Thursday, May 6, 2021
Home > अन्तराष्ट्रिय > सिमामा एकाएक बढ्यो हिंसा सेनाकाे फाइरिङबाट २२ जनाको मृत्यु,

सिमामा एकाएक बढ्यो हिंसा सेनाकाे फाइरिङबाट २२ जनाको मृत्यु,

कान्दाहार, अफगानिस्तान। अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान सेनाले मङ्गलबार रातभर गरेको हवाई आक्रमणमा परी २२ जना तालिवान लडाकूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले बताएका छन् । केही दिनयता अफगानिस्तानमा हिंसा बढेको छ । तालिबानहरुले आत्मघाती हमलाका घटनामा बृद्धि गरेका छन् भने सेनाले पनि कारबाहीलाई जारी राखेको छ । घटनामा कम्तीमा २० जना अन्य लडाकू घाइते भएका बताइएको छ ।

तालिबान लडाकूले मङ्गलबार साँझपख अफगान सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण सुरु गरेपछि अफगान राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध कारबाही सुरु गरेको थियो । सैनिक जनरल अब्दुल राजिकले सिन्ह्वा समाचार समितिलाई बताएअनुसार तालिबानमाथि यस प्रान्तमा केही समयअघि मात्र पनि सेनाले कडा कारबाही गरेको थियो ।

सेनाले हवाई आक्रमण सुरु गरेपछि कैयौँ तालिबान लडाकू घटनास्थलबाट भागेका सेनाले बताएको छ । घटनास्थलबाट तालिबान समूहले प्रयोग गर्दै आएका कैयौँ गाडी तथा वन्दोवस्तीका सामान र ठूलो परिमाणमा विस्फोटक पदार्थ पनि नियन्त्रणमा लिई नस्ट गरेको प्रहरीले बताएको छ । सेनाले दिएको जानकारी अनुसार विद्रोहीसँगको झडपमा सेना, प्रहरी तथा अन्य सरकारी अधिकारी कसैलाई असर परेको छैन ।

यस आक्रमणको विषयलाई लिएर तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन । तालिबानले केही दिनयता राजधानी काबुलमै पनि आक्रमण जारी राखेका छन् । गत सोमबार मात्र पनि काबुलमै भएको एक हिंसात्मक हमलामा परी ९ जना पत्रकार मारिएका थिए । उक्त हिंसामा परी ३० जना भन्दा बढीको ज्यान गएको थियो । उता यही मे ३ मा आउन लागेको विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा अफगानिस्तानमा ठूलो संख्यामा पत्रकार हिंसामा परेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

अफगानिस्तान र विश्वका प्रेस स्वतन्त्रको पक्षमा काम गर्ने पत्रकारहरुका संघ संस्थाहरुले यसप्रति चिन्ता व्यक्त गर्दै प्रेसलाई हिंसाको चपेटामा नपार्न आग्रह गरेका छन् । समाचार संकलनकै क्रममा यसरी पत्रकार मारिनु अत्यन्तै दुःखद कुरा हो भन्दै यसबाट स्वतन्त्र प्रेसका साथै नागरिकको स्वतन्त्र रुपमा बोल्न र आफ्ना कुरा राख्न पाउने अवस्थाको पनि हनन हुने भएकोले आगामी दिनमा यस्ता क्रियाकलापहरु रोक्न ती संघसंस्थाहरुले आग्रह गरेका हुन् ।

Leave a Reply