Sunday, June 20, 2021
Home > समाचार > ३५ लाख खर्च भैसक्यो तर सन्चो नभएपछि रोगले च्याप्दा ‘मारिदेऊ’ भन्छिन् चेली ! सुख–दुःखमा १३ वर्ष साथ दिएकी श्रीमतीलाई कसरी मार्न सक्छु भन्छन् श्रीमान’

३५ लाख खर्च भैसक्यो तर सन्चो नभएपछि रोगले च्याप्दा ‘मारिदेऊ’ भन्छिन् चेली ! सुख–दुःखमा १३ वर्ष साथ दिएकी श्रीमतीलाई कसरी मार्न सक्छु भन्छन् श्रीमान’

काभ्रेकी ३६ वर्षीय चेली तामाङ दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर शय्यामा छन्। घाँटी नजिकको मेरुदण्डमा रहेको स्नायू नशा च्यापिएर उनलाई दुई वर्षदेखि अस्पतालमा राखिएको छ। हलचल गर्न नसक्ने श्रीमतीको स्याहारमा उनका श्रीमान् बसन्तकुमार ठकुरी खटिएका छन्। बिहान–बेलुका श्रीमतीको सेवा गर्ने बसन्त दिउँसो भने आयल निगमको गाडी चलाउँछन्।

आफू दिउँसो काम गर्न जानुपर्ने भएकाले श्रीमतीको हेरचाहमा कमी नहोस् भनेर एक जना सेविका राखेका छन् बसन्तले। अस्पतालमा चेलीको स्याहार गर्न बसेकी सेविका भेटिइन्। उनले भनिन्, ‘दिदी बोल्न खोज्नुहुन्छ तर आवाज निस्कँदैन। उहाँको अनुहारमा हेरिराख्यो भने भन्न खोजेको कुरा भने बुझिन्छ। २०७३ साल चैत २५ गते चेलीलाई बाइकले हानेर घाँटीमा चोट लाग्दा स्नायू नशा च्यापिएको थियो।

को हुन् चेली–बसन्त : १३ वर्ष अगाडि काठमाडौंको जडिबुटीमा चेलीका दाइको होटल थियो। बसन्तकुमार ठकुरी उनीहरुको होटलमा खाना खान जान्थे। त्यही क्रममा चेली र बसन्तको चिनजान भयो र भेटघाटको केही महिनापछि उनीहरुले विवाह गरे।

आफूभन्दा तल्लो जातसँग विवाह गरेको भन्दै बसन्तका परिवारले स्वीकार गरेनन्। त्यसपछि चेली र बसन्त मिलेर ब्युटिपार्लर खोले। बसन्त गाडी चलाउँथे भने चेली ब्युटिपार्लर। ५/६ वर्ष यसरी नै गुजारा चलाए उनीहरुले। यो बीचमा उनीहरुबाट एक छोरी भइन्। छोरीलाई राम्रो स्कुलमा पढाउने र काठमाडौंमा घर किन्ने सपना बोकेर चेलीले आफ्ना श्रीमान्लाई रोजगारीका लागि मलेसिया पठाइन्।

मलेसियामा काम गर्दा बसन्तले राम्रै कमाइ गरे। श्रीमान्–श्रीमतीको सल्लाहमा बसन्तले कमाएको पैसा बैंकमा जम्मा गर्थे भने नेपालमा चेलीले कमाएको पैसा छोरी पढाउने र घरखर्च गर्थे। बाँकी पैसा चेलीले आमा समूहमा जम्मा गर्न थालेकी थिइन्। ४ वर्षको मलेसिया बसाइमा बसन्तले केही पैसा जम्मा गरे। ‘अलिअलि विदेश वर्ष विदेश बसाईपछि पैसा अलिअलि जम्मा भएको थियो,’ बसन्तले भने, ‘अलिअलि ऋण गरेर काठमाडौंमा घर किन्ने कुरा हुन्थ्यो हाम्रो।’ बसन्तको घर आउने दिन नजिकिँदै गर्दा घर किन्ने सपना पूरा हुने भयो भनेर दुवै जना निकै खुसी भएका थिए।

श्रीमतीको दुर्घटनाकोे खबर : बेलाबेलामा बसन्त र चेलीको फोनमा कुरा भइराख्थ्यो। त्यस दिन बिहान पनि चेलीले फोन गरेर श्रीमान्लाई आफूले जम्मा गरेको पैसा झिक्ने बताएकी थिइन्। जब उनले कम्पनीले दिएको टिकट हातमा लिएर खुसी हुँदै श्रीमतीलाई फोन गरे, बसन्त छाँगाबाट खसेजस्तो भए। उनले गरेको फोन श्रीमतीको सट्टा सालीले उठाइन्। ‘उनले रुँदै दिदी दुर्घटना परेको खबर सुनाइन्,’ बसन्तले विगत सम्झिए, ‘बाइकले हानेर श्रीमतीलाई नर्भिक अस्पताल भर्ना गरिएछ।’

त्यसको पाँच दिनपछि बसन्त विमानस्थलबाट सिधै अस्पताल पुगे। त्यहाँ पुग्दा श्रीमतीको हालत देखेर निकै पीडा भयो बसन्तलाई। उनी भन्छन्, ‘समान्य दुर्घटना होला भन्ने सोचेको थिएँ। तर, उनको अवस्था त नाजुक पो रहेछ।’

४५ दिनसम्म चेलीको उपचार नर्भिकमै भयो। पछि उनलाई त्यहाँबाट ट्रमा सेन्टरको आइसियूमा सारियो। डाक्टरले उनलाई मुटुमा ब्याट्री राख्यो भने श्रीमती पहिलाको जस्तै हुन्छिन् भन्ने सल्लाह दिए। त्यसपछि इन्डियाबाट दुई डाक्टर झिकाउँदा बसन्तको १० लाख खर्च भयो तर श्रीमतीको स्वास्थ्यमा कुनै पनि सुधार आएन।

दुर्घटना गराउने व्यक्तिसँग चेलीको निको नहुन्जेल उपचार खर्च ब्यहोर्ने र छोरी पढाइदिने सहमति भएको थियो। एक वर्षसम्म उपचार खर्च ब्यहोरे पनि अहिले सम्पर्कविहीन भएको बसन्तले बताए। ‘उनले १५ लाख खर्च ब्यहोरे, मैले कमाएको २० खर्च भइसक्यो तर स्वास्थ्यमा कुनै सुधार आएको छैन।’

ट्रमाको सहयोग : २०७३ सालको चैत २५ गते घटना भएदेखि ४५ दिन नर्भिक अस्पतालमा र ६ महिना राष्ट्रिय ट्रमा सेन्टरको आइसियूमा उपचार भयो चेलीको। आर्थिक अवस्थाले नभ्याएपछि अहिले उनको उपचार ट्रमा सेन्टरको बेड नम्बर ५ सय १४ मा भइरहेको छ।

ट्रमा सेन्टरले चेलीलाई निःशुल्क बस्ने–खाने सुविधा उपलब्ध गराइदिएको छ। ‘अहिले औषधिको मात्र पैसा तिर्नुपर्छ,’ बसन्तले सुनाए, ‘बस्ने–खाने सुविधा अस्पतालले नै व्यवस्था गरिदिएको छ।’ कहिलेकाहीं औषधि किन्ने पैसा नहुँदा पनि अस्पतालले जोहो गरिदिने उनले बताए। विदेशबाट फर्किएपछि बसन्तले ८ वर्षीया छोरीसँग समय बिताउन पाएका छैनन्। ‘छोरीसँग बस्ने रहर कसको हुँदैन र? तर भाग्यलाई यो मन्जुर रहेन छ,’ उनी भावुक भए। अहिले चेली र बसन्तकी छोरीको हेरचार चेलीकी बहिनीले गर्दैै आएकी छन् । ‘मामा घरमा बसे पनि आफ्नो आमाको काखजस्तो कहाँ हुन्छ र?,’ बसन्तले भने, अस्पताल आएपछि मेरो ममी कहिले निको हुनुहुन्छ ? भनेर हैरान पार्छे, घर पठाउनै मुस्किल पर्छ।’

खर्च जुटाउन बेवारिसे बिरामीको रेखदेखदेखि पालेसम्म : दिउँसो गाडी चलाएको कमाइले खर्च जुटाउन गाह्रो भएपछि बसन्तले ट्रमा सेन्टरमा रहेका बेवारिसे बिरामीको हेरचारदेखिे पालेसम्मको काम गरे। दिनरात काम गर्दा आफ्नै स्वास्थ्य बिग्रिन थालेपछि अहिले उनले पालेको काम छोडिदिएका छन्। ‘यहाँ काम गर्दा श्रीमतीको रेखदेख पनि हुन्थ्यो, खर्चको जोहो पनि हुन्थ्यो। निद्रा पनि बिग्रियो, ठेकेदारले २४ घन्टा ड्युटी गर्नुपर्छ भनेपछि पालेको काम छोड्नुपर्‍यो,’ उनले सुनाए।

आयल निगमको गाडी चलाएर महिनामा कमाएको २० हजार रुपैयाँमा पनि आधा पैसा श्रीमतीको स्याहार गर्ने सेविधालाई दिन्छन् बसन्त। बाँकी १० हजारले छोरी पढाउन र श्रीमतीलाई औषधि किन्न मुस्किल पर्ने उनको भनाइ छ।

रोगले च्याप्दा मारिदेऊ भन्छिन् चेली : प्रायःजसो सामान्य कुराकानी हुन्छ चेली र बसन्तको। चेलीले आफूसँग अब ५ वर्ष बाँच्न चाहेको बताउने गरेको बसन्तले बताए।

‘धेरै पीडा भएको बेलामा भने ‘मलाई मारिदिनुस्, म मर्न चाहन्छु’ भन्ने गर्छिन्’ बसन्तले पीडा पोखे, ‘केही आराम भएको बेला म बाँच्न चाहन्छु भन्छिन्, धेरै पीडा भएका बेला मलाई मारिदिनुस् भन्छिन्। सुख–दुःखमा १३ वर्ष साथ दिएकी श्रीमतीलाई कसरी मार्न सक्छु।’ बसन्तले श्रीमतीको स्याहार गरेको देख्दा कतिपयले अर्को विवाह गर्ने सुझाव दिने गरेको समेत उनले बताए। तर अर्को विवाह गर्ने पक्षमा उनी छैनन्। ‘जीवन रहुन्जेल श्रीमतीको सेवा गर्छु, तर अर्को विवाह कहिल्यै गर्दिनँ,’ बसन्तको अठोट छ।

(सिर्जना खत्रीले स्वास्थ्य खबरमा लेखेको यो सामग्री हामीले साभार गरेका हौ )

Leave a Reply

error: Please Dont Copy My Content!! !!