Thursday, October 1, 2020
Home > समाचार > खुशीकाे खबरः यसरी हट्दैछ पोखरामा पनि तुइन

खुशीकाे खबरः यसरी हट्दैछ पोखरामा पनि तुइन

पोखरा महानगरपालिकाको वडा नं १७ र २१ को बीचको फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आइएको तुइन हटाइने भएको छ । बङ्गुरका दाना लगायतका सामग्री ढुवानीका लागि भनिएपनि तुइनबाट विद्यालयका विद्यार्थी तथा सर्वसाधारण जोखिमपूर्ण तबरबाट ओहोरदोहर गरेको पाइएपछि उक्त तुइन हटाउन प्रशासनले निर्देशन दिएको हो । मङ्गलबार तुइनबाट जोखिमपूर्ण रुपमा विद्यार्थी आवतजावत गरेको तस्बीर राष्ट्रिय समाचार समितिबाट सम्प्रेषित भएसँगै यस सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण भएको हो ।

बङ्गुर फर्मका सञ्चालकलाई बोलाएर तुइन तत्काल हटाउन निर्देशन दिइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले मुलुकबाट तुइन विस्थापित गर्ने अभियान सञ्चालन गरेसँगै माथिल्लो निकायको निर्देशनअनुसार उक्त तुइन हटाउने निर्देशन दिइएको हो ।

फर्मका सञ्चालक भिमसेन श्रेष्ठले नजिक अन्य पुल र मोटर बाटोसमेत नभएको कारण विकल्पका रुपमा व्यावसायिक प्रयोजनका लागि तुइन सञ्चालन गरिएको बताउनुभयो । फर्ममा हाल ८० वटाभन्दा बढी बङ्गुर रहेको बताउँदै उहाँले आजैका मितिदेखि दाना मात्र बोक्ने र वैकल्पिक व्यवस्थासँगै तुइन विस्तापित गर्ने जानकारी दिनुभयो । (रासस)

Leave a Reply

error: Please Dont Copy My Content!! !!