान तथा कारबाहीको जानकारी नदिनु संविधानको मौलिक हक विरीत छ ।

उपधारा (२) मा अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुनःस्थापना क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ, भनिएको छ । घटना भएको ५२ दिनसम्म अनुसन्धान वा कारबाहीको कुनै जानकारी पीडितलाई नदिएकामा अब सम्बन्धित निकायले क्षतिपूर्ति कति दिने हो ? यो वापतको न्याय पाउने कहिले ? प्रश्नमाथि प्रश्न, अन्यायमाथि अन्याय थपिँदै गएका छन् ।

उल्टो अनुसन्धान
प्रहरी अधिकारीहरु आफै भन्दछन् –अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ । निर्मला पन्तको हत्यामा पनि हत्याराले प्रमाण नष्ट गर्न अनेक प्रयत्न गरेपनि केही प्रमाण छोडेर गयो । तर, त्यो प्रमाण प्रहरीले संकल गरेन कि उल्टै नष्ट गर्न उद्दत रहयो । उल्टो अनुसन्धान : जसले प्रहरीमाथि शंका गर्ने ठाउँहरु प्रशस्त उब्जायो । यतिसम्म कि अपराध अनुसन्धानमा पोख्त व्यक्तिले नै हत्या गरेको पो हो की ? सम्मको शंका । हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको ठहर्छ ।

घुँडासम्म पानी जमेको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । जानी बुझी, निकै होसियारपूर्वक । हत्याराले बालात्कारपछि निर्मलाको गुप्तांगबाट विर्य, रगत पखालियोस् भनेरै पानी जमेको उखुबारीमा घोप्टो पारेर शव फालेको हुनसक्ने प्रहरी अधिकारी नै बताउँछन् ।

पानी भएको ठाउँमा खुट्टाको छाप देखिँदैन भन्ने जानेरै पानी भएकै ठाउँमा शव फालेको ठहरिन्छ । संयोगले त्यही दिन मुसलधारे पानि परिदियो । मानौँ कि त्यो दिन मौसम पनि बेइमान भयो । हत्यारालाई सघायो । निर्मलाको विभत्स शव भिजायो, पखाल्यो, डुबायो ।

शव घोप्टो पारेर पानीमा डुबाइएकाले शरीरका अन्य भाग र लुगामा पाइन सक्ने रगत, राैँ, विर्यलगायत प्रमाण नष्ट हुन पुगे । पानीले पखालेपछि फिंगर प्रिन्ट पाउने सम्भावना न्यून भयो, शवबाट । तर, शव भेटिएको उखुबारीमा पुग्न भने खोला तर्नु पर्छ । अनुसन्धानमा किन कुकुर प्रयोग गरिएन भन्ने प्रश्न समेत उठ्यो ? तर, कुकुर खोला तर्न डराउँछ । अर्कोतिर अपराधीले खोला तरेपछि उसले पहिल्याएको बाटो टुट्छ । कुकुरले बाटो पछुयाउन कठिन हुन्छ । अपराधीले यति धेरै सुझबुझ गरेको छ कि कुकुर प्रयोग गरिहाले पनि बाटो पत्ता नलागोस् । अपराध गर्ने अथवा अपराधीलाई सघाउने व्यक्ति अनुसन्धानबारे जानकार हुनुपर्छ भन्ने शंका गर्ने ठाउँ प्रशस्त छ ।

शव खोलापारीको पानी–पानी भएको उखुबारीमा लगेर फालिनुले प्रमाण कसरी मेटाउन सकिन्छ भन्ने विषयमा शव ठेगान लगाउने व्यक्ति पूर्ण जानकार भएको ठहरिन्छ । निर्मलाको शव र शव पाइएको उखुबारीको पृष्ठभूमि हेर्दा अन्यत्रै बलात्कार गरी हत्या गरेपछि त्यहाँ लगेर फालेको देखिन्छ ।

साइकल खोलामा र कापी कितावको फिंगर प्रिन्ट लिइएन
निर्मलाको शव पानीमा फालिएकाले मृत शरीरमा फिंगर प्रिन्ट भेट्न कठिनाई हुनु स्वभाविक हो । तर, निर्मलाको साइकल खोलामा फालिएको थियो । साइकल पानीमा डुबेकाले फिंगर प्रिन्ट मेटिने नै भयो । अपराध गर्ने व्यक्ति कति चलाख ? तर, केही न केही प्रमाण छोड्छ भने झँ कापीकिताब भने खोलामा फाल्न भूल्यो । अथवा यहाँ नेर एउटा शंका गर्ने ठाउँछ । किताब पानी पर्न रोकिएपछि अरु कसैले लगेर फालेको हो कि ? खान तलासी गर्दा किताब कापी भेटियो भने फसिन्छ भन्ने डरले त्यो घटनाबारे थाहा पाउने अरु कसैले फालेको हो कि ? शंका गर्ने ठाउँ छ । किन भने, रातभर पानी पर्दा पनि कापी किताब भिजेका छैनन् । स्थानीयका अनुसार त्यो रात मुसलधारे पानी परेको थियो ।

तर, प्रहरीले नभिजेका ती कापी किताबबाट पनि फिंगर प्रिन्ट लिएन । यो कुरा कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले नै स्वीकारे । उनका अनुसार पहिलो अनुसन्धान टोलीले कापीकिताबबाट फिंगर प्रिन्ट संकलन गरेन । कञ्चनपुरबाट ५५ किलोमिटर दूरी पर्ने धनगढीमै तालिम प्राप्त कुकुर छन् । अनुसन्धान गर्ने टोलीले त्यो सम्झिएन । कापीकिताबाट फिंगर प्रिन्ट पनि लिइएन । यसले अपराध गर्नेले यो घटनामा धेरैलाई संलग्न गराएको शंका गर्ने ठाउँ पनि प्रशस्त छ ।

खुट्टाको छापको पनि नमूना लिइएन
अपराधीले आफ्ना पैतालाको छाप नदेखियोस् भनेर शव पानीपानी भएको उखुबारीमा लगेर फालेको देखिन्छ । तर, स्थानीयका अनुसार खोलाबाट उखुबारीमा उक्लिने ठाउँमा तीन फरक–फरक पैतालाका छाप थियो । प्रहरीले ती तीन वटा छापको नमूना पनि संकलन गरेन । उखुबारी उक्लिने डिलमा रहेका ती छाप संकलन गर्न आग्रह गर्दा अनुसन्धानमा खटिएका प्रहरीले स्थानीयलाई उल्टै धम्काए । हातपात गरौँला झैँ गरे ।

शव भेट्नासाथ गरेका गल्ती
प्रहरीले शव भेट्नासाथ घोप्टो अवस्थाको शव उत्तानो पार्न लगायो । घोप्टो शवको पीठ्यूपट्टीको हुनसक्ने सम्भावित प्रमाण पनि उत्तानो पार्दा पानीमा डुबेसँगै पखालियो । क्राइम सिनमा प्रहरीले निश्चित घेरा हालिसकेपछि त्यो भित्र अनुसन्धान अधिकारी बाहेक अरुको चहलपहल हुन दिँदैन । शव जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा विभिन्न विवरणहरु लिने गरिन्छ । निर्मलाको शव भेटने टोलीले त्यस्तो गरेन ।

तर, दुई–दुई जना प्रहरी निरीक्षकको कमान्डमा खटिएका प्रहरीले हातले समातेर शव उत्तानो पारे । एक खुट्टामा लत्रिएको सुरुवाल पनि महिला प्रहरीले निकालिन् अनि पानीमा धोइन् । सुरुवाल धोएको भिडियो नै सार्वजनिक भएको थियो । शवको गोप्य अंग ढाक्न खुट्टासम्म लत्रिएको सुरुवाल पखालेर प्रयोग गरियो । यो कस्नो अनुसन्धान पद्दती हो ? जहाँ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको अपरिपक्वता वा नियत प्रष्ट देखिन्छ छ ।

प्रमाण नष्ट गर्न प्रहरीको त्यही कर्मले पनि ठूलो काम गरिदियो । यतिसम्म कि उखुवारीबाट शव उठाउनेदेखि निर्मलाको अन्तिम संस्कार गर्दासम्म धेरै प्रमाणहरु मेटाउने र अपराधी लुकाउने कार्यमा प्रहरीको ठूलो हात रहयो । त्यसैले पूर्व एआइजी हेमन्त मल्ल ठकुरीले प्रहरी चुकेको र गम्भीर त्रुटि गरेको भनिरहेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!