Thursday, June 17, 2021
Home > समाचार > ‘संसदभित्र सल ओढेर जाँदा राम्रो देखिएन रे !’

‘संसदभित्र सल ओढेर जाँदा राम्रो देखिएन रे !’

माघ २४, काठमाडौं । रौतहटकी समिना हुसेन प्रतिनिधिसभा सदस्य हुन् । उनले रोष्टममा उभिएर अहिलेसम्म चारपटक मात्रै बोलेकी छन् । उनी संसदीय समितिमा पनि खासै बोल्दिनन् । संसदीय अभ्यासमा आफैँ सहभागी भएर पहिलो अनुभव बटुलिरहेकी हुसेन भन्छिन्– ‘यहाँ सोचेजस्तो नहुँदोरहेछ ।’ प्रतिनिधिसभा भनेको देशको कानुन बनाउने थलो हो । त्यहाँ रहने सांसदहरुबाट देशले सभ्य व्यवहारको अपेक्षा गर्दछ ।

तर, एक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने यी महिला सांसदले भने सांसदहरुबाटै हेलाहोचो सहनुपरेको गुनासो सुनाइन् । सल टाउकोमा हालेर संसदमा जाँदा ‘तपाईलाई राम्रो देखिएन’ भन्नेहरुदेखि ‘तपाईका पनि श्रीमान छन् र !’ भन्नेसम्मका अभिव्यक्ति पचाउनुपरेको सांसद हुसेनले गुनासो गरिन् ।

सांसद समिनाले प्रतिनिधिसभाभित्रको अनुभव यसरी सुनाइन्–
मेरा बुबा मोहम्मद इसाक हुसेनले तत्कालीन एमालेनिकट जनसांस्कृतिक महासंघको केन्द्रीय कमिटिसम्म रहेर काम गर्नुभयो । ममी बाराको गाउँ कमिटीमा हुनुहुन्थ्यो । नेता भएपछि सबैसँग हात मिलाउन पाइने रहेछ भन्ने दिमागमा पर्‍यो सानैमा । सबैले मान्ने र फूलको माला लगाउन पाइने भन्ने लागेर नेता बन्नुपर्छ है भन्ने मनोविज्ञान प्रदा भयो ।

त्यही हुटहुटीले स्कुलमा अनेरास्वियुको सदस्य भएर स्कुल जीवनदेखि नै राजनीति गरियो । माधवकुमार नेपाल जिल्ला जाँदा मलाई नेता बन्ने रहर छ भन्थेँ ।

बच्चामै म पनि नेता हुँ भन्दै कराउँथे । सरहरुले नेताजी भनेर बोलाउनुहुन्थ्यो । समिना भनेर बोलाउँदा नबोलेपछि ए नेता भनेर बोलाएपछि फरक्क फर्केर हेर्थेँ । मेरो बानी त्यस्तो परिसकेको थियो । कसैले आफु संलग्न पार्टीप्रति वा नेताप्रति केही भनेको खण्डमा झगडा गरिन्थ्यो । ‘ओइ यसो भन्छस् । तेरो के अधिकार ?’ यस्तो पनि गरिन्थ्यो ।

भर्खर १६ वर्षको पुगेकी थिएँ । जन्म दर्ता अनुसार १६ वर्ष पुगेपछि भोट हाल्न पाइन्थ्यो । भोट हाल्न पाइन्छ भनेर कहिले १६ वर्ष पुगुँला भन्ने लाग्थ्यो ।

एसएलसी माइतीबाटै गरेँ । शिक्षा विषय लिएर इन्टर र ब्याचलर चाहिँ बिहेपछि गरेँ । कलेज पढ्न थालेपछि भने राजनीतिका लागि त्यति समय दिन सकिनँ । कलेज पढ्दा दुईजना बच्चा पाइसकेकी थिएँ । नियमित कलेज नगई प्राइभेट नै पढेँ ।

अखिल नेपाल महिला संघमा भने रौतहट जिल्ला कमिटीमा संलग्न थिए । बिहे भएर रौतहट जाने बित्तिकै गाउँ कमिटी सचिवमा रहेर काम गर्ने अवसर मिल्यो । ५ वर्ष काम गरेँ । त्यसपछि क्षेत्रीय कमिटीमा काम गरेँ ।

त्योबेला क्षेत्रीय कमिटिको बैठकमा म एक्ली महिला हुन्थेँ । सकेसम्म आफ्नो राम्रो उपस्थिति देखाउन खोज्थेँ । त्यसैका आधारमा क्षेत्रीय कमिटीमा पुर्‍याए । त्यसपछि बल्ल कलेज पढ्नुपर्छ भन्ने लाग्यो र इन्टर भर्ना गरेँ । त्यहीँबाट ब्याचलर गरेँ ।

बिहे भएको ४ वर्षमा दुईजना बच्चा जन्माइसकेकी थिएँ । साना–साना बच्चाहरु छाडेर पनि अनेमसंघको बैठक छोड्नुहुन्न भनेर जान्थेँ । कलेजमा राजनीति गर्ने समय नभए पनि अनेम संघको कार्यक्रममा सकेसम्म सहभागी हुन्थेँ ।

१९ वर्षमा जनवादी बिहे
२०५६ माघ १४ गते बिहे भयो । बिहे हुँदा १८ वर्ष पुगेर १९ वर्ष लागेकी मात्रै थिएँ । १९ वर्षमा मुस्लिमकी छोरीको बिहे हुनु धेरै ढिला भइसकेको भन्ने हुन्थ्यो ।

त्यसमा पनि हाम्रो बिहे जनवादी टाइपको । दाइजो नलिने, एक थान कपडा साटसुट गरेर गरुँ न त जनवादी विवाह मुस्लिममा कस्तो हुँदो रहेछ भनेर गरियो । मेरो परिवार शिक्षित भएकाले यो संभव भयो ।

समानुपातिकमा नाम आएपछि
स्थानीय तहको चुनावको समय थियो । मलाई कठरिया नगरपालिकाको लागि उपमेयरको टिकट पार्टीले दिने भन्यो । तर, मैले लिइनँ ।

जिल्ला कमिटिले सहयोग गर्छौं भनेको थियो । तर, खर्चपर्चका कुरा, त्यस्तो गर्न सक्ने अवस्था थिएन् । टिकट पाएर पनि चुनाव नलडेको भनेर अवसर गुमायो भन्नेखालका कुराहरु पार्टीका साथीहरु, काम गरिरहेको संस्थाका साथीहरुले पनि भन्थे ।

जुन दिन समय आउँछ, त्यो दिन चुनाव लड्छु भन्नेखालको जवाफ दिएँ । संस्थाको कामले मेरो सम्बन्ध थियो र राजनीतिकरुपमा थिएन । म आफैँ चुनाव नलडे पनि पार्टीका लागि भेट मागेर हिँडियो ।

पछि आफ्नै नाम समानुपातिकमा परेको थाहा पाएँ । उत्साहित भएँ । समानुपातिक नाम गएको र परिसकेको भन्ने यकिन हुनुभन्दा केही दिन पहिले कठरियामा ३ घण्टाको कार्यक्रम उद्घोषण गरेको थिएँ । प्रभु साह पनि हुनुहुन्थ्यो । उहाँले ‘ओ हो तपाई पो हो समिना हुसेन ? म त छक्क परेको’ भन्नुभयो ।

समानुपातिकमा नाम आउनु पहिले प्रोजेक्टमा काम गर्थेँ । अक्फामले रौतहटको आरडीसी नेपाललाई एउटा कार्यक्रम दिएको थियो– ‘महिलामाथि हुने हिंसा न्यूनीकरण’ भनेर । ५ वटा गाउँ विकास समिति हेर्नुपर्ने र मेरो अण्डरमा २३/२४ जना सहजकर्ताहरु हुनुहुन्थ्यो । अन्य सामाजिक काममा पनि सहभागी हुन्थेँ । सकेसम्म पार्टीको बैठकहरुमा पनि सहभागी हुन्थेँ । माधव नेपाल जिल्ला जाँदा अब के गर्ने भनेर छलफल गर्थ्यौं ।

पार्टीमा नियमित काम गरिरहेको र मुस्लिम समुदायकी, मधेसी महिला भएको भन्ने बुझाइले मलाई टिकट दिइएको हो भन्ने नै लाग्छ ।

माननीय भएर काठमाडौं आएपछि
समानुपातिकमा नाम परेपछि मलाई युवाहरुले भन्नुहुन्थ्यो – अब तपाईं सांसद भएर काठमाडौं गएपछि हामीलाई बिर्सनुहुन्छ होला । कसैले ‘ल है त्यहाँ गएपछि महिलाको कुरा, युवाहरुको कुरा, वालवालिकाको कुरा उठाउनुस्’ भन्नुहुन्थ्यो ।

यी सबै कुरा मनमा खेलाउँदै काठमाडौं आएँ ।
पहिलो दिन संसदमा गएँ । मलाई नै थाहा थिएन कि म कहाँ जाँदै छु । पहिलो दिन म आफ्ना अभिभावक, भाञ्जा, श्रीमान् एक/दुईजना अरुलाई पनि लिएर गएकी थिएँ । वानेश्वरको संसद भवन कहाँ छ, कस्तो छ भन्ने पनि थाहा थिएन ।

संसद भवनमा छिरेपछि धेरै फोटो खिचौं भन्ने जस्तो लाग्यो । त्यही एक दिन सबैथोक हो कि भन्नेजस्तो भयो । तर, त्यस्तो थिएन र होइन रहेछ ।

कस्तो होला भित्र भन्दै छिरेँकी थिएँ । भित्र गएर बसियो । पहिले टीभीमा देखिरहेको दृश्य अब म पनि टीभीमा आउँछु होला भनेजस्तो लाग्थ्यो । चञ्चल भइरहेकी थिएँ ।

सबै नेता त्यहीँ भेटिने । अचम्म लाग्ने । हामी पहिले जिल्लामा बस्थ्यौं । केन्द्रबाट नेता आएपछि भेट्नुपर्छ भन्ने हुन्थ्यो । तर, प्रधानमन्त्री भइसकेका नेताहरु पनि त्यहीँ भेट हुँदा यस्तो ठाउँमा पनि आइपुगियो भन्ने लाग्यो । अब, के गर्ने भन्ने नभएर म कस्तो ठाउँमा आइपुगें भनेजस्तो भयो ।

संसदमा ४ पटक बोलेँ
आफूलाई लागेका कुराहरु र नियमले मिल्ने कुराहरु बोल्न पाइने रहेछ । बोल्नका लागि संविधान, विधेयकदेखि लिएर नियमावलीहरु बुझेर बोल्न पाउने हाम्रो अधिकार रहेछ भन्ने अहिलेसम्म आउँदा थाहा भयो ।

अहिलेसम्म संसदमा ४ पटक बोलेँ । सत्तापक्ष र प्रतिपक्षको जुहारी परेको जस्तो भइरहेको थियो, विशेष समय मागेँ, सचेतकले के बोल्नुहुन्छ भनेर पनि सोध्नुभयो ।

मैले जुन जोगी आए पनि कानै चिरेका भन्ने अब लागू हुँदैन भनें । एउटा कलम, एउटा शिक्षक र किताबले विश्व नै परिवर्तन गर्न सक्छ भनेर मलालाले भनेकी छन्, त्यसकारण दुई तिहाइको सरकारले कसरी परिवर्तन गर्न सक्दैन ? भन्ने कुरा राखेँ । संगै मुस्लिम समुदायका कुरा पनि राखेथेँ । तर, विशेष समयमा दुई/तीनवटा विषय राख्न नहुने भनेर साथीहरुले भनेपछि त्यो कुरा थाहा भयो ।

दोस्रो पटक शून्य समयमा महिला हिंसालगायतका समसामयिक विषयमा आफ्ना कुरा राख्दै आएकी छु ।

मुस्लिम समुदायको प्रेसर
चुनाव जितेर आउँदा यस्ता–यस्ता कुरा उठाउनू भनेर पठाएका थिए । ती सबै उठाइसकेँ जस्तो लाग्दैन । मैले अझै धेरै कुरा उठाउनुपर्छ । सबैभन्दा बढी मुस्लिम समुदायबाट यस्तो कुरा उठाउनुस् भनेर भनिरहेका हुन्छन् । तर, म मुस्लिम समुदायका लागि मात्रै त भनेर सांसद भएकी होइन नि ।

तर, एक हिसावले हेर्दा उहाँहरुले भनेको सही हो । केही कुराहरु उठाउनुपर्छ भन्ने नै लाग्छ । त्यस्तो होइन भने मुस्लिम समुदाय, जनजाति समुदाय, के भन्दै किन भन्नुपर्थ्यो र !

सिक्सलाई कसैले सिक्स नै देख्छ भने कसैले नाइन पनि देख्न सक्छ । यो हेराइमा फरक हो । मुस्लिम समुदायको कुरा मैले उठाइदिएर मात्रै हुने भए सरकारलाई नै दिक्क बनाइदिन्थेँ । तर, त्यसो होइन, मुस्लिम समुदायमाथि आउन तलबाटै उठ्नुपर्छ । हरेक ब्यक्तिबाट आउनुपर्छ । यसका लागि हरेक ठाउँमा आरक्षणलगायतका कुरा म बोल्छु ।

यो जातीय विदा चाहियो, के चाहियो भन्ने विषय पनि उठाउनुपर्‍यो भनेर प्रेस आउँछ । तर, सरकारले विदा कटौती गर्दा हिन्दुको पनि काटिएको छ ।सम्बन्धित समुदायलाई विशेष पर्वमा विदा दिने भनेर पनि भनिएकै छ ।

म मुस्लिम संगठनको केन्द्रीय सदस्य छु । त्यसबाट पनि यस्ता कुरा उठाउनुपर्छ भनेर सुझावहरु आइरहेकै हुन्छन् । तर, त्यो कुरा बुझेर म उठाउनुपर्छ भन्ने लागेको कुरा राख्छु ।

हामी पाँचजना मुस्लिम महिलाहरु प्रतिनिधिसभामा छौं । हामीले अब पनि विदा हुनुपर्यो के हुनुपर्यो भन्ने विषयमा अल्झिने हो र ? होइन नि । ती मुस्लिम समुदायलाई माथि उठाउन के गर्न सकिन्छ ? त्यसमा ध्यान दिनुपर्छ भन्ने लाग्छ ।

तर, एउटा विषय भने उठाउनुपर्ने छ । लोकसेवा आयोगको कुरा भयो, कुनै प्रतिस्पर्धात्मक तरिकाबाट पदपूर्तिका कुरा निस्कियो भने कोलमहरु टक–टक छुट्याइएको हुन्छ । दलित, जनजाति, मधेसी, खसआर्य भनेर राखिएको हुन्छ । अन्य पनि हुन्छ तर, मुस्लिम भनेर राखिएको हुँदैन ।

समानुपातिक सांसदलाई विभेद
म हरेक सांसदहरुलाई सोध्छु–तपाईले हालेको कतिवटा योजना पर्‍यो भनेर । धेरैका पीडा मिल्छन् पनि । प्रत्यक्ष सांसदलाई जुन हिसावले योजना पारियो, त्यो हिसावले समानुपातिक सांसदलाई पारिएन ।

मैले ३/४ वटा योजना मन्त्रालयमा हालेकी थिएँ । सबै प्रक्रिया पूरा गरेकै थिएँ । स्टिमेट माग्यो, त्यो पनि दिएँ । तर, त्यसलाई पनि महत्व दिइएन । त्यो कसले रोक्यो भनेर सोध्यो भने थाहा छैन भन्ने जवाफ दिन्छन् । कर्मचारीहरु पनि खै किन भएन भनेर भन्नुहुन्छ । मन्त्रीज्यु पनि खै के के भयो, मलाई नै थाहा भएन भन्नुहुन्छ ।

तर, म हार्दिनँ । फेरि पनि हाल्छु । यहाँ लविङको कुरा हुँदोरहेछ । ठूला नेताहरुलाई भनेपछि बल्ल हुने रहेछ । मैले सुरुमा कसैलाई भनिनँ । नियमावली पढ्दा, राजपत्रमा आएका कुराहरुले अधिकार छ भनेर थाहा भयो । नियम पुर्‍याएर योजना लिएर गएकी थिएँ । तर, यसरी नहुँदोरहेछ । लविङ गर्नुपर्ने रहेछ ।

जनताका माग पनि ठूला छैनन् । सिप चाहियो, महिलाहरुलाई राम्रो हुने पनि केही काम गर्नुस भनेर भन्नुहुन्छ । खेलकुदका कुराहरुमा पनि चासो राख्नुहुन्छ । युवाहरुले प्रधानमन्त्री स्वरोजगार कोषमा के भइरहेको छ माननीयज्यु भनेर सोध्नुहुन्छ मलाई नै थाहा हुँदैन । के जवाफ दिउँ, भन्नु त ? यो प्रदेशलाई जिम्मेवारी दिएको हो, त्यसबारे पर्याप्त जानकारी नदिएर त हो नि ।

भवन बनाइदिनुपर्‍यो, नाला/ढल बनाइदिनुपर्‍यो, शिक्षाका लागि सहज बनाइदिनुपर्‍यो भन्ने खालका कुराहरु ल्याइदिनुपर्‍यो भन्ने मागहरु राख्नुहुन्छ । आफ्नो ठाउँबाट काम गर्न चाहनुहुन्छ भने आफैँ उठ्नुस र मैले गर्नुपर्ने सबै गर्छु भनेर भन्छु ।

म कानुन न्याय तथा मानवअधिकार समितिमा छु । म कानुन पढेकी होइन । सबै पढेर बुझेको पनि छैन । नजानेको विषयमा झ्याप बोलिरहनु पनि भएन । बोल्नलाई रोक्ने चाँहि कसैले पनि होइन । तर, कोही सिनियर साथी हुँदा हामीले बोल्न चाहे पनि उहाँहरुलाई नै बोल्ने पालो पहिले दिइन्छ । त्यसो हुँदा पनि अलि ब्याक हुन पुगिन्छ ।

मेरो कुरा गर्ने हो भने संसदमा सिकाइ र बुझाइ दुबै भइरहेको छ ।

हाम्रा केही अनेम संघका केन्द्रीय कमिटीका माननीयहरु पनि हुनुहुन्छ । म केन्द्रमा त छैन, जिल्लामामै हो । उहाँहरुले केही संशोधन हाल्न लाग्नुभयो भने मलाई पनि संगै संशोधन हाल्न पाए हुन्थ्यो भन्ने लाग्छ नै । किनभने सिक्ने पनि त हो । सबैले सबै जानेर आएको त हुँदैन ।

तर, म पनि तपाईहरुसँगै संशोधन हाल्छु है भनेर केन्द्रीय कमिटीमा रहेका माननीयहरुसमक्ष राखेकी थिएँ । उहाँले थाहै नपाई संशोधन हाल्नुभयो । मैले आफ्नै तरिकाले संशोधन हाल्न त सक्थेँ । तर, एउटा सिकाइ हुन्थ्यो, एकपल्ट संयुक्त हाल्दाखेरि भन्ने भएको थियो । त्यस्तो हुन सकेन ।

सलले टाउको छोप्दा
संसदमा होस या संसदीय समितिमा, भित्र बस्ने कुर्सी सबैलाई उस्तै छ । खानेपानी एउटै छ । ट्वाइलेट एउटै प्रयोग गर्छाैं । अनि केही तीतामीठा अनुभव पनि उस्तै छन् ।

मुस्लिम महिला भनेर छुट्टै पाराले हेर्दा रहेछन् भन्ने पनि कहीँकतै महसुस हुन्छ । उहाँहरुको जस्तै गेटअपमा हिँड्यो भने केही फरक परेन ।

एकपटक कोट पाइन्ट लगाएकी थिएँ र सल हालेकी थिएँ । एकजना माननीयले भन्नुभयो, ‘यो सल त नहाले भैहाल्यो नि, के सल हालेर आइरा हो तपाईं त ।

तपाईलाई मेरो सलले केही दिक्कद छ ? छ भने अहिल्यै हटाइदिन्छु भनें । उहाँले ‘हैन, नराम्रो देखियो’ भन्नुभयो ।

सल म मात्र हाल्छु ? अरुले नि हाल्छन् । तर, म मुस्लिम भएकी हुनाले ती माननीयले यस्तो भनेको हो कि भन्ने महसुस भयो । म हिन्दु भएको भए यस्तो भनिँदैनथ्यो भन्ने लाग्यो ।

हिंसाको स्वरुप फेरियो
एकदिन बिहानै एकजना माननीय ज्युले फोन गर्नुभयो । म व्यस्त थिएँ । श्रीमानले फोन उठाउनुभएको थियो ।

पछि मैले फोन फर्काएँ, उहाँले तपाईको श्रीमान पनि हुनुहुन्छ र ! भनिदिनुभयो । कस्तो कस्तो के मलाई ! मलाई केटाकटी देख्नुभयो कि ?

म महिलाहरुकै विषयमा काम गरेर आएकी । मधेसको कुरा गर्ने हो भने महिलाहरुलाई गर्भैदेखि नै हिंसा गर्ने चलन छ । सबैभन्दा बढी माया छोरीलाई मुस्लिमले गर्छ भन्ने हुन्छ । तर, माया गरेर मार्ने काम मुस्लिम समदायमा अहिले पनि उस्तै छ ।

घरमा काम गर्ने, बिहेर गरेर बच्चा जन्माउने, पुरुषहरुलाई चित्त नबुझे तलाक गरिदिने, अर्को बिहे गर्ने यस्तो हुन्छ । मुस्लिम समुदायका महिलाहरुमा शिक्षा छँदैछैन् । शिक्षा नभएपछि अगाडि आउन सकिने भएन ।

म मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सिंहदरबारमा छु । तर मेरो पहुँच मन्त्रालयहरुमा छैन, पोख्त भइसकेकी छैन । महिलाले गर्न सक्दैनन् भन्ने मानसिकता व्याप्त छ । तलदेखि माथिल्लो तहसम्म पनि महिलालाई हेर्ने दृृष्टिकोणमा अझै पनि परिवर्तन आउन नसकेको अर्को उदाहरण हुन् –स्थानीय तहका अधिंकाश उपमेयर महिला ।

प्रदेश २ सरकार मनलाग्दी गर्दैछ
प्रदेश २ सरकारले धेरै कुरा आफ्नै मनले गर्दैछ । हामी सात प्रदेशमा छौं । तर, हरेक चिज केन्द्र सरकार विपरीत गर्न खोज्न त भएन नि । हामीले परराष्ट्रमन्त्रीलाई नै भेटेर प्रदेश २ सरकारले मनलाग्दी रुपमा युवाहरुलाई विदेश पठाइरहेको भनेर पनि ध्यानाकर्षण गर्‍यौं । संघको सरकारको पनि मर्यादालाई ख्याल गर्नुपर्छ भन्ने नै हो ।

मधेस केन्द्रित दलको सरकार छ । इदको बिदा संघको सरकारले काट्यो । तर, उसले दियो । यसले सही सन्देस जाँदैन कि भन्ने हो ।

युवालाई आत्मविश्वासी बनाउनुपर्‍यो
युवा आफैँमा केही गर्न सक्छु भन्ने शक्ति हो । त्योखालको वातावरण सरकारले पनि बनाउन सक्नुपर्‍यो । एउटा मेडिकल अध्ययनरत युवाहरुको समुहले मलाई घर जाँदा भन्थे– ‘माननीयज्यु कसरी जागिर खाने ? केही गर्न खोज्यो, घुस खुवाउनुपर्ने, ५०/६० लाख खर्च गरेर पढाउनुभयो, जागिर खाएर कहिले कमाउनु भन्दै बुबाआमाले बिहेमा दाइजो खोज्नुहुन्छ ।’

दाइजो लिएर भने पनि उपर गरुँ भन्नेसम्म प्रभाव पर्दोरहेछ । त्यसकारण हरेक युवाहरुलाई रोजगारी दिलाउन सक्नुपर्ने हुन्छ । र, हाम्रो शिक्षा पनि त्यस्तै हुनुपर्ने देख्छु ।

हरेक युवाहरुले पनि आफैँ केही गर्न सक्छु भन्ने भाव दिलाउन सक्नुपर्नेमा नेताको पछि लाग्ने बनाइयो । हनुमानले आफ्नो शक्ति आफैँ बिर्सेका थिए नि हो त्यस्तै भइरहेको छ नेपालका युवाहरुमा अहिले । हाम्रो युवा अरुले परिचालन गरिरहेको छ । लिखितमा नाम निस्कियो माननीयज्यु मौखिकमा हजुरले भनिदिनुपर्‍यो भनेर आउँछन् ।

गाउँमा म देख्छु, एकजना महिला गाडी चढेर कतै जान लाग्यो भने छोड्नलाई ५/६५ जना जान्छन् । बस चढ्न सक्ने नै हुन्छन् तर त्यत्रा मान्छे किन जान पर्‍यो । बसवाला यो सबै आउने भए भनेर खुसी भएर रोक्छ । एउटा मात्रै चढ्छ र अरुले बाईबाई गर्दा त्यो बसवाला छक्क पर्छ । म सोच्छु एकजना महिलालाई पुर्‍याउन ५/६ जा जानुपर्‍यो । फुर्सदिलो भएका कारण त यस्तो भएको ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!