परासी । पश्चिम नवलपरासीका लालचन चौधरीले आफूले बाटोमा भेट्टाएको दुई लाख धनीलाई नै फिर्ता दिएका छन् । उनले यति धेरै इमान्दारिता प्रदर्शन गरेको भन्दै चौतर्फी प्रशंसा पाएका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ की पावित्री थारूले सोही ठाउँ सवुनीका ओमप्रकाश सहानीसँग ऋण मागेर रामग्राम–१० लक्ष्मीपुर जाने क्रममा सो रकम हराएको थियो ।पैसा हराएपछि पावित्रीले प्रहरी तथा स्थानीयवासीलाई खबर गरिन् ।
तत्कालै रकम भेट्टाउनेलाई पुरस्कारको घोषणासहित खोजतलास शुरु गरिएको स्थानीय कानून व्यवसायी दीपेन्द्र मिश्रले बताए। रकम भेट्टाएका रामग्राम–१६ कै लालचन चौधरीले पावित्री थारूको पैसा भएको हल्ला थाहा पाएपछि उनले आफैँ लगेर पावित्रीलाई पैसा फिर्ता दिएका हुन् । पावित्रीले घोषणा गरेको पुरस्कार पनि उनले लिएनन् । लालचनको यो इमान्दारिताप्रति कृतज्ञ हुँदै पीडित परिवारले उनलाई धन्यवाद दिएको छ ।