Saturday, July 10, 2021
Home > समाचार > सबै नेपाली नोट मैले डिजाइन गरेको हुँ, यसकारण राखिएन बुद्धको तस्बिर

सबै नेपाली नोट मैले डिजाइन गरेको हुँ, यसकारण राखिएन बुद्धको तस्बिर

काठमाडौं । ३० वर्षे सरकारी सेवाबाट अवकाश लिएपछि सुन्दर श्रेष्ठको समय चावहिलस्थित निवासमै बित्ने गरेको छ । उनको डिजाइन कौशल भने हरेक नेपालीको गोजीदेखि सपनामा चलमलाइरहेका छन् । उनी ३० वर्षअघि नेपाल राष्ट्र बैंकमा जागिरेका रूपमा प्रवेश गरेका थिए । उनकै कलाकौशल हरेक व्यक्तिको श्रमसम्म पुगेको छ । उनकै कलाकौशलबाट बनाइएका नेपाली नोट बजारमा चलिरहेका छन् । उनले नै सबै नेपाली नोटका डिजाइन गरेका हुन् ।

‘जागिरका क्रममा मैले धेरै नेपाली नोट डिजाइन गरें’, उनी भन्छन्, ‘चलनचल्तीमा भएका सबै नेपाली नोट मैले डिजाइन गरेको हुँ ।’ नोट मात्र होइन, उनले १ हजार २ सयभन्दा बढी नेपाली चलचित्रका पोस्टर डिजाइन गरेका छन् । नोट डिजाइन गरेको थाहा पाउनेले आफूलाई जिस्क्याउने गरेको रमाइलो अनुभव उनीसँग छ । ‘तपार्इं त नोट बनाउने मान्छे, पैसाको के चिन्ता है भन्दै जिस्क्याउने गर्नुहुन्छ’, उनी भन्छन्, ‘अन्य देशका नोटभन्दा नेपाली नोट राम्रा देखिन्छन् । किनकि, यस्तामा चित्र र रंगको समिश्रण राम्रो छ ।’

जागिरबाट अवकाश पाएपछि मात्र आफू सार्वजनिक भएको उनी सुनाउँछन् । ‘नोट बनाउने मान्छेलाई अपहरण गरिदेला कि भन्ने चिन्ता थियो’, उनी भन्छन्, ‘अझै कतैबाट नक्कली नोट समायो भने मलाई चिन्ता लाग्छ । कतै मलाई शंका त गर्दैनन् ।’ नेपाली नोटमा के–के राखिएको छ भन्ने जानकारी राष्ट्र बैंकका केही व्यक्तिलाई मात्र थाहा हुन्छ । सुरक्षाका कारण यस्तो कुरा गोप्य राख्ने गरिन्छ । पहिले राजाको फोटोअंकित नोट बजारमा चल्ने गरेका थिए । त्यसपछि नोटमा के राख्ने भन्नेमा निकै छलफल चलेको उनी उल्लेख गर्छन् ।

‘मैले ३५ भन्दा बढी डिजाइन गरेको थिएँ । नेपाली नोटमा सबैको प्रतिनिधित्व हुने गरी जुलुसको तस्बिर राख्ने सुझाव पनि आएको थियो’, गणतन्त्रपछि निस्किएका नोट बनाउँदाको अनुभव सुनाउँदै उनी भन्छन्, ‘जुलुसको तस्बिर राख्दा आँखा नदेख्ने र कान नसुन्नेको प्रतिनिधत्व नहुने भयो ।’

नेपालको नोटमा बुद्धको तस्बिर राख्ने तयारी थियो । केही देशले बुद्ध आफ्नो देशमा जन्मिएको भ्रम फैलाएका बेला नेपाली नोटमा बुद्धको तस्बिर राख्दा राम्रो हुने सुझाव पनि राष्ट्र बैंकलाई दिइएको थियो । ‘आधिकारिक तस्बिर नभेटिएपछि नोटमा बुद्धको तस्बिर राख्न सकेनौं’, उनी भन्छन्, ‘बुद्धका तस्बिर जति भेटिन्छन् ती सबै भारतबाट आएका हुन् ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!