Thursday, May 6, 2021
Home > समाचार > निर्मला हत्या प्रकरण : मुख्य अभियुक्त भनिएका दिलीपसिंह विष्ट रिहा

निर्मला हत्या प्रकरण : मुख्य अभियुक्त भनिएका दिलीपसिंह विष्ट रिहा

कञ्चनपुर : यहाँकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ गरिएका दिलीपसिंह विष्ट अन्ततः निर्दोष सावित हुँदै रिहा भएका छन् ।

निर्मलाको डिएनएको प्रोफाइल र दिलीपसिंहको डिएनएको प्रोफाइल नमिलेपछि विष्टलाई जिल्ला अदालत कञ्चनपुरले मंगलबार साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

‘निर्मलाको डिएनएको प्रोफाइलसँग दिलीपसिंहको डिएनएको प्रोफाइल नमिलेपछि उनलाई अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले भने ।

निर्मला पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरल बस्तु) मा रहेको बलात्कारीको डीनए र दिलीपसिंह विष्टको डीएनए फरक पाइएको हो । विधि विज्ञान प्रयोगशालाले दिलीपको डीएनए नमिलेको रिपोर्ट पठाएपछि उनी रिहा भएका हुन् ।

१३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले ४१ वर्षीय विस्टलाई गत ४ भदौमा घटनास्थल नजिकैबाट पक्राउ गरेको थियो । मानसिक सन्तुलन समेत गुमाएका विस्टलाई पक्राउ गरेपछि कञ्चनपुरमा भएको प्रदर्शनमा एकजनाले ज्यान गुमाएका थिए ।

भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विस्टलाई पक्राउ गरेपछि घटना ढाकछोप गर्न मानसिक सन्तुलन गुमाएकोलाई बलिको बोको बनाउन खोजिएको भन्दै प्रदर्शनका क्रममा स्थानीय किशोर सनी खुन्ना मारिएका थिए । उनलाई निर्मलाको हत्या भएको २५ औँ दिनपछि प्रहरीले घटनास्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको थियो ।

हाल निलम्बनमा रहेका तत्कालीन एसपी डिल्लीराज विस्ट कमाण्डको टोलीले दिलिपलाई नै मुख्य अभियुक्त भनेको थियो । उनलाई विगतमा पनि भेनाजुको हत्या गरेकाले प्रहरीले प्रमुख अभियुक्तका रुपमा पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरेको थियो ।

भीमदत्त नगरपालिका-२ उल्टाखाम निवासी १३ वर्षीया निर्मला गत साउन १० गतेदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएकी उनको शव भोलिपल्ट गाउँ नजिकैको उखुबारीमा नग्न अवस्थामा भेटिएको थियो ।

Leave a Reply