Tuesday, June 15, 2021
Home > समाचार > दुई जनाले पालैपालो बलात्कार गरेर बालिकाको हत्या, यसरी गरेको रहेछ बलात्कार

दुई जनाले पालैपालो बलात्कार गरेर बालिकाको हत्या, यसरी गरेको रहेछ बलात्कार

विराटनगर महानगर–८, बलुवाहीकी ११ वर्षीया रूपमती दासको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका स्थानीय अब्बास अन्सारी र चन्दु महतोलाई आइतबार जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा सार्वजनिक गरिँदै । तस्बिर : देवनारायण/कान्तिपुर

एक साताको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी दुवै जनालाई सार्वजनिक गरेको थियो। मजदुरी गर्दै आएका उनीहरू लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ। रूपमतीको शव माघ १३ गते आइतबार बिहान घरभन्दा ६ सय मिटरपूर्व सिंघिया खोलामा तैरिरहेको अवस्थामा फेला परेको थियो।

नारायण आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत रूपमती शनिबार साँझ छिमेकी नइमको घरमा टेलिभिजन हेर्न गएकी थिइन्। त्यसअघि आमा मन्नीदेवी र बुवा रामप्रसाद दासले उनलाई २० रुपैयाँ दिएर भुजा र चुरोट किन्न पसल पठाएका थिए। भुजा पसल बन्द भएकाले उनले चुरोट मात्रै लिएर आइन्। रामप्रसादले खाना खाएर छिमेकी नइमको घरमा टेलिभिजन हेर्न जाँदा बाटैमा रूपमतीसँग चुरोट लिएका थिए। बाँकी १५ रुपैयाँ आफूलाई दिएर उनी छिमेकीकै घरमा टेलिभिजन हेर्न गएको आमा रूपमतीले बताएकी थिइन्।

रामप्रसादले आफू टेलिभिजन हेर्न बसेलगत्तै अब्बास आएर तुरुन्तै फर्केर गएको बताएका थिए। अब्बास नइमको घरबाट निस्केको र रूपमती आफ्नो घरबाट निस्केको समय एउटै छ। घरअघिको गल्ली हुँदै सडकमा पुगेपछि पूर्वयोजनाअनुसार रूपमतीको मुख थुनेर अपहरण शैलीमा ती दुई युवकले लगेको प्रहरीले जनाएको छ।

रूपमती नइमको घरमा टेलिभिजन हेर्न जाने क्रममा चन्दु र अब्बासले बस्तीनजिकको विराटेश्वर वृद्धाश्रमको पूर्वपट्टि चौरमा लगेको अनुसन्धानबाट खुलेको छ। त्यहीँ लगेर दुवैले पालैपालो बलात्कार गरेको प्रहरीसँग बयानमा स्विकारेका छन््। प्रहरीका अनुसार अब्बासले रूपमतीको मुख थुनेर समातेपछि पहिले चन्दुले र त्यसपछि अब्बासले बलात्कार गरेको उनीहरूले बयान दिएका छन्। ‘दुवै जनाले पालैपालो बलात्कार गरेपछि घाँटी थिचेर हत्या गरे,’ प्रहरी उपरीक्षक मनोजकुमार केसीले भने, ‘अनि शव उठाएर ल्याई सबै लुगा खोलेर सिंघिया खोलामा फालिदिए।’

उनीहरूको बयानकै आधारमा प्रहरीले नदीनजिकैको झाडीमा लुकाइएको रूपमतीको लुगा बरामद गरिसकेको छ। रूपमतीको टोपी भने बलात्कार गरेकै ठाउँबाट माघ १६ गते बरामद भएको थियो। टोपी छुटेको थाहा नपाएको उनीहरूले बयान दिएका छन्। शव फालेपछि दुवै जना आ–आफ्नो घर गएर सुतेका थिए। अब्बासलाई रातभरि निद्रा नलागेपछि आइतबार बिहान ६ बजे शव हेर्न गएको र झाडीमा अडकेको देखेपछि पुन: धकेलिदिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।

दुवैजनाको मोबाइल लोकेसन र कल डिटेल रेकर्ड बयानसँग मिलेको प्रहरी उपरीक्षक केसीले बताए। उनका अनुसार रूपमतीलाई उठाएको, बलात्कार गरेको, शव फालेको र लुगा लुकाएको भनेको ठाउँ दुवै जनाको मोबाइल लोकेसनमा देखिएको छ। केसीले घटनाको गम्भीरता देखेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा शवको पोस्टमार्टम गराएको बताए। पोस्टमार्टम प्रतिवेदनमा यौनसम्पर्क र घाँटी थिचेर श्वास बन्द भएकाले मृत्यु भएको उल्लेख थियो।

प्रहरीका अनुसार अब्बासले त्यसैदिन रूपमतीकी काकी मञ्जुदेवीलाई लागूऔषध नाइट्रोसन खुवाएर बलात्कार गर्ने प्रयास गरेका थिए। पाउरोटीमा लागूऔषध मिसाएको भेटेपछि मञ्जुदेवीले नखाएको प्रहरीले जनाएको छ। अब्बासले शनिबार मजदुरी गरेको पारिश्रमिक १५ सय ल्याएका थिए। ‘सीमावर्ती भारतीय बजार जोगबनी गएर ५ वटा नाइट्रोसन खाई केही साथमा लिएर आएको पाइयो,’ केसीले भने, ‘साँझ ६ बजे रूपमतीकी काकी मञ्जुदेवीलाई आधा नाइट्रोसन हालेर दुईवटा ब्रेडचप खान दिएका रहेछन्।’

रूपमतीको शव भेटिएपछि प्रहरीले सुरुबाटै गम्भीरतासाथ अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरीले डीएसपी कृष्ण बस्नेतको संयोजकत्वमा र प्रदेश प्रहरीले पनि अनुसन्धान टोली परिचालन गरेका थिए। प्रहरी उपरीक्षक केसीले अनुसन्धानमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको बताए।

‘सुरुमा २० जनाभन्दा बढी स्थानीयसँग सोधपुछ गर्‍यौं,’ उनले भने, ‘त्यसमध्ये १७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेर निष्कर्षमा पुग्यौं।’ प्रहरीले अब्बासलाई सबैभन्दा पछि पक्राउ गरेको थियो। अब्बासको स्थानीय नाम भुट्टु भएकाले उनको खोजी गर्न समय लागेको प्रहरीले जनायो।

रूपमतीका बुवा रामप्रसादले सुरुमै अब्बास र चन्दुमाथि आशंका गरेका थिए। रामप्रसादको घरदेखि एक घरउत्तर अब्बासको र एक घरपूर्व चन्दुको घर छ। दुई छोराछोरीका बुवा लागूऔषध प्रयोगकर्ता अब्बासको पत्नीसँग विवाद छ। विवादका कारण उनकी पत्नी तीन महिनादेखि माइती बस्दै आएकी छन्। अविवाहित चन्दु रक्सी र गाँजाको लतमा फसेका छन्। दुवै जनालाई जबर्जस्ती करणी गरी कर्तव्य ज्यान अपराध गरेको कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान भइरहेको केसीले बताए।

लापरबाही पनि रूपमती राति नै हराए पनि आमाबुवाले भोलिपल्ट बिहान मात्रै खोजी गरेका थिए। टेलिभिजन हेरेर नफर्केपछि आमाबुवाले खोजी गर्नुपर्ने हो तर उनीहरूले त्यहीं सुतेको हुन सक्छ भन्दै खोजखबर गरेनन्। मन्नीदेवीले टेलिभिजन हेर्दाहेर्दै कहिलेकाहीं छिमेकीकै घरमा सुत्ने गरेकाले खोजी गर्न नगएको बताइन्। बुवा रामप्रसादले भने आमासँगै सुतेको होला भनेर नखोजेको बताएका थिए।

नइमको घरमा टेलिभिजन हेरिरहेका बेला निकै बेर कुकुर भुकेको सुने पनि बाहिर ननिस्किँदा छोरी गुमाउनुपरेको रामप्रसादले बताए। ‘त्यतिबेला टेलिभिजन हेर्न छाडेर बाहिर निस्केको भए छोरीलाई जोगाउन सकिन्थ्यो कि,’ उनले भने।

मन्नीदेवीले बिहान ५ बजे शौच गर्न गएका बेला घरनजिकै सडकमा रूपमतीको चप्पल देखेको बताइन्। ‘चप्पल कहाँ हरायौ भन्दै कुट्ने विचार गरेको थिएँ,’ उनले भनिन्, ‘घर आएर पुन: गई चप्पल ल्याएँ।’ त्यतिबेला पनि उनले छोरी छिमेकीको घरमा सुतेकी छ/छैन सोधखोज गरिनन्। समयमा खोजी नगरेकै कारण यस्तो दिन देख्नुपरेको उनले सुनाइन्।

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!