Thursday, April 15, 2021
Home > खेलकुद > एन्फामा पनि तोडियो सेन्डिकेट, खेलाडीहरूमा थपियो यस्तो खुशी

एन्फामा पनि तोडियो सेन्डिकेट, खेलाडीहरूमा थपियो यस्तो खुशी

बैसाख २२, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । यससँगै गणेश थापामाथि प्रतिबन्ध लागेको साढे ३ बर्षपछि एन्फा औपचारिक रुपमा उनको छत्रछायाँबाट मुक्त भएको छ ।

थापामाथि १८ कार्तिक २०७१ मै फिफाले प्रतिबन्ध लागेको थियो । ३० कार्तिक २०७२ मा फिफाले थापामाथि १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी कडा प्रतिबन्ध लगायो ।

तर, एन्फामा शनकै हालीमुहाली हटेन । उनले चाहेका पत्रहरु नै नेतृत्वमा आए ।

यो पटक उनले मणि कुँवरलाई अघि सारेका थिए । कुँवर थापाको आफ्नै सालो हुन् । तर, एन्फामा शुद्धीकरण अभियान चलाएका कर्माछिरिङसँग हारेका छन् ।

कुँवरले अन्तिम समयमा आएर विधान सम्वत नभएको भन्दै चुनाव बहिस्कारको घोषणा गरेका थिए । तर, निर्वाचन कमिटीले समय घर्किसकेको भन्दै उनको उम्मेदवारी फिर्ता स्वीकार गरेन र चुनाव गराएको थियो ।

शनिबार भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार कर्माछिरिङले ६३ मत पाएका छन् भने कुँवरले जम्मा १२ मत पाएका छन् ।

केन्द्रीय कार्यसमितिमा सबै कर्मा समूहबाटै आएका छन् । चार उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंह विजयी भएका छन् । ११ सदस्य पनि कर्मा समूहबाटै आएका छन् ।

सदस्यमा दावा लामा, निरोज खड्की, पूर्णमान चित्रकार, रविन्द्रनाथ श्रेष्ठ, मधुसुधन उपाध्याय, प्रदेश सिंह राठोर, दिवेश व्यञ्जनकार, दिर्घबहादुर केसी, विजय घले, रत्नकुमार श्रेष्ठ विजयी भएका छन् ।

Leave a Reply