Saturday, February 27, 2021
Home > समाचार > निर्मला हत्या प्रकरणः निलम्बित एसपी बचाउन सिंगो नेकपा नै सक्रिय, गृहमन्त्रीले के गर्लान ?

निर्मला हत्या प्रकरणः निलम्बित एसपी बचाउन सिंगो नेकपा नै सक्रिय, गृहमन्त्रीले के गर्लान ?

काठमाडौंः कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त बलात्कारपछि भएको हत्या प्रकरणबारे शून्यदेखि नै अनुसन्धान जारी रहेको छ । तर स्रोतका अनुसार शून्यदेखि अनुसन्धान गरिएको भए पनि धेरै प्रमाणहरु नष्ट गरिएको पाइएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् ।

चौतर्फी जनदबाब बढेपछि गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय टोली पनि कञ्चनपुरमै छ । गत साउन १० गते साथीको घर जान भन्दै हिँडेकी निर्मला ११ गते उँखुबारीमा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको पुष्टि प्रहरी र अनुसन्धानले गरिसकेको छ । कञ्चनपुर प्रहरी र सीआईबीको टोलीले मानसिक सन्तुलन ठिक नभएको भनिएका भीमदत्त नगरपालिका १९ का दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेपछि घटनाले अर्कै रुप लिएको हो ।

आन्दोलनमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो भने कयौं घाइते छन् । घटनामा लापरवाही गरेको भन्दै कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट निलम्बनमा परि सकेका छन् । स्थानीयको दबाबपछि कञ्चनपुर प्रहरीले भदौ ९ गते शनिबार अनुसन्धानका लागि निर्मला गएको साथी रोशनी र उनकी दिदी बबिता बमलाई पक्राउ गरेको थियो । जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर अनुसन्धान प्रक्रियामा उनीहरुलाई लिइएको भएपनि बयानबाट नयाँ कुरा नआएको र बम दिदीबहिनीले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको हुन् ।

आफ्नो चाहनामा भन्दा पनि स्थानीयको दबाबमा समातेका उनीहरुसँग प्रहरीले सामान्य बयान लिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानबारे अहिले थप कुरा भन्न नसकिने बताएको छ ।

प्रहरी हिरासतमा रहेका बम दिदीबहिनीलाई निर्मलासँगको चिनाजान र सम्बन्ध, साउन १० गतेको बसाई, अम्बाको बोट काट्नुको कारण, घरमा रंगरोगन गर्नुको कारण, उनीहरुले निर्मला पोइल गएकी होली, लाश पनि त्यत्तै होला भनी दिएको अभिव्यक्तिबारे पनि सोधपुछ भएको बताइएको छ । स्रोतका अनुसार कञ्चनपुर प्रहरीले यसअघिकै अनुसन्धानलाई सदर गर्ने तयारी गरेको छ ।

यद्यपी गृहले गठन गरेको समितिले सरकारलाई बुझाउने प्रतिवेदनमा के आउँछ भन्ने चासोको विषय बनेको स्थानीय बताउँछन् । टोलीले स्थानीयसँगको भेटघाट, घटनास्थलको अनुगमन, पीडितका आफन्त लगायतसँग भेट गरेको छ ।

कञ्चनपुर घटनाको सत्यतथ्य बाहिर नआएसम्मका लागि निलम्बनमा परेका तत्कालीन एसपी डिल्लीराज विष्टलाई बचाउन पूर्वमाओवादी नेता सक्रिय रहेको पाइएको छ । पूर्वमाओवादी नेतासँगै केही बहालवाला डीआईजी पनि विष्टमाथि लागेको निलम्बन फुकुवा गर्न पर्ने भन्दै लबिङमा लागेको प्रहरी वृत्तमै चर्चा चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *