Friday, June 18, 2021
Home > भिडियो > ५ तल्ले घरको छतमै यस्तो घना जङ्गल, तरकारी देखि हरेक जातका बोटबिरुवा सहितको मिनी पोल्ट्रिफार्म [भिडियोसहित]

५ तल्ले घरको छतमै यस्तो घना जङ्गल, तरकारी देखि हरेक जातका बोटबिरुवा सहितको मिनी पोल्ट्रिफार्म [भिडियोसहित]

काठमाडौँ। बद्री गौलीको गल्कोपाखास्थित घर पस्नासाथ बरन्डाभरी फूल ढपक्क छन् । सजाइएका फूलसँगैको पर्खालछेउ ओखरको बोट हुर्किंदैछ । अन्य फलफूलका बिरुवा पनि ‘वसन्ती रंग’ फेर्दैछन् ।

अढाइ आनामा बनेको गौलीको १० कोठे घरको कौसी बहुआयामिक छ । छतमा पुग्दा कुनै सुन्दर बगैंचामा छिरेको भान हुन्छ । कौसीको आधा भाग भान्छा र भर्‍याङले ओगटेका छन् । बाहिरपट्टी बगैंचाको दृष्य मनमोहक छ ।

चिटिक्क परेको घर, सँगै गाईवस्तुको गोठ, गोठमाथि चौपायाका लागि घाँसपात, छेउमा मलखाडी, त्यसभन्दा तल करेसाबारी र लहलह धानका बाला झुल्ने खेत । परम्परागत गाउँले परिवेशको चित्र हो यो । गौलीको ‘सृष्टी’ हेर्दा त्यही गाउँले क्यानभासको झल्को आउँछ, मनमा ।

शहरी क्षेत्रका हजारौं घरका छतहरु खाली छन् । गौलीले भने क्रंक्रिटकै छतलाई प्राकृतिक स्वरुप दिएका छन् ।

छतको छेउतिर गमला र प्लास्टिकका भाँडा लहरमा मिलाएर राखिएको छ । तिनमा हुर्किएका फलफूलका बोटबिरुवा देखिन्छन् । सँगै प्लास्टिकको भाँडामा लसुन र प्याज हुर्किँदैछन् । सिजनमा उनी साग र धनियाँ समेत रोप्छन् ।

‘विदेशबाट त्यत्रो फलफूल, तरकारी र मासु आउँछ, आफ्ना नागरिकलाई आफैंसँग भएका चिजबिज प्रयोग गर्न सिकाए ठूलो समस्या आउँदैन
गौलीका लागि कौसी नै करेसाबारी । र, यही नै बगैंचा पनि । ‘बजारबाट आलु मात्रै किन्छौं,’ उनले भने, ‘सिजनमा खाने फलफूल पनि यहीँ फल्छन् । तरकारी र फलफूल किन्न बजार जानै पर्दैन ।’

छतमा पोखिएको उनको पौरखले जोकसैको मन लोभिन्छ । विडम्बना, उनको छतबाट गर्न सकिने चौतर्फी दृष्यावलोकनमा अधिकांश घरका छत खाली छन् । आसपासका केही घरमा भने गौलीको सीपको अनुकरण गर्न थालिएको देख्न सकिन्छ ।

गौलीको छतमा एउटा पहाडी बगैंचामा हुने प्रायः सबै फलफूल छन् । तर, त्यो पहाडी शैलीकै निर्वाहमुखी मात्र छ, व्यावसायिक रुप दिन सकेका छैनन् । छत खाली राखेर महँगो तरकारी र फलफूल खरिद गर्न बजार दौडिनेहरुका लागि उनी प्रेरणाका स्रोत नै हुन् ।

गौलीको कौसी-बगैंचामा मौसमी तरकारी त फल्छन् नै, रहर लाग्दा फलफूलको स्वाद लिन पनि खाँचो छैन । साउन-भदौमा नास्पाति लटरम्म हुन्छन् । असोजमा अम्बाले बोट नै लर्काउँछन् । आरु र आरुबखडा खान गाउँ या बजार पुग्नै पर्दैन ।

‘लिच्ची अर्को वर्षदेखि फल्छ होला, आँपका पनि ४/५ वटा बोट छन्, तिनले पनि सालिन्दा फल दिइरहेका छन्,’ गौलीले सविस्तार वर्णन गरे, ‘काँचै खान मिल्ने जापानी हलुवाबेद भर्खरै सकियो । मंगसिर महिनामा आउनुभएको भए बोट लर्किएको हुन्थ्यो लटरम्म फलेको स्याउ र आँपले ।’

उनको बगैंचामा साधारण फलफूल मात्रै होइन, पहाडी जंगलमा पाइने काफलको बोट पनि हुर्किंदैछ । जुनार फल्न थालेको छ । त्यही अदुवाका बुट्यान पनि छन् ।

‘यहाँ टिम्मुर पनि फलिरहेको छ, खुर्सानी किन्नु पर्दैन,’ गौलीले आफ्नो पौरख देखाउँदै भने, ‘मलाई बिहान मर्निङवाक जानै पर्दैन । गर्मीमा शीतल खोज्दै वाताकुलित बनाएको कोठामा जानुप पर्दैन । छतमा बगैंचा भएपछि जस्तो समयमा पनि यही प्यारो हुन्छ ।’

शहरमा प्रदुषण छ भनेर गाली गरिरहनुभन्दा आफ्नो खाली भएको करेसाबारी र कौसीमा यसरी नै पौरख देखाउन सके शुद्ध अक्सिजन त्यसैबाट प्राप्त हुने उनी बताउँछन् । ‘साँझबिहान एक-आधा घण्टा कसरत गरेकै मानेर यसमा भुलिँदा धेरै फाइदा छ,’ उनले आफ्नो तन्दुरुस्तीको राज खोले ।

बगैंचामा अहिले लटरम्म लालुपाते फुलेका छन् । इन्द्रकमल, गुलाफलगायत प्रजातिका फूल पनि फुलिरहेका छन् । हामीले सोध्यौं, ‘यसका लागि मलचाहीं किनेर ल्याएर हाल्नुहुन्छ ?’

उत्साहित हुँदै गौलीले भान्छातर्फको अर्को कौसीमा उकाले, र भने, ‘ल हेर्नुस्, मेरो कौसीमा त सानो पोल्टी फार्म पनि छ । यही कुखुराको मल हाल्छु । बोेट बिरुवाको पात बढारेर फाल्नु पनि पर्दैन, गमलामा तिनकै फेदमा हालिँदिँदा हुन्छ । तरकारी काटेर फालिने, कुहिने फोहोरहरु हाल्दा पनि भइहाल्छ ।’

गौलीको छतमा अहिले हुर्किएका अनगिन्ति कुखुरा छन् । धेरैले अण्डा पनि पारिरहेका छन् । केही कुखुरा ओथारो बसेका छन् । उनी आफूले उत्पादन गर्दै प्रायः कुखुरा पनि बेच्दैनन् । आफैं खान्छन् । ‘कसै-कसैले लोकल भनेर निकै रहर गर्नुहुन्छ, अनि दिनैपर्छ,’ गौलीले भने ‘नत्र धेरै आफैंले खाने हो ।’

उनका अनुसार दिनमा फुर्सदको समय सदुपयोग गरेर यत्तिको बगैंचा बनाउन सकिन्छ । जाँगर चलाउन सके बजारबाट विषाक्त तरकारी किन्नुनपर्ने उनको ठम्याइ छ ।

उनका छोरा-छोरी फिनल्यान्डमा अध्ययनरत छन् । त्यसैले उनको कौसीमा फलेका तरकारी र फलफूल बेलाबखत फिनल्यान्डसम्म पुग्छन् । गौलीको भनाइमा काठमाडौंका अधिकांश घरमा यस्तो कौसीखेती गर्न सकिन्छ । तर, यसमा कसैले ध्यान दिएका छैनन् ।

गौलीले पाँच वर्षअघि कौसी खेती थालेका हुन् । ‘निरोगी बन्नुछ भने आफ्नो प्रयोगविहीन छतमा यसो गर्न सकिन्छ,’ उनले भने, ‘खर्च पनि खासै लाग्दैन । बजारमा डेढ-दुई सय रुपैयाँमा पाइने ड्रम र डिब्बा ल्याए हुन्छ । यसो जाने बुझेकासँग सुझाव लिएर गर्दा गाह्रो पर्दैन ।’

गौलीले विद्यालयमा कृषि विषय पढेका थिए । त्यतिबेला सिकेकै सीपलाई उनले अहिले कौसीमा उपयोग गरेका छन् । पूर्वसैनिक उनले अमेरिका जाने चक्करमा रिटायर्ड नहुँदै जागिर छाडेका थिए ।

‘अमेरिका त जान पाइएन । तर, यहीं केही नौलो गरेर बस्न मन छ । त्यसैले यो काम सिक्न चाहनेहरुलाई पनि सिकाउने गरेको छु,’ उनले भने । कौसी खेतीलाई सरकारले पनि प्रवर्द्धन गर्नुपर्ने उनी बताउँछन् । त्यसको लाभ नागरिक र देशले नै पाउने उनको भनाइ छ ।

‘विदेशबाट त्यत्रो फलफूल, तरकारी र मासु आउँछ, आफ्ना नागरिकलाई आफैंसँग भएका चिजबिज प्रयोग गर्न सिकाए ठूलो समस्या नै आउँदैन,’ गौलीको सुझाव छ ।

बाँकि हेर्नुहोस् भिडियोमा :

Leave a Reply

error: Please Dont Copy My Content!! !!