काठमाडौं — चीनको राजधानी बेइजिङसमेत अनेक शहरमा अधिकारीहरूले बाइबल जलाएका, होली क्रस भाँचेका र चर्चहरू बन्द गराएका छन् ।
इसाईहरूलाई एउटा कागजमा हस्ताक्षर गर्न लगाएर आफ्नो धर्म छोड्न भनिएको छ । पादरी तथा चीनको अल्पसंख्यक समुदायसम्बन्धी एक समूहले यसको जानकारी दिएको छ ।
सबै धर्मलाई चिनियाँकरण गरेर कम्युनिस्ट पार्टीप्रति बफादारिताको आदेश दिइएको सन्दर्भमा यो घटना भएको हो । पार्टीले मानिसको जीवनमा गर्ने नियन्त्रणलाई अरू कसैले चुनौती नदेओस् भन्ने उद्देश्य राखेको छ ।
अमेरिकामा रहेको समूह चाइना एडका बब फुले हेनान प्रान्तमा चर्चहरू बन्द गरिएको र बेइजिङको प्रमुख चर्च सञ्चालन गर्न नदिएबाट राज्यको दमनमा वृद्धि भएको बताएका छन् ।