Wednesday, July 14, 2021
Home > साहित्य > देखिएका यी जोडीकाे लुकेका यस्ता छन् कथाहरू…

देखिएका यी जोडीकाे लुकेका यस्ता छन् कथाहरू…

किरण कतारको रापमा पसिना बगाउँदै हुनुहुन्थ्यो । लक्ष्मी सदरमुकाममा कार्यालय सहयोगीको काम गरेर छोरा पढाउँदै हुनुहुन्थ्यो । सुखमा सँगै रमाउने अनि दुखमा साथ दिने मान्छेको खाँचो थियो दुवै जनालाई । लक्ष्मीले साथ दिने मान्छेको कमी महसुस गरे पनि बिहे नै गरौंला भन्ने चाहीँ सोच्नु भएको थिएन । किरणले पनि दोस्रो बिहे गरौंला भनेर योजना बनाउनु भएको थिएन । भनिन्छ जोडी दैवले नै बनाएर पठाएको हुन्छन ।

किरण र लक्ष्मीको जोडी पनि योजना नहुदाँ नहुदै बाँधियो ।

लक्ष्मी र किरणको चिनजान
लक्ष्मीको घर भन्दा एक डिल पारिपट्टी छ किरणको घर । लक्ष्मीले किरणको बारेमा पहिला नै सुन्नुभएको थियो । एक पटक साथीका माध्यमबाट भेट भएको पनि थियो । तर हेलो हाई बाहेक केही भएको थिएन ।

परदेशमा रहँदा परिवारसँग जोडिन किरणले फेसबुक खोल्नुभएको थियो । लक्ष्मीको पनि फेसबुक थियो । लक्ष्मीको मोबाइलमा फ्रेन्ड रिक्वेस्ट आयो । राम्ररी बोल्दै नबोलेको मान्छे भनेर लक्ष्मीले सुरुमा त वास्ता गर्नुभएन । केहिदिन पछि आफ्नै तामाङ जातीको मान्छे भन्ने लागेर फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट गर्नुभयो ।

साथी भएपनि फेसबुकमा कुराकानी हुन थाल्यो । कुरा गर्दै जाँदा किरणले लक्ष्मीलाई उहाँको बारेमा सुनेको बताउनुभयो । लक्ष्मीलाई आफ्नो पनि पहिलो घरबार बिग्रिएको कुरा किरण आफैंले सुनाउनुभयो । किरणले पनि लक्ष्मीको कथा बुझ्नुभयो । त्यसले दुवै जनालाई एकअर्काको नजिक बनायो ।

नजिकिएसँगै दिनभरीको थकाइ मेटाउन दैनिक फेसबुक र फोनमा कुरा हुन थाल्यो । परदेशबाट लक्ष्मीको हरेक कुरामा ख्याल राख्न थाल्नुभयो किरणले । लक्ष्मीले पनि परदेशमा भएका किरणलाई आफ्नो ख्याल राख्नु भन्नुहुन्थ्यो ।

लक्ष्मी र किरणको मनमा लागेको घाउका खाटाहरु बिस्तारै पुरिँदै गए । जति कोसिस गरे पनि आफ्नो बनाउन नसकेको श्रीमान भुलेर लक्ष्मी किरणसँग नजिकिनुभयो । किरणले पनि श्रीमतीको घात भुलेर लक्ष्मीसँग खुशी साट्न थाल्नु भयो ।

‘एक दिन फोनमा कुरा नहुँदा त के नपुगेको के नपुगेको जस्तो लाग्थ्यो’ भन्दै छेउमा बसेकी श्रीमतीलाई हेरेर किरण मुसुक्क हाँस्नु भयो । आफ्नो अतित भुलेर किरणसँग कतिबेला रमाउन थाल्नुभयो लक्ष्मीले पत्तै पाउनुभएन ।


बिहेको प्रस्ताव कुराकानी बाक्लिएसँगै दुवै जना बिहे गर्ने सोचमा पुग्नुभएको थियो । तर लक्ष्मीले आँट गर्न सक्नुभएको थिएन । किरणबाटै प्रस्ताव आयो । ‘तिम्रो र मेरो ब्यथा एउटै रहेछ । म तिम्रो सुखदुखमा साथ दिन्छु हामी बिहे गरौं’ किरणको प्रस्तावमा तत्कालै लक्ष्मीले केही जवाफ दिनुभएन ।

त्यतिबेला आफ्नो भन्दा पनि समाजको मान्यताले तर्साइरहेको थियो । कारण, अहिले पनि समाजमा महिलाले दोस्रो बिहे गर्नु फलामको चिउरा चपाउनु जस्तै छ । त्यसमाथि १४ वर्षको छोरोले के सोच्ला भन्ने कुराले पनि लक्ष्मी दोधारमा पर्नुभयो ।

तर पछि अप्ठ्यारोमा साथ दिने किरण जत्तिको अर्को मान्छे सायद आउन मुस्किल होला भन्ने लागेपछि बिहे गर्न राजी हुनुभयो । तर सर्तसहित । ‘मैले अनेक हण्डर खाएर हुर्काएको छोरालाई हेला गर्दैनौ भने मात्र म बिहे गर्छु’ लक्ष्मीले किरणलाई भन्नुभयो । किरणको पनि आठ वर्षका छोरा थिए ।

त्यसैले उहाँले ‘दुवै छोरा मेरा लागि समान हुन्, तिमीले मेरो छोरालाई आमाको माया दिनु म तिम्रो छोरो असल बाबु बन्ने कोसिस गर्छु ’ भनेपछि लक्ष्मी र किरणको बिहे हुने भयो । बिहेको प्रस्ताव अनि सर्त । यी सबै कुरा हुँदासम्म किरण विदेशमै हुनुहुन्थ्यो ।

बिहे गर्ने निधोमा पुगेका जोडिलाई छिट्टै लगनगाँठो कस्न पाए हुन्थ्यो भन्ने लागेको थियो तर किरण कतार गएको एक वर्ष मात्रै पुग्दै थियो । कम्पनीले दुइ वर्ष नभइ घर फर्किन दिने सम्भावना थिएन ।

किरणले कम्पनीसँग बिदा त माग्नुभयो तर मिलेन । कम्पनीले के कारणले बिचमै नेपाल फर्किन चाहेको हो भनेर सोधेपछि किरणले चित्त बुझ्दो कारण भन्न सक्नुभएन् । एक वर्षमै फर्किन पाउन किरणसँग कम्पनीका साहुलाई चित्त बुझाउन सक्ने कारण पनि थिएन । उपाय नलागेपछि उहाँले बुवा बिरामी हुनुहुन्छ भनेर ढाँट्नुभयो ।

कम्पनीले बोलीमा विश्वास गरेन । बुवा बिरामी भए अस्पतालको कागज नेपालबाट झिकाउ भनेपछि किरणलाई समस्या थपियो । नेपालमा स्वस्थ बुवालाई बिरामी भनेर बिदा माग्ने बाहना सफल हुन नसकेको कुरा किरणले लक्ष्मीलाई सुनाउनुभयो ।

त्यतिबेला लक्ष्मीले जुक्ति लगाउनुभयो । अस्पतालमा लक्ष्मीले चिनेको मान्छे थिए । उहाँले किरणलाई भाई बनाएर ऊ कतारमा समस्यामा परेको भन्दै बुवा विरामी भएको नक्कली रिपोर्ट बनाएर पठाइदिनुभयो । अस्पतालको त्यही कागज किरण र लक्ष्मीलाई जोड्ने पुल बन्यो ।
एयरपोर्टमा पर्खाइ लम्बिँदा किरणले नेपाल फर्किंदा काठमाडौँमा लिनु आउनु भनेपछि लक्ष्मीले हुन्न भन्नुभएन । उहाँ कतारबाट ११ बजे नेपाल आइपुग्दै हुनुहुन्थ्यो । लक्ष्मी मन्थलीबाट काठमाडौंका लागि सुमो चढ्नु भयो ।

तर बनको बाघले खाओस् नखाओस् मनको बाघले खायो भने झैं भयो लक्ष्मीलाई । ‘बाटो भरी कसैले किन काठमाडौं हिँडेको भनेर सोधे भने के भन्नु भन्ने कुरा मात्रै सोचिरहें’ लक्ष्मी केही लजाउनुभयो ।

किरणले नेपाल फर्किन एइरपोर्टमा आइपुगेको भन्दै भिडियो कल गरिसक्नु भएको थियो । लक्ष्मी पनि कोटेश्वरबाट सिधै किरणलाई स्वागत गर्न एइरपोर्टमा पुग्नु भयो । तर किरण एयरपोर्टमा देखिनुभएन । आफन्त कुरिरहेकाहरुले कतारबाट आएको जहाज त धेरै अगाडि नै आएको सुनाउँदा लक्ष्मी आत्तिनुभयो ।

तर न किरणले भनेको सत्य थियो न त आफन्त पर्खिरहेकाहरुले भनेको नै । किरण ट्रान्जिटमा परेपछि भनेको भन्दा निक्कै ढिलो मात्रै ओर्लिुभयो । घण्टौं बितिसक्दा पनि नआएपछि लक्ष्मीलाई किरणले आफूलाई ढाँटेको जस्तो लाग्यो । ‘मेरो एक मनले किरणले मन चोरेको जस्तो सोचिरहेको थियो अनि अर्को मनले चाहिँ प्लेन किन समयमा आएन भन्ने सोच्यो’ लक्ष्मी भन्नुहुन्छ ।

फर्किनुको अर्को बिकल्प नदेखेर विमानस्थलबाट हिँड्न लाग्दा लक्ष्मीले किरणलाई । उहाँलाई देखेपछि अघिसम्म आत्तिएको लक्ष्मीमो मन शान्त भयो ।

छोरा साक्षी राखेर दोस्रो बिहे
किरण र लक्ष्मीको व्यथा एउटै थियो । साथमा दुवैका हुर्किंदै गरेका छोरा पनि । आर्यनलाई लक्ष्मीले आमाको माया दिने बाचा गर्नुभयो अनि लोकेन्द्रलाई किरणले बुवाको । किरणको घर पट्टीलाई बुहारी बनाउन कसैको रोकटोक भएन ।

अन्ततः किरण र लक्ष्मी छोराहरु अनि परिवारलाई साक्षी राखेर सदाको लागि एक हुनु भयो । लक्ष्मीको पहलो श्रीमानका आफन्त पनि लक्ष्मीको निर्णय प्रति खुशी छन् । बाटोमा भेट्दा हासेर बोल्छन ।

किरणको पहिलो ससुराली पट्टी पनि सम्बन्ध राम्रो नै छ । यसरी लक्ष्मी र किरणले अनेकौं बाधा अड्चन पार गरेर जिन्दगीको नयाँ बिहानीलाई स्वागत गरेका छन् । समाजमा बाध्यताको सिकार भएका लक्ष्मी र किरण कयौं पात्र छन् । बस यत्ति हो उनीहरु खुलेर आफ्ना भोगाइ सार्वजनिक गर्न हिचकिचाउँछन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!