काठमाडौं । नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बताएका छन्।
पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नकालागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन्। प्रचण्डको सहमति लिएर नै ओलीले वादल र यादवलार्ई हटाएर नयाँ मन्त्री थप्ने योजना अगाडि बढाएको स्रोतको दाबी छ।
त्यसैगरी पूर्व एमालेबाट मन्त्री भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिलाई पनि हटाउने गृहकार्य भइरहेको स्रोतको दाबी छ।
कुन–कुन मन्त्रीहरुलाई हटाउने भन्ने विषयमा दुई अध्यक्षबीच मोटामोटी सहमति जुटिसकेको स्रोतले जानकारी दिएको छ। प्रचण्ड भारत भ्रमणमा जाने बेलामा नै केही मन्त्रीहरुलाई हेरफेर गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली पुगेका थिए।
यता प्रचण्डले पनि दुई/चार जना मन्त्री हट्न सक्ने भन्दै सार्वजनिक रुपमा जनताको पक्षमा काम नगर्ने मन्त्री हटाउने बताएका थिए।
उनले गत मंगलबार आफ्नै निवासमा पार्टी निकटका पत्रकाहरुलाई बोलाएर यस्तो संकेत गरेका थिए। ओली र प्रचण्डबीच सोमबार सांझ मन्त्री फेरवदल गर्ने विषयमा गम्भीर कुराकानी भएको वालुवाटार स्रोतले दाबी गरेको छ।
६ महिनाको अवधिमा राम्रो काम गर्न नसक्ने र सरकारलाई नै बदनाम गर्ने काम गरेको भन्दै ओली र प्रचण्डको सहमतिमा नै मन्त्री फेर्ने अन्तिम गृहकार्य भएको बताइएको छ।
त्यसैगरी मन्त्री फर्ने तयारी गरेपछि पूर्व माओवादी केन्द्रका मन्त्रीहरुले प्रचण्ड निवास खुमलटारमा पुगेर आफ्नो मन्त्री पद जान लागेको हो भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रचण्डले केही कठोर कदम चाल्ने संकेत गरेपछि यादव र वादल तनाबमा परेको बताइएको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।