Saturday, March 6, 2021
Home > समाचार > फलाम पगाल्न सबैले मलाई नै रोज्थे – थोल्या कामी 

फलाम पगाल्न सबैले मलाई नै रोज्थे – थोल्या कामी 

बझाङ — उनी त्यति बेला भर्खर १६/१७ वर्षका थिए । छुट्टै जोस थियो । दौंतरीमध्ये बलिया पनि उनी नै थिए । खानीबाट फलाम झिक्ने बेला होस् वा भट्टीमा फलाम पगाल्ने बेला । खोजी उनकै हुन्थ्यो ।

बझाङ, तल्कोट गाउँपालिकाको बयालधाप डाँडामा रहेको फलाम खानी र फलाम प्रशोधन गर्ने थोल्या कामी ।‘अरूभन्दा म नै अग्लो र बलियो थिएँ,’ बझाङ तल्कोट गाउँपालिका १ भाटगाउँका थोल्या कामीले ती दिन सम्झिए, ‘फलाम खानीको काम गर्नुपर्‍यो भने सबैले मलाई नै रोज्थे ।’

कुरा ६५ वर्षअघिको हो, जतिबेला उनको गाउँ नजिकै बयालधार डाँडाको फलाम खानी सञ्चालनमा थियो । खानीबाट कच्चा फलाम निकालेर यहाँका स्थानीय लुहार समुदायले प्रशोधन गर्थे । फलाम प्रशोधन गरेर कृषि औजार, विभिन्न खाले हतियार र घरायसी प्रयोजनका भाँडाकुँडा बनाइन्थ्यो । अहिले उमेरले डाँडो काट्यो । ८१ वसन्त कटाउनै लागेका थोल्याको सम्झना भने अझै ताजै छन् । ‘फलाम पगाल्ने दिन गाउँमा उत्सव जस्तै हुन्थ्यो । गाउँभरिका मान्छे भट्टीमा जम्मा हुन्थे,’ उनले भने, ‘३/४ दिन पहिलादेखि नै कच्चा फलाम पगाल्ने भट्टीमा काम गर्नेलाई मीठोमसिनो खुवाउने चलन थियो । लुहारका मुखियाले भट्टीमा आगो सल्काउनुपर्ने नियम थियो ।’

थोल्याले त्यसबखतको परम्परागत ढंगले फलाम प्रशोधन गर्दाका ती दिन स्मरण गर्दै भने, ‘जोगी लुहार हाम्रा मुखिया थिए । उनले आगो सल्काएपछि हामी केटाहरू चार जनाले पालैपालो भएभरको बल लगाएर चारैतिरबाट छालाको खलाँती (आरनमा आगो फुक्ने चिज) ले पालै पालो धुनु (फुक्नु) पथ्र्याे । अलि पाको मान्छेले लामो सनासोले भट्टीमा राखेको कच्चा फलाम चलाइरहन्थे ।’

कच्चा फलाम पेल्न साह्रै दु:ख हुन्थ्यो । पहिला फलामे ढुंगालाई स–साना टुक्रा पारेर घनले फुटाउनुपथ्र्यो । ती टुक्रालाई साह्रो गोल (बाँझको रूख बालेर बनाइएको कोइला) मा राखेर लामो समयसम्म ताप दिएर पगाल्नुपथ्र्यो । फलाम तातेपछि पग्लेर भट्टीको तल राखिएको भाँडोमा चुहिन्थ्यो । ‘कुनै बेला त सोचेभन्दा बढ्तै चुहिन्थ्यो । कहिलेकाहीं भने सबै आगोले खाइदिन्थ्यो, दु:ख मात्र हुन्थ्यो,’ वृद्ध थोल्याले भने ।

भट्टीमा चुहिएको फलामलाई कमलो गोल (सल्लोको रूख बालेर बनाइएको कोइला) मा तताएर पिटेपछि चाहेको सामान बनाउने गरिन्थ्यो । उनले आफ्नै हातले कति फलाम प्रशोधन गरे भन्ने लेखाजोखा छैन । तर उनको गाउँमा फलामका कृषि औजार, हतियार वा भाँडाकुँडा किन्नका लागि जिल्लाभरका मान्छेहरू आउने गरेको सम्झना ताजै छ । कुटो, कोदालो, बाउसो, भदाला (ठूलो खालको ताप्के) ताम्के, हँसिया, बन्चरो, फाली, घन साबेल लगायतका सबै फलामे सामान जिल्लाभर निर्यात हुन्थ्यो, साविक धमेना गाविसको घरासीबाट । ‘अहिले पनि त्यो बेला बनाएका घन, साबेल भदालाहरू थुप्रैको घरमा भेटिन्छन्,’ थोल्याले भने, ‘अहिले आउने फलामको भन्दा निकै बलिया र टिकाउ हुन्थे, त्यो बेलाका सामानहरू ।’ हुन त उतिबेला बाहिरबाट फलाम ल्याउनु भनेको फलामकै चिउरा चपाउनुसरह हुन्थ्यो ।

 

फलाम प्रशोधन गर्ने थोल्या कामी ।

भारतमा मात्र पाइन्थ्यो बनिबनाउ फलाम । बझाङबाट भारतको टनकपुरसम्म पैदल हिँडेर गएपछि मात्र यो सम्भव हुन्थ्यो । आउँदा/जाँदा झन्डै दुई महिना लाग्थ्यो । थोल्याले पनि जीवनमा ५/६ पटक यो यात्रा गरेका छन् । तर उनले फलाम हैन, नुन र कपडा ल्याउन टनकपुर पुगेको बताए । ‘फलाम खानी त गाउँमै थियो, हामी नुन ल्याउन त्यहाँ जान्थ्याैं,’ उनले भने ।

उनीसँगैका फलाम पेल्ने दांैतरीहरू अहिले धेरैजसो जीवित छैनन् । छिमेकी गाउँका एक दुई जना जीवित छन् भन्ने उनले सुनेका छन् । तर भेट नभएको वर्षांै भइसक्यो । उसो त फलाम खानी पनि अहिले सञ्चालनमा कहाँ छ र ? ‘हामीले एक पटक पगालेको फलामबाट १ बाउसो (ठूलो खालको कुटो) बनाएर मुखियालाई दिनुपथ्र्याे । मुखियाले महिनाको एक आना बझाङी राजालाई कर तिर्नुपथ्र्यो,’ खानी बन्द हुनुका कारण खुलाउँदै उनले भने, ‘मुखियालाई के संकट परेको थियो कुन्नि, उनले एक वर्षसम्म कर तिरेनछन् । पछि राजाका सिपाही आएर खानी बन्द गरिदिए ।’

उनले फलाम निकाल्ने खानीमा अहिले चैनपुर–ताक्लाकोट सडक निर्माण हुँदैछ । सडक निर्माण गर्दा फलाम खानीमा भएका फलामे ढुंगा चारैतिर छरिएका छन् । उनलाई भने ती ढुंगा देखेर लोभलाग्दो रहेछ । ‘बेला गइसक्यो, उतिबेलाको जस्तै उमेर भए अहिले पनि कति पगाल्थेँ होला । बाटोभरि त्यसै छरिएको छ, कति त सेती नदीमा फाले । के गर्नु अहिलेका मान्छेलाई पुगेसरी छ,’ उनले भने । कुराको बिट मार्ने क्रममा उनले आफ्नो गाउँको फलाम खानीको बखान फेरि दोहोर्‍याए, ‘अहिले देशी फलाम चलेको छ, सबै त्यतै लागेका छन् । तर यो खानीको जस्तो सक्कली फलाम मैले अहिलेसम्म देखेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *