वैशाख २९, २०७५ नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा ‘संस्कार’ को खडेरी परेको बताउनु भएको छ । उहाँले मुलुकको समग्र विकासका लागि सबैभन्दा पहिला राजनीतिक संस्कार सुधार गर्न जरुरी रहेको औंल्याउनुभयो । नेपालको राजनीति विगतको भन्दा तुलनात्मक अवस्थामा आईपुगेकाले अब, राजनीतिक संस्कार सुधारेर अघि बढ्न जरुरी रहेको उहाँले बताउनुभयो । बीपी अध्ययन प्रतिष्ठान र युथ नेटवर्कले आज दमकमा आयोजना गरेको एक कार्यक्रममा प्रवक्ता शर्माले राजनीतिक संस्कार आवरणमा नभई व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिक संस्कार नभएकै कारण नयाँ पुस्ता राजनीति प्रति आकर्षित हुन नसकेको बताउनुभयो । शर्माले राजनीतिक संस्कारसंगै सामाजिक, सांस्कृतिक संस्कार पनि सुधार गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसम्वादमा उहाँले राजनीतिले अब ठाउँ पाएको बताउनुभयो । ‘पहिलाको जस्तो राजनीतिक अन्यौलता छैन । राजनीतिले ठाउँ पाएको छ’ उहाँले भन्नुभयो, ‘मुलुकले संविधान पाएको छ । संघीयता पाएको छ । स्थानीय तहले नेतृत्व पाएको छ । प्रदेशले मुख्यमन्त्री पाएको छ । त्यसैले अब, सबैले आआफ्नो क्षेत्रबाट सुसंस्कारयुक्त कदम अघि बढौं, देश अवश्य विकास हुन्छ ।’
उहाँले राजनीतिलाई मात्र दोष दिनुभन्दा राजनीतिलाई हेर्ने सामाजिक मनोविज्ञान पनि सच्याउँन आवश्यक रहेको बताउनुभयो । प्रवक्ता शर्माले पदमा पुग्नेहरु मात्र नभई, पदमा नरहेकाहरु पनि जिम्मेवार बन्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेको नेतृत्वको चुनौती भनेको युवा पुस्तामा बढ्दो निराशा हटाउन सक्नु रहेको बताउनुभयो । ‘देश विकास गराउनु छ भने अब, उग्रता र निराशा हटाउन सक्नु पर्छ’ उहाँले भन्नुभयो, ‘अबपनि विद्रोहको कुरा गरेर देश बन्दैन । त्यो उग्रता त्याग्नुपर्छ ।
केही हुदैन, केही गर्न सकिदैन भन्ने निराशाबाट माथि उठ्न सक्नुपर्छ ।’ शर्माले भन्नुभयो, ‘यो देशमा हामीले सरकार धेरै बनायौं । अब, संस्कार बनाऊ ।’ शर्माले नेपालमा आन्दोलनको अग्रभागमा हुने व्यक्ति प्रधानमन्त्री, बनारसमा पढेको परराष्ट्रमन्त्री, जंगलमा हिंडेको वनमन्त्री, विद्यार्थी संगठनमा बसेकालाई शिक्षामन्त्री, सवारी साधन तोडफोड गर्नेहरु यातायात मन्त्री बनाउने संस्कार अब बदल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब कि त विज्ञ बनौं । होइन भने विज्ञलाई छोडौं ।’ प्रकाशित:वैशाख २९, २०७५