बेसीशहर : मंगलबारदेखि परेको अविरल बर्षापछि लमजुङको विभिन्न स्थानमा बाढी पहिरो गएको छ। बाढी पहिरोले चार जना बेपत्ता भएका छन् भने ६ जना घाइते भएका छन्। बेसीशहर नगरपालिका-१० चितिमा निर्माणाधिन तल्लो दोर्दी आयोजनामा काम गर्दै गरेका बलिराम चौधरी र लक्षमण थारुलाई मस्र्याङ्दीको भेलले बगाएको हो।दोर्दीमा एक्कासी बाढी आएपछि उनीहरुलाई बगाएर मस्र्याङ्दीमा मिसाएको हो। उत्तरी क्षेत्रको मस्र्याङ्दी गाउँपालिका-३ अर्खलेबेसीमा बुधबार दिउँसो गएको पहिरोमा दुई बेपत्ता भएका छन्। सोही ठाउँमा तीनवटा घर बगाएको छ।
स्थानीय बलबहादुर गुरुङकाअनुसार स्थानीय ललितमाया गुरुङ र जगत गाउँका नाम नखुलेका एक वृद्धलाई पहिरोले बगाएको छ। मस्र्याङ्दी-३ खुदी पल्लोटारीमा पहिरोले परिदाँ दुई जना गम्भीर घाइते भएका छन्। ६० बर्षकी अभिरुपा थापा र १० बर्षका सिरक थापालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकी लगिएको छ।
उद्धारमा खटिएका प्रहरीका अनुसार उनीहरुको अवस्था चिन्ताजनक छ। पहिरो आएपछि घर छोडेर भाग्दाभाग्दै उनीहरु पुरिएको प्रहरी नायव उपरीक्षक यादव ढकालले जानकारी दिए।
भारी वर्षाका कारण बेसीसहर-चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगेलगायत क्षेत्रमा पहिरो जाँदा करिब आधा दर्जन घर बगाएको स्थानीयले बताएका छन्। पहिरो र खहरे खोला उर्लदाँ बीचबीचमा पर्यटक तथा स्थानीय अलपत्र परेका छन्।
मस्र्याङ्दी गाउँपालिका-४ का अध्यक्ष सुमन गुरुङले राबजारमा २ वटा घर बाढीले बगाएको बताए। स्थानीय बलबहादुर गुरुङको एउटा ट्रयाक्टर बाढीले बगाएको छ। यस्तै एक व्यक्तिको मोटरसाइकल समेत बगाएको उनले बताए। यस्तै, स्याँगेमा दर्जनौ बाख्रा पहिरोले बगाएको स्थानीयले बताएका छन्। मस्र्याङ्दी गाउँपालिका ६, बाहुनडाँडामा ३ वटा घर पहिरोले बगाएको छ।
बेसीशहर-चामे सडक खण्डको काप्रेभीरमा एउटा जीप पहिरोले पुरेको छ। थप विवरण आउन बाँकी छ। प्रमुख जिल्ला अधिकारी झंकनाथ थकालले बाढीले उत्तरी लमजुङको विभिन्न ठाउँमा क्षति पुर्याएको तर सबै विवरण आउन समय लाग्ने बताए।
मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले खुदी र मस्र्याङ्दी नदीमा अस्वभाविक रुपमा पानीको बहाव बढेको बताए। स-साना खहरे खोलामा समेत बाढी आएको, ठाउँ ठाउँमा पहिरो चलेका कारण स्थानीय आवातजावत गर्न नसकेको उनले बताए।
मस्र्याङ्दीमा पानीको बहाव बढेपछि ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ र ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाले बाँधको ३ वटै ढोका खोलेका छन्।