Wednesday, June 16, 2021
Home > खेलकुद > युएईमाथि नेपालको रोमाञ्चक जीत, दीपेन्द्र र पवन बने नायक

युएईमाथि नेपालको रोमाञ्चक जीत, दीपेन्द्र र पवन बने नायक

काठमाडौं । तीन टी-२० सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएको नेपालले दोश्रो खेलमा भने रोमाञ्चक जीत हात पारेको छ ।

सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।

१०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनाएको थियो।

युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन बनाए। यस्तै साइमन अनवारले १४ रन बनाउँदा मोहम्मद बोता ११ रनमा आउट भए। युएईका बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

नेपालका लागि अभिनास बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, करन केसी र सोमपाल कामीले समान २-२ विकेट लिए। सोमपालले सुरूवाती दुई ओभरमा लगातार दुई विकेट लिए।

कामीले पहिलो ओभरको अन्तिम बलमा आस्फाक अहमदलाई ४ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए। अहमदलाई उपकप्तान ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन्। यस्तै आफ्नो व्यक्तिगत दोस्रो ओभरको तेस्रो बलमा युएईका गुलाम सहबर ६ रनमा आउट गराए। सहबर विकेट किपर प्रदीप ऐरीको हातबाट क्याच भए।

त्यसपछि छैठौं ओभरमा सन्दीप लामिछानेले दुई विकेट लिए। उनले ओभरको पाँचौ र छैठौं बलमा विकेट लिएका हुन्। पाँचौ बलमा साइमन अनवारलाई १४ रनमा कप्तान पारस खड्काको हातबाट क्याच गराउँदा छैठौं बलमा मोहम्मद उसमानलाई पारसकै हातबाट शून्य रनमा आउट गराए।

पाँचौ सफलताको रूपमा करन केसीले ११ औं ओभरमा विकेट लिए। उनले ११ औं ओभरको तेस्रो बलमा युएईका मोहम्मद बोतालाई आउट आउट गराए। ११ रन बनाएर खेलिरहेका बोता पवन सरार्फको हातबाट समातिए।

यस्तै छैठौं र सातौं विकेट अभिनास बोहोराको नाममा रह्यो। बोहोराले तेह्रौ ओभरको चौथो बलमा आमिर हायातलाई आउट गर्दै पहिलो विकेट लिए। ३ रन बनाएर खेलिरहेका हायात बोहोराको बलमा दीपेन्द्र सिंह ऐरीबाट समातिए।

यस्तै १५ औं ओभरको तेस्रो बलमा युएईका कप्तान मोहम्द नाभिद ७ रन बनाउँदै आउट भए। उनी उपकप्तान ज्ञानेन्द्र मल्लको हातबाट समातिए। यस्तै आठौं विकेट नेपालले रन आउटबाट लियो। १७औं ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीको डाइरेक्ट हिटले युएईका सुल्तान अहमद आउट भए। ललितनारायण राजबंशीको बलमा उनी ४ रन बनाउँदै आउट भएका हुन्।

नेपालका लागि अभिनास बोहोराले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा युएईका सिपी रिजवानलाई ४४ रनमा क्याच आउट गराए। बोहोराले १९ औं ओभरको दोस्रो बलमा रिजवानलाई कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए। यो सँगै उनले प्रतियोगितामा तेस्रो विकेट हो।

यस्तै करन केसीले अन्तिम विकेट पनि आफ्नो नाममा लेखाएर उनले २० औं ओभरको दोस्रो बलमा जाहुर खानलाई विकेट किपर प्रदीप ऐरीको हातबाट क्याच आउट गराए। खानले २ रन बनाएका थिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!