Thursday, December 9, 2021
Home > समाचार > राहुल गान्धीले काठमाडौंमा दिएका ५ अचम्म लाग्दा ‘सरप्राइज’ जुन सुने पछि तपाइँ अचम्ममा पर्नु हुन्छ

राहुल गान्धीले काठमाडौंमा दिएका ५ अचम्म लाग्दा ‘सरप्राइज’ जुन सुने पछि तपाइँ अचम्ममा पर्नु हुन्छ

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी शनिबार बिहान काठमाडौंबाट एयर चाइनाको उडानमा तिब्बतको ल्हासा प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेक सम्मेलनका सिलसिलामा यतै रहेका बेला काठमाडौं आएर ‘सरप्राइज’ दिएका उनले काठमाडौं छाड्ने बेलासम्म पनि नेपाली पक्षलाई ‘सरप्राइज’ दिइरहे।

सरप्राइज १ः आगमनमै अन्योल : भारतीय सञ्चार माध्यमहरुले बिहीबार (१४ भदौ) मा नै राहुल गान्धी तिब्बतको कैलाश–मानसरोवर जान लागेको उल्लेख गरेका थिए। तर, उनी कताबाट जान्छन् भन्ने खुलेको थिएन। राहुल आफैले यसलाई निकै गोप्य राखेका थिए।

तर उनको कैलाश–मानसरोवर यात्राबारे समाचार आएपछि सुरक्षा निकायहरुले राहुलको नेपाल आगमनबारे सोधीखोजी गरे। तरपनि, उनी कसरी आउँदैछन्, केही पत्तो पाउन सकेनन्।

राहुलको आगमनबारे कतैबाट पुष्टि हुन नसकेपछि उनी नआउने विश्लेषण सुरक्षा निकायहरुले गरे। उच्च सुरक्षा निकायलाई यसबारे केही जानकारी भएर पनि उनीहरूले यसलाई गोप्य राखेका हुनसक्छन्। तर कम्तिमा अप्रेसनमा जानुपर्ने सुरक्षा अधिकारीलाई यसबारे सुइँको दिइएको थिएन। बिमस्टेक सम्मेलनपनि चलिरहेकाले सबैको ध्यान त्यसैतर्फ थियो। तर, नेपाली सुरक्षाकर्मीलाई पनि ‘सरप्राइज’ हुने गरी शुक्रबार दिउँसो राहुल काठमाडौं ओर्ले।

सरप्राइज २ः सामान्य भेष : राहुल काठमाडौं ओर्लिसक्दा पनि उनको आगमनबारे सुरक्षा निकायहरुले थाहा पाएनन्। यसको अर्थ उनी काठमाडौं आउँदैनन् भन्ने अघिल्लै दिनको निष्कर्षमा सुरक्षा अधिकारीहरू थिए। सामान्य टिसर्ट र जिन्स पाइन्टमा राहुल ओर्लेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनलाई कसैले चिनेनन्। कुनै ‘उच्च स्रोत’ ले जानकारी दिएपछि ‘द हिमालयन टाइम्स’ का फोटोपत्रकार स्कन्द शर्माले मात्र उनलाई चिन्न सके।

काठमाडौं आइपुग्दा राहुल सामान्य टिसर्ट र जिन्स पाइन्टमा थिए। विमानस्थल वा होटल र्‍याडिसनमा उनलाई स्वागत गर्ने कुनै तामझाम गर्नै परेन। विमानस्थलबाट राहुल सामान्य मारुति भ्यानमा आफ्नो लगेज हालेर हिँडे। उनको यो शैलीपनि अर्को ‘सरप्राइज’ हुन पुग्यो।

‘द हिमालयन टाइम्स’ को अनलाइन संस्करणमा राहुल काठमाडौं आइपुगेको तस्वीर सहितको छोटो खबर आएपछि उनी आएको पुष्टि त भयो। तर, उनी कहाँ गए भन्ने यकिन जानकारी सुरक्षा निकायले पाउन सकेनन्।

उनी कहाँ गए, उनको साथमा कति सुरक्षा सहयोगी छन्, त्यो पनि सुरक्षा निकायलाई चाँडै थाहा भएन। काठमाडौं ओर्लेको २–३ घण्टापछि मात्र उनी लाजिम्पाटस्थित र्‍याडिसन होटलमा रहेको पत्ता लाग्यो। राति साढे ८ बजेतिरमात्र उनको साथमा २ जना सुरक्षा सहयोगी रहेको पत्तो लाग्यो।

सरप्राइज ३ः फुड बुटिकका ग्राहक : काठमाडौं ट्रान्जिटमा लाजिम्पाटस्थित होटल र्‍याडिसनलाई आफ्नो बासस्थान बनाएका राहुल त्यहाँ पुगेपछि खाना खान बाहिर निस्के। र, नजिकै रहेको भूतू फुड वुटिक (रेष्टुरेन्ट) पुगे। त्यहाँ उनले बँदेलको मासु, मःमः, चिकेन कुरकुरे लगायतका परिकार खाए।

तर, आफ्नो रेष्टुरेन्टमा भारतीय शीर्ष राजनीतिक नेता आउँदैछन् भन्ने सो रेष्टुरेन्टका सञ्चालक डिजे राजु सिँहलाई समेत थाहा थिएन। सिँहले बताएका छन् कि, रेष्टुरेन्टमा आएका अर्को ग्राहकले राहुललाई चिनेर सेल्फी खिचेपछिमात्र उनले आफूकहाँ राहुल आएका थाहा पाएका थिए।

सरप्राइज ४ः विमानको खोजी : राहुल कैलाश–मानसरोवर जाने पक्का थियो। काठमाडौं आएकाले नेपालगञ्ज हुँदै सिमकोट (हुम्ला) पुगेर मानसरोवर जाने विश्लेषण सुरक्षा निकायहरुले गरे। किनभने अक्सर भारतीय यात्रुहरु पश्चिम तिब्बतको कैलाश–मानसरोवर पुग्न यही रुट प्रयोग गर्छन्।

राहुल कुन एयरलाइन्सको विमानबाट कति बजे नेपालगञ्ज पुग्छन् भन्ने खोजी सुरु भयो। राहुल सहित २ सुरक्षा सहयोगीले यति एयरलाइन्सको टिकट काटेको पत्तो त लाग्यो। तर, नेपालगञ्जबाट कसरी सिमकोट पुग्छन्, त्यो चाहिँ कसैले भेउ पाउन सकेन।

नेपालगञ्जबाट सिमकोट जाने कुनै फ्लाइट सेड्युल नरहेको शनिबार मात्र काठमाडौंका सुरक्षा निकायहरुले थाहा पाए। त्यसपछि फेरि उनी कता जान्छन् भन्ने खोजी सुरु भयो। पछि पत्ता लाग्यो, त्यसैबीचमा उनले यति एयरलाइन्सको टिकट रद्द गरिसकेछन्।

सँगसँगै पत्ता लाग्यो, उनी एयर चाइनाबाट ल्हासा जाँदै रहेछन्।

सरप्राइज ५ः जसरी आए, त्यसैगरी गए : राहुल काठमाडौं आएको, लाजिम्पाटस्थित र्‍याडिसन होटलमा बसेको कुरा सार्वजनिक भइसकेको थियो। साथै, उनी यति एयरलाइन्सबाट नेपालगञ्ज जानुको साटो एयर चाइनाको उडानबाट ल्हासा जान लागेको कुरा शनिबार बिहानै नेपालखबरले सार्वजनिक गरिसकेको थियो।

त्यसैले, फोटो पत्रकारहरु एयर चाइनाको काठमाडौं–ल्हासा उडान समय पत्ता लगाएर विमानस्थल पुगे, राहुलको तस्वीर लिने योजनाका साथ। उनीहरु भिआइपी कक्षमा राहुलको आगमनको प्रतीक्षामा बसिरहे। तर, उनीहरुले राहुललाई भेटेनन्।

राहुल सामान्य भेषमा काठमाडौं आएका थिए, त्यसैगरी सामान्य प्रस्थान कक्ष प्रयोग गरेर ल्हासा उड्ने एयर चाइनाको विमानभित्र प्रवेश गरिसकेका रहेछन्। काठमाडौं आएदेखि नै जसरी उनले एकपछि अर्को ‘सरप्राइज’ दिइरहेका थिए, काठमाडौं छाड्ने बेलापनि ‘सरप्राइज’ दिएरै छाडे।

आउने–नआउने अन्योल : नेपालगञ्ज हुँदै मानसरोवर जाने भनिएका राहुल सुटुक्क नेपालगञ्जका लागि काटिएको टिकट रद्द गरेर ल्हासातर्फ उडेका छन्। फर्कँदा उनी काठमाडौं हुँदै फर्कलान् वा अर्कै रुट प्रयोग गर्लान्, कसैलाई जानकारी छैन।

सायद, आफ्नो फर्कने योजना पनि उनले अर्को ‘सरप्राइज’ का लागि गोप्य नै राखेका छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!