Thursday, October 1, 2020
Home > समाचार > चल्न थाल्यो ओली सरकारको ‘ब्याक गियर’

चल्न थाल्यो ओली सरकारको ‘ब्याक गियर’

काठमाडौं–केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्दै जाने र कुनै निर्णयबाट पछाडि नहट्ने आत्मविश्वासका साथ भनेका थिए, ‘सरकारको ब्याक गियर छैन । अब अगाडि बढेको बढ्यै गर्छ ।’ विकास, सुशासन र भ्रष्टाचार विरोधी काममा मात्र होइन, हरेक विषयका निर्णय राम्रो गर्ने र त्यसबाट पछाडि नहट्ने प्रधानमन्त्री ओलीको भनाई थियो । तर, दुई तिहाइ बहुमतको शक्तिशाली सरकारका पछिल्ला केही विवादले सरकारमाथि दवाव पनि बढ्दै गएको छ । परिणामतः सरकार केही निर्णयबाट पछाडि हटेको छ । नेकपाका नेताहरुले भने सरकारले जनभावनाको सम्मान गरेर केही निर्णयबाट पछाडि हटेको दावी गरेका छन् । तर, सरकारको पछिल्लो एक निर्णयमा भारतीय भूमिका र दवाव देखिएको छ ।

पछिल्लो पटक सरकारले भारतबाट विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयत गर्न दिने निर्णय स्थगित गर्यो । बाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर विदेशबाट तरकारी तथा फलफूल आयात गर्दा विषादीको मात्रा अनिवार्य रुपमा परीक्षण गर्नुपर्ने नियम लागू गरिसकेको थियो । सरकारले यसलाई नागरिकको स्वास्थ्यसँग जोडिएको विषय भन्दै निर्णय ठीक भएको बताउँदै आएको थियो । तर, दुई सातापछि सरकार यो निर्णयबाट पछाडि हट्यो । असार १९ गतेको मन्त्रिपरिषद् बैठकले भारतबाट विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न दिने निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय आयो । विदेशबाट आयात गरिने विषादीको मात्रा अनिवार्य परिक्षण गर्नुपर्ने पूर्ववत निर्णय हेरफेर हुनुलाई सरकारको ब्याक गियर चल्न थालेको भनेर नेकपाभित्रै आलोचना हुन थालेको छ ।सरकारले निकासी–पैठारी आदेश संशोधन गरेर ताजा तरकारी तथा फलफूल आयात गरिँदा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था गरेपछि भारतबाट नेपाल भित्र्याउन लागिएको तरकारी तथा फलफूल बोकेका ट्रक तथा कन्टेनरहरुको भन्सार जाँच पास रोकिएको थियो ।

नेपालले विषादी परीक्षण गरेर तरकारी भित्र्याउन थालेपछि छिमेकी देश भारतको असन्तुष्टि देखिएको थियो । र, भारतीय दूतावासले नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्रनै लेखेको थियो । भारतले आफ्नो पत्रमा प्लान्ट क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्राष्ट्रिय वनस्पती सुरक्षा महासन्धीअनुसार सीमा नाकामा तरकारी र फलफूल बोकेका सवारी साधन रोक्न नमिल्ने दावी गरेको थियो । भारतीय राजदूतले समेत यस विषयमा चासो राखेका थिए । लगातार भारतीय पक्षको दवावपछि भारतबाट आयात हुने तरकारी र फलफूलका ट्रक विषादी परीक्षणविनै नेपाल आउन दिने सरकारको पछिल्लो निर्णय आयो । सरकारले तत्कालका लागि स्थगन भएको निर्णय सीमा नाकामा उपकरण जोडेपछि लागू गर्ने बताएको छ ।

सरकार आफ्नो निणयबाट पछाडि हटेको यो पहिलो घटना थिएन । यस अघि सरकारले गुठी विधेयक २०७५फिर्ता लिएको थियो । सरोकारवालाले काठमाडौंमा ठूलो खवरदारी गरेपछि सरकार एक कदम पछाडि हटेर विधेयक फिर्ता लिएको थियो । सरकार जनताप्रति उत्तरदायी हुँदै जनताको भावनाको कदर गरेर गुठी विधेयक फिर्ता लिने निष्कर्षमा पुगेको सरकारको भनाई थियो ।विधेयक फिर्ता लिन सरकारलाई सत्तारुढ दल नेकपाका सांसदको पनि दवाव थियो । विपक्षी काँग्रेसले यसलाई राजनीति मुद्दा बनाउदै विधेयक फिर्ता लिन माग गरेको थियो । विरोधको स्वर फराकिलो हुँदै गएपछि सरकार एक कदम पछाडि हटेको थियो, जवकि अन्तिम बेलासम्म प्रधानमन्त्री र मन्त्रीहरुले विधेयक ठीक रहेको दावी गर्दै आएका थिए ।

बैशाख १७ गते राष्ट्रियसभामा दर्ता भएको विधेयक औपचारिक रुपमा फिर्ता भएको छ । सरोकारवालाले विधेयक नभई खारेजीको माग राखेका छन् । सरकारले संसदबाट फिर्ता गरेको विधेयक अव कसरी अगाडि बढाउँछ भन्ने स्पष्ट भएको छैन ।सरकारका अरु केही निर्णय र सरकारले अगाडि सारेका विधेयकहरु पनि विवादमा छन् । ‘ब्याक गियर’ मा चल्न थालेको सरकारले विवादित अरु विधेयक पनि फिर्ता लिन्छ कि लिदैन ? यो प्रश्न चाहिँ अनुत्तरित छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!