Thursday, May 6, 2021
Home > समाचार > गृह जिल्ला पुगेका प्रम अोली उद्घाटन र निर्देशन मै व्यस्त

गृह जिल्ला पुगेका प्रम अोली उद्घाटन र निर्देशन मै व्यस्त

सुरुङ्गा (झापा), १८ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागि हुनुभएको छ । उहाँले आज आधा दर्जन सडकको शिलन्यास् गर्नुभयो भने विकास निर्माणका अन्य कार्यक्रममा सहभागि हुनुभयो । प्रधानमन्त्री ओलीले चारपाने–चैतुबारी–मोतीगढ, साधुकुटी–घोडामारा–राजगढ सडकखण्डको स्तरोन्तिको शिलान्यास गर्नुभयो । त्यस्तै, उहाँले ग्रामीण सडक सञ्जाल आयोजनाअन्तर्गत निर्माण

गरिएको लक्ष्मीपुर–साधुटार सडकखण्डको समेत उद्घाटन गर्नुभयो । उहाँले आजै अर्जुनधारा नगरपालिका भएर बग्ने विरिङ खोलामा निर्माण गरिने पक्की पुलको शिलान्यास गर्नुभयो भने ग्रामीण सडक सुधार योजनाअन्तर्गत पाडाजुँगी–झर्का, बालुवथान–चप्रामारी, खजुरगाँछी सडकको स्तरोन्नतिको पनि शिलान्यास गर्नुभयो । प्रधानमन्त्री ओली आज र भोलि झापामा बस्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार,भोलि प्रधानमन्त्री गृहनगर दमकमा हुने झण्डै आधा दर्जन कार्यक्रममा सहभागी हुनुहुनेछ । बुधबारदेखि गृह नगर दमकमा शुरु हुने दमक गोल्डकप फुटबलको उहाँले उद्घाटन गर्नुहुने छ ।

भोलि नै उहाँले दमक नगरपालिकाले घोषणा गरेको धिमाल जातिको प्रतिमाको उद्घाटन गर्ने कार्यक्रम छ भने दमक–१ मा खानेपानी योजनाको समेत उद्घाटन गर्दै हुनुहुन्छ । यसैगरी, प्रधानमन्त्री ओलीले दमकको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको नमूना बजारको समेत उद्घाटन गर्नुहुनेछ ।

आज झापाको सदरमुकाम भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यालय जान नपाएका सबै बालबालिकाको खोजी गरी विद्यालयमा ल्याउन जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले कोही बालबालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस् भनेर आफूले नै कर्णाली पुगेर यो अभियान शुरु गरेको बताउनुभयो ।

‘तपाईं गाउँ गाउँ गएर विद्यालय जान नपाएका बालबालिका खोजेर विद्यालयसम्म ल्याउनुहोस्’ प्रधानमन्त्री ओलीले भन्नुभयो,‘अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुनुहुँदैन ।’ अपाङ्गता भएका बालबालिकालाई पनि सरकारले विशेष व्यवस्था गरेर शिक्षा लिने व्यवस्था सरकारले मिलाउने उहाँले बताउनुभयो । ‘अब पनि बालबालिका विद्यालय जान पाएनन् भन्ने कुरा सुन्नु लाजमर्दो हो’उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिहरु, तपाईंहरु यो महिनाभर गाउँ गाउँ जानुहोस्, सबै बालबालिकालाई विद्यालयमा ल्याउनुहोस् ।’ उन्नति प्रगतिका लागि पहिलो खुड्किलो शिक्षा भएका कारण शिक्षा लिनबाट वञ्चित भए देशले उन्नति गर्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, युवा तथा खेलकूद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई पनि छन् ।

Leave a Reply