Saturday, March 6, 2021
Home > अन्तराष्ट्रिय > मोदीले दिएको चेतावनी बारे मनमोहन सिंहले लेखे राष्ट्रपतिलाई यस्तो पत्र

मोदीले दिएको चेतावनी बारे मनमोहन सिंहले लेखे राष्ट्रपतिलाई यस्तो पत्र

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेका छन् । प्रधानमन्त्री मोदीले कर्नाटकको हुब्लीमा दिएको भाषणका क्रममा बोलेको विषयलाई पूर्वप्रधानमन्त्री सिंहले खण्डन गरेका छन् ।

कर्नाटकमा भएको निर्वाचनका क्रममा आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि प्रधानमन्त्री मोदीले शक्ति र अधिकारको दुरुपयोग गरेको सिंहको आरोप छ । गत मे महिनाको ६ तारिखमा हुब्लीमा भएको र्‍यालीपछि आयोजित कार्यक्रममा मोदीले “काँग्रेसका नेताहरुले कान खोलेर सुन्नुस्, म मोदी हुँ, तपाईहरूले सिमा नाघेर अघि बढेमा त्यसको परिणाम भोग्नु पर्नेछ” भनेका थिए ।

मोदीको भनाईलाई पूर्वप्रधानमन्त्री डा सिंहले “शान्ति भाड्ने दुरासयले आएको धम्की र त्रासपूर्ण अभिव्यक्ति” भनेका छन् । “न हाम्रो पार्टी न हाम्रा कुनै नेता, कसैले पनि यस्तो तल्लोस्तरका धम्की दिने कुरालाई सहन सक्दैनन्,” सिंहले पत्रमा लेखेका छन् ।

उनले पत्रमा भनेका छन् , “कसैका बिरुद्धमा चेतावनी दिने, धम्की दिने र त्रसित पार्ने अभिव्यक्ति दिँदा प्रधानमन्त्री मोदीले सावधानी अपनाउनु होला ।”

राष्ट्रपतिलाई बुझाइएको पत्रमा पूर्वप्रधानमन्त्री सिंह बाहेक काँग्रेंसको दुवै संसदीय दलका नेता र बरिष्ठ नेताहरू पि चितम्बरम्, अशोक गेलोट, अम्बीका सोनी, मुकुल वास्निक, मोतीलाल भोरा, कमलनाथ र अहमद पटेलले हस्ताक्षर गरेका छन् । एएनआइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *