Friday, June 18, 2021
Home > समाचार > मुक्तिनाथमा यसरि रमाए मोदी !

मुक्तिनाथमा यसरि रमाए मोदी !

मुक्तिनाथ (मुस्ताङ) — कालो कुर्ता, कालै सुरुवाल र छिर्केमिर्के सल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार मुक्तिनाथ ओर्लिंदा तीर्थयात्रीको भेषमा देखिए । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका उनी भारतीय वायुसेवाको विशेष हेलिकप्टरबाट बिहान ७:५५ बजे मुक्तिनाथ पुगेका हुन् । यससँगै उनले चार वर्षअघि गरेको वाचा पूरा भएको छ ।

नेपालको दुईदिने राजकीय भ्रमणमा आएका उनी भारतीय वायुसेवाको विशेष हेलिकप्टरबाट बिहान ७:५५ बजे मुक्तिनाथ पुगेका हुन्। यससँगै उनले चार वर्षअघि गरेको वाचा पूरा भएको छ। मोदीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्वागत गरे । पूर्वमन्त्री, सांसद, जनप्रतिनिधि, जिल्लाका सरकारी अधिकारी, सुरक्षा अधिकारी, स्थानीय संघसंस्थाका पदाधिकारी, सर्वसाधारण मोदीको स्वागतमा उर्लिए । मन्दिरको मुख्यद्वारमा पुराङ गाउँका पञ्चकन्याले पुष्पगुच्छाले मोदीको स्वागत गरे । गेटबाट प्रवेश गरेपछि स्थानीय रानीपौवा, छेङगुर, खिंगा, पुराङ गाउँवासीले गुरुङ परम्पराअनुसार सत्कार पस्किए । मोदी वरपरका मन्दिर अवलोकन गर्दै मुख्य मन्दिर पुगे ।

मुख्य मन्दिरको अघिल्तिर पुगेपछि उनी केही सम्झिएझैं गरी निकै बेर टोलाए अनि डाँडाकाँडा नियाल्न थाले । मन्दिर प्रवेश गर्नुअघि मोदीलाई ७ झुमाले खादा पहिर्‍याइदिए । उनीहरूले बौद्ध धर्मावलम्बीको पूजाआजामा बजाइने घेलिङ बजाएर मोदीप्रति सम्मान प्रकट गरे । मन्दिरको बायाँपट्टि रहेका ५ वटुकले हिन्दु धर्मअनुसार स्वस्तिवाचन गरे । मोदीले झुमा र वटुकसँग चाख मानेर भलाकुसारी गरे । मन्दिर प्रवेश गरेपछि उनले ब्राह्मण पूजारी कृष्णप्रसाद सुवेदी र आनी कर्साङ टासीसँग आशीर्वाद लिए । पूजापाठमा २० मिनेट खर्चिए । पुजारी सुवेदीका अनुसार मोदीले षोडशोपचार विधिबाट पूजा गरे । ‘उहाँले सम्पूर्ण विधि अपनाएर पूजा गर्नुभयो,’ उनले भने, ‘अर्चना र आरती आफैंले गर्नुभएको हो ।’

पूजाआजा सकेर १०८ धारातर्फ लम्किएका मोदीले त्यहाँ हातले पानी थापेर शिरमा छर्किए । त्यसपछि पर्यटनमन्त्री, मुख्यमन्त्रीलगायतसँग ‘फोटोसेसन’ गरे । मोदीको स्वागत र सम्मानमा कुनै औपचारिक कार्यक्रम नराखिए पनि उनलाई विभिन्न संघसंस्थाले उपहार प्रदान गरे । पर्यटनमन्त्री अधिकारी र मुख्यमन्त्री गुरुङले शालिग्राम उपहार दिए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले ताम्रपत्र र भेडाको ऊनबाट बनेको गलैँचा प्रदान गरे । जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामु गुरुङले पनि गलैँचा उपहार दिइन् ।

उपहार लिएपछि मोदीले दुई–तीनपल्ट मन्दिरतर्फ फर्किएर हात जोडे । सुरक्षाकर्मी, कर्मचारीलाई अभिवादन गर्दै मूल गेटतर्फ फर्किए । गेटैनिर पुगेपछि स्थानीयले उनलाई घेरिहाले । उनीसँग सेल्फी खिच्नेको घुइँचो लाग्यो । उनी पनि सरल रूपमा प्रस्तुत भए । जसले जता हेर्नु भन्यो उतै हेर्दै तस्बिर खिचाए । वरिपरिकालाई एकै ठाउँ बोलाएर सामूहिक तस्बिरसमेत खिचाए । छेवैमा खिंगा गाउँ समाजले ङोर्तुम (चौंरीको छाला र काठबाट बनेको बाजा) बजाइरहेको थियो । उनी त्यहीँ पुगेर आफैं ङोर्तुम बजाउन थाले । त्यसको तालमा ताल मिलाउँदै मुन्टो नचाए । स्थानीयले उनलाई छिरिङ किङ्गा (टोपी) पहिर्‍याइदिए । अलि तल आएपछि न्याउँछे (पित्तलबाट बनेको बाजा) बजाइरहेका छेङगुर आमा समूहका महिला भेटिए । मोदी उनीहरूलाई अघि लगाउँदै हेलिप्याडसम्म ओर्लिए । आमा समूहले स्थानीय उत्पादन तोराको जुस उपहार दिए । हेलिप्याड पुगेपछि मोदीले खुलेको हिमालअघि उभिएर अनेक पोज दिए । त्यसपछि सबैलाई अभिवादन गर्दै हेलिकप्टर चढें । मोदीले मुक्तिनाथमा डेढ घण्टा बिताएका थिए । सर्वसाधारणसँग भलाकुसारी गरे पनि उनले सम्बोधन भने गरेनन् । मुक्तिनाथबाट हेलिकप्टरमार्फत जोमसोम पुगेर केहीबेर आराम गरेपछि मोदी काठमाडौंतिर लागे ।

स्थानीय उत्साहित

मोदीको मुक्तिनाथ भ्रमणले मन्दिरको प्रसिद्धि थप बढ्ने स्थानीयको विश्वास छ । पर्यटन प्रवद्र्धनका अतिरिक्त मुक्तिनाथ क्षेत्रको विकासलाई समेत जोडेर उनको भ्रमणलाई हेरिएको छ ।

पर्यटनमन्त्री अधिकारीले मोदीको भ्रमण नेपाल र भारतबीचको सांस्कृतिक, धार्मिक सम्बन्ध सुदृढीकरणको कडी बन्ने बताए । विकास, सहयोग आदानप्रदान, सुदृढमैत्री सम्बन्ध जस्ता विषयमा भ्रमण फलदायी हुने आशा उनले व्यक्त गरे । जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख छिरिङ ल्हामुले मोदी भ्रमणको ऐतिहासिक महत्त्व रहेको बताइन् । ‘मोदीको भ्रमणले हामी उत्साहित छौं, यो भ्रमण ऐतिहासिक बन्न पुगेको छ,’ उनले भनिन् । भ्रमणपछि मुस्ताङको विकास र समृद्धिमा भारतीय सहयोग बढ्ने अपेक्षा उनको छ । ‘नयाँ परियोजना आउने विश्वास छ, विशिष्ट व्यक्तिको भ्रमणले यहाँको विकासमा पक्कै टेवा पुग्छ,’ उनले भनिन् ।

मोदीको भ्रमणले पर्यटन प्रवद्र्धनमा ठूलो महत्त्व राख्ने नेपाल–भारतमैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचनल बताए । अन्तर्राष्ट्रिय जगतमा मुक्तिनाथ क्षेत्रको पहिचान अभिवृद्धि हुने उनको भनाइ छ । ‘मुक्तिनाथको प्रचारप्रसारमा भ्रमणले ठूलो सन्देश दिएको छ,’ उनले भने, ‘भ्रमण सफल र फलदायी बनेको छ ।’ पर्यटन व्यवसायी एवं जनप्रिय युवा क्लब मुक्तिनाथका पूर्वअध्यक्ष सुरज गुरुङले भारतीय प्रमको मुक्तिनाथ भ्रमणलाई मुस्ताङवासीले सौभाग्यका रूपमा लिएको बताए । उनले छिमेकी देशका कार्यकारी सरकार प्रमुखको भ्रमणलाई सामान्य रूपमा लिन नहुने उल्लेख गरे । ‘यो भ्रमणबाट मुक्तिनाथ क्षेत्रको पहिचान र महिमा थप उजागर हुनेछ,’ उनले भने ।

मुस्ताङको आर्थिक, सामाजिक विकासमा भारतले विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ । यस भ्रमणलाई सामारिक महत्त्व राख्ने मुस्ताङप्रतिको भारतीय चासोका रूपमा पनि विश्लेषण गरिएको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा धार्मिक गन्तव्यका रूपमा परिचित मुक्तिनाथमा सबैभन्दा बढी भारतीय तीर्थयात्री आउँछन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!