Friday, May 14, 2021
Home > प्रविधि > अबदेखि तपार्इकाे भैँसीलार्इ जतिबेलै गर्भधारण गराउनुहाेस

अबदेखि तपार्इकाे भैँसीलार्इ जतिबेलै गर्भधारण गराउनुहाेस

नेपालमा भैँसी पालन गर्ने कृषकहरु एउटै मौसममा मात्र भैँसीको गर्भाधारण हुने र प्रजनन् हुने समस्याले पीडित थिए । यो अनुसन्धानको सफलताले कृषकलाई राहत हुने भएको छ । गएको मंगलबार रामपुरमा पत्रकार सम्मेलन गरी भैँसीको बेमौसमी गर्भाधारण अनुसन्धान सफल भएको जानकारी दिँदै डाक्टर देवकोटाले यो अनुसन्धानले नेपालमा भैँसीको उत्पादन तथा उत्पादकत्व वृिद्ध गर्न सहयोग पुग्ने बताउनुभयो ।

‘१० वर्ष लगाएर गरिएको अनुसन्धान सफल भएको छ’, उहाँले भन्नुभयो, ‘अब सबै मौसममा भैँसीको गर्भाधारण गराउन सकिन्छ ।’ नेपालमा पालिने भैँसीमा चैतदेखि असार महिनासम्म कमै मात्र गर्भाधारण हुने गरेको थियो । साउनदेखि मंसिर महिनासम्म मात्र भैँसीमा गर्भाधारण हँुदा एउटै मौसममा मात्र भैँसीको उत्पादन र उत्पादकत्व बढ्ने गरेको थियो ।

‘एउटा मौसममा मात्र दूध उत्पादन धेरै हुने गरेको थियो’, देवकोटाले भन्नुभयो, ‘अब सबै मौसममा समान दूध उत्पादन लिन सकिने भएको छ ।’

अहिलेसम्म एउटा मौसममा धेरै दूध हुने र अर्काे मौसममा दूधको अभाव हुँदै आएको छ । यसैका कारण किसानले हिउँदमा दूध अभाव हुने र वर्षात्मा दूध धेरै हुँदा दूध बिक्रीमा समेत समस्या भोग्दै आएका छन् ।

हिउँदको सुख्खा याममा भैँसीले गर्भधारण नगर्ने र त्यो समयमा नब्याउने हुँदा दूधको अभाव हुने समस्यालाई यो अनुसन्धानपछिको सफलताले केही राहत हुने प्राविधिकहरुले बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायका प्राध्यापक डाक्टर देवकोटाको नेतृत्वमा गएको १० वर्षदेखि यस सम्बन्धमा अनुसन्धान भइरहेको थियो ।

चितवनको रामपुरमा रहेको भैँसी फार्म र पोखराको पशु विकास फार्ममा रहेका भैँसीहरुमा अनुसन्धान गरिएको थियो ।

पहिलेका वर्षहरुमा प्रत्येक वर्ष १० वटा भैँसीमा यो परीक्षण गरिएकोमा तीन÷चार वटामा मात्रै सफलता मिलेको थियो । यस वर्ष भने रामपुरमा नौ वटा मध्ये पाँचवटा र पोखरामा पाँचवटा मध्ये दुईवटा भैँसीले चैतदेखि असारसम्म गर्भधारण गरी ब्याइसकेका छन् ।

भैँसीका प्रजनन् अंग कस्तो छ भनेर अल्ट्रासाउण्ड प्रविधिबाट हेरेर आवश्यकता अनुसारको हर्माेन तयार गरी भैँसीलाई खुवाउँदा सबै मौसममा भैँसी प्रजनन्मा सहज भएको अनुसन्धानकर्ताले बताएका छन् ।

डा. देवकोटाका अनुसार नाम्ले, माटे लगायतका आन्तरिक परजीवी तथा वातावरणीय तापक्रमका कारण पनि भैंसीलाई तनाव बढ्ने गरेको देखिएको छ ।

हिउँदको समयमा पर्याप्त पोषणको अभाव र तनावका कारण भैँसीको शरीरभित्र आन्तरिक परजीवीको संक्रमण बढी भएको पाइन्छ । पोषणयुक्त खाना खुवाउने र विशेष किसिमको हर्माेन प्रविधि प्रयोग गरेर भैँसीलाई हिउँदको समयमा पनि प्रजनन्योग्य बनाउन सकिएको अध्ययनले देखिएको छ ।

नेपालमा कूल गार्हस्थ उत्पादनको २६ दशमलव ८ प्रतिशत हिस्सा कृषिले ओगटेको छ । यसमध्ये १३ प्रतिशत योगदान पशुजन्य श्रोतको रहेकोमा भैँसीको योगदान ६ प्रतिशत रहेको छ ।

नेपालको पहाडी क्षेत्रमा लिमे, पारकोटे र गड्डी जातका भैँसी पालिन्छ भने तराई क्षेत्रमा स्थानीय तराई जात र भारतीय मूर्रा जातको भैँसी पालिन्छ । नेपालमा ५२ लाख भैँसी रहेको सरकारी तथ्याङ्क रहेको छ ।

Leave a Reply