Friday, June 18, 2021
Home > समाचार > तपाईको यो वर्ष कस्तो रहला ? हेर्नुहोस वार्षिक राशिफल

तपाईको यो वर्ष कस्तो रहला ? हेर्नुहोस वार्षिक राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
समग्रमा मेष राशि भएका व्यक्तिहरुका लागि २०७५ साल फलदायी रहनेछ । आश्विन १८ गतेसम्म तुला राशि (सप्तम भाव)मा गोचर गर्ने बृहस्पतिको अनुकुल प्रभावले व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । विशेष गरि पर्यटन, यात्रा, स्कुल, कलेज, बैंक तथा वित्तीय जस्ता क्षेत्रमा लगानी बढाई मनग्गे आम्दानी गर्न सकिनेछ । समाजमा राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्दि भएर जानेछ । रोजगारको खोजीमा हुनेहरुले नोकरीमा प्रवेश पाईनेछ । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । व्यापार विस्तार तथा अध्ययनको शिलशिलामा देश विदेशको यात्रा हुनेछ ।

भाग्यले प्रेम पात्र जुराउनेछ भने लामो समय देखि माया प्रेम गर्ने जोडीहरुको आफ्नो प्रेम सम्बन्ध विवाहमा परिणत हुनेछ । आश्विन १९ गते (कष्ट)भावमा प्रवेश गर्ने बृहस्पतिले र वर्ष भरि नै भाग्य भावमा गोचर गर्ने शनिले धार्मिक यात्रा तथा शैक्षिक यात्रा हुने भए पनि आफन्त तथा घर परिवारमा नराम्रा घट्नाको सामना गर्नु पर्नेछ । नोकरी छुट्ने तथा राज्य पक्षबाट अनावश्यक लाल्छाना तथा आरोप लाग्ने हुदाँ सजक रहनुहोला । व्यापारमा मन्द आउने तथा महंगा विलाशी वस्तुहरु हराउने प्रवल सम्भावना रहेको छ । भौतिक सम्पति प्रयोग गर्दा वा सवारी साधन चलाउँदा ख्याल गर्नुहोला शरिरमा चोटपटक लाग्नेछ । फाल्गुन १९ गतेबाट भाग्य भावमा प्रवेश गर्ने बृहस्पतिले लामो दुरीको अध्ययन तथा धार्मिक यात्रा हुनेछ ।

फाल्गुन ९ गतेसम्म कर्म भावमा रहने केतु र सुख भावमा रहने राहुले व्यवसाय तथा नोकरीमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ भने व्यापार व्यवसाय फस्टाएर जानेछ । फाल्गुन ९ गते पछि पराक्रम भावमा प्रवेश गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुले खेलकुद तथा पराक्रमी क्रियाकलापहरुमा सहभागी भई नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले कुटनीतिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दुरीको अफिशियल यात्रा हुनेछ ।

राशि स्वामी मंगल बैशाख २६ गते सम्म धनु भाग्य भावमा शनिसँग गोचर गर्ने हुनाले आट तथा पराक्रम बढेर जानेछ भने कन्फिडेन्ट पावर तथा लिडरसिप क्षमतामा वृद्धि हुनेछ । शनि र मंगलको यूक्तिले सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । बैशाख २७ गतेबाट कार्तिक २२ गते सम्म राज्य भावमा गोचर गर्ने उच्च मंगलले रुचक योगको निर्माण गर्ने हुनाले समाजमा प्रतिष्ठित काम गरी नाम कमाउन सकिनेछ । नोकरीमा प्रवेश पाई राज्यको उच्च पदमा आसिन रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । कार्तिक २३ गतेबाट पौष १० गते सम्म लाभ भावमा गोचर गर्ने मंगलले आरोग्य तथा धन धान्य प्राप्त हुनेछ ।

खनिज पदार्थ तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । घर जग्गा तथा भौतिक सम्पति जोड्न सकिनेछ । पौष ११ गतेबाट माघ २४ गतेसम्म विदेश भावमा गोचर गर्ने मंगलले लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशी लगानीबाट सञ्चालित संस्थाहरुमा नियुक्ति हुनेछ । खर्च बढेता पनि उपलब्धिमुलक कामहरु हुनेछन् । माघ २५ गतेबाट चैत्र १० गतेसम्म लग्नमा स्वगृह भएर पुनह रुचम योग बनाउने मंगलले बिशेष गरेर सुरक्षा क्षेत्रसँग सम्बन्धित जागिरमा नियुक्ति तथा बढुवा हुने योग रहेकोछ । चैत्र १० गते पछि कुटुम्ब भावमा जाने मंगलले बोलीमा कठोरता ल्याउने तथा आफन्तसँगको सम्बन्धमा चिसोपनाको विकास हुनेछ ।

आर्थिक दृष्टिले असार, असोज, माघ तथा फाल्गुन महिना मेष राशि हुनेहरुका लागि शुभ रहनेछ । मेष राशि भएका व्यक्तिहरुले प्रत्येक मंगलबार गणेश भगवानको पुजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरु समयमा सम्पन्न हुनेछ । शनिको लागि विष्णुको पुजा तथा पीपलमा जल चढाउँनाले र बृहस्पतिको लागि बंगलामुखीको दर्शन गर्ने र राहु केतुको लागि बटुक भैरभको पुजा तथा दर्शन गर्ने र आफ्नो ईष्टदेवको पुजा गर्नाले लाभ मिल्नेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वृष राशि भएका व्यक्तिहरुका लागि संघर्षमय पूर्वाद्धको समय पार गर्दै उत्तरार्द्दको समय फलदायी रहनेछ । कष्ट भावमा गोचर गर्ने वा वर्ष भरिनै शनिको अढैयाको प्रभावले घर परिवारमा विषेश गरि पति पत्नीबीच दूरी बढ्नेछ भने घरायसी कुरामा आफन्तबीच शैद्धान्तिक विषयमा राय बाजिनेछ । समाजसेवा तथा राजनीति गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरे अनुसार प्रतिफल पाउँन मुस्किल रहेको छ । सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्ने व्यक्तिहरुबाट अनावश्यक झन्झट व्यहोर्नु पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरुले नसा सम्बन्धी समस्या तथा प्यारालाईसिस तथा ग्यास्ट्रिकको समस्या झेल्नु पर्नेछ ।

फाल्गुन ९ गते सम्म पराक्रम भावमा गोचर गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुले केही शुभ संकेतहरु प्रदान गर्नेछ । छिमेकीसँगको सम्बन्धमा सुधार ल्याउँनुको साथै दाजुभाईको सहयोगमा छोटो तथा लामो दुरीको यात्रा हुनेछ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निणर्यहरु तपाईकै पक्षमा हुनेछन् । भाग्य भावमा गोचर गर्ने केतुले बसाई सराई तथा लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । फाल्गुन ९ गते पछि कुटुम्ब भावमा गोचर गर्ने राहु तथा अष्टम भावमा गोचर गर्ने केतुले अचानक धन सम्पति हात लागि हुने भएपनि लामो समय सम्म चल्ने रोगको बृद्धि नगराउला भन्न सकिन्न ।

आश्विन १९ गते सम्म छैटौ वा सत्रु घरमा गोचर गर्ने बृहस्पतिको प्रतिकुल प्रभावले सामान्यत व्यवसायमा लगानी गरिहाल्ने समय रहेको छैन । हरेक क्षेत्रमा प्रतिस्पर्धीहरु हाबी हुँन सक्छन् भने ऋण लाग्ने तथा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आए पनि पनि आश्विन २० गतेबाट बृहस्पतिले राशि परिवर्तन गरि सप्तम भावमा जाने हुँनाले व्यापार व्यावसायमा थप लगानी गर्ने वातावरण बन्नेछ भने व्यवसायमा सहभागी हुनेहरुले प्रशस्त नाफा कमाउँन सक्नेछन् । आफुलाई मन परेको मानिससँग वा पति पत्नीका साथ रमाईलो यात्राको तय गर्न सकिनेछ भने माया प्रेम गर्ने जोडीहरुले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्र तथा पढाई लेखाईबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । रमाईलो पारिवारिक यात्राको अधिक सम्भावना रहेकोछ भने व्यापार बिस्तारको लागि अथवा धार्मिक तथा शिक्षाको लागि देश विदेशको यात्रा गर्न सकिनेछ ।

राशि स्वामी शुक्र बैसाख ६ गतेबाट बैसाख मसान्त सम्म लग्नमा गोचर गर्ने स्वगृह शुक्रले मालव्य योगको पनि निर्माण गर्ने हुनाले सवारी साधन तथा विलाशी सामानको प्रयोग गर्न पाईने तथा मन परेको मानिस वा जीवन साथीको सुख प्राप्त हुनेछ । भाद्र १९ गतेबाट कार्तिक ५ गतेसम्म र मंसिर १३ गतेबाट पौष १८ गतेसम्म प्रतिस्पर्धा भावमा स्वगृह भई गोचर गर्ने शुक्रले न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् भने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

आर्थिक दृष्टिकोणले साउन कार्तिक फाल्गुन तथा चैत्र महिना उत्कृष्ट रहेको छ । प्रत्येक शुक्रबार इन्द्रेणी देवीको दर्शन, पुजा आराधाना गर्नाले र शनिको अढैया तथा नकारात्मक प्रभावबाट बच्नको लागि विष्णु भगवानको पुजा तथा आराधना गर्ने, पीपलमा हरेक शनिबार जल चडाउँने गर्दा लाभ मिल्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिथुन राशि हुनेहरुका लागि पूर्वाद्धको समय परिणाममुखी काम गर्दै मध्यकाल संघर्षमय हुदै उत्तराद्धको समय शुभ रहनेछ । आश्विन १९ गतेसम्म पञ्चम(विद्या,बुद्धि,सन्तान) भावमा गोचर बृहस्पतिले घर जग्गा,हाउजिङ तथा सवारी साधनको कारोबार तथा खरिद बिक्रीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । शेयर बजार तथा सट्टाको व्यवसायबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरीमा पदोन्नती हुनेछ । वंश वृद्धिको गतिलो योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा निरन्तर लागि पर्ने विद्यार्थी वा रिसर्च पर्सनका लागि समय फलदायी रहेकोले उत्कृष्ट नतिजाका साथ समाजमा ईज्जत प्रतिष्ठा बढेर जानेछ । फाल्गुन १९ गते पछि सम्तम भावमा प्रवेश गर्ने बृहस्पतिले घर परिवारमा शुभ तथा मांगलिक कार्यहरु हुनेछन् । प्रेम सम्बन्धलाई निकास दिन सकिनेछ ।

आश्विन १९ गतेदेखि फाल्गुन १९ गतेसम्म ऋण,रोग तथा शत्रु घरमा प्रवेश गर्ने बृहस्पतिले र वर्ष भरिनै सप्तम भावमा गोचर गर्ने शनिले कुनै पनि मुद्दा मामिला तथा बिवादमा सहभागी भए हारिने सम्भावना रहेको छ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । साझेदारी व्यवसायमा साझेदारहरु बीचनै शैद्धान्तिक राय बाजिनेछ भने भौतिक सम्पतिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ । जण्डिस, सुगर, मोटोपन, पत्थरी तथा मृर्गौला जस्ता रोगबाट पिडित हुनेहरुले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवन साथीसँग मनमुटाब सिर्जना हुनेछ । लामो दुरीको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला ।

फाल्गनु ९ गते सम्म धन भावमा गोचर गर्ने राहु र अष्टम भावमा गोचर गर्ने केतुले खर्चको तुलमाना आम्दानी कमजोर रहने हुनाले व्यापार व्यवसायमा थप लगानी गर्ने वातावरण टरेर जानेछ । आफन्त तथा कुटुम्बसँग भौतिक सम्पतिको बाडफाडमा विवाद हुनेछ । पुरातन संस्कृतिलाई लत्याएर अग्रगामी छलाङ मार्न खोज्दा सहयोग तथा समर्थनको अभावमा चाहको गन्तब्य पत्ता लगाउन मुस्किल पर्नेछ । भौतिक सम्पति तथा स्रोत साधनको प्रयोग गर्न नजान्दा दुर्घटना नहोला भन्न सकिन्न । फाल्गुन ९ गते पछि लग्न भावमा गोचर गर्ने राहु र सप्तम भावमा गोचर गर्ने केतुले मानसिक अस्थिरता बढाउदछ भने सवारी साधन हराउने तथा चोरी हुने सम्भावना रहेको छ ।

राशि स्वामी बुध वर्षको सुरुबाट बैशाख २५ गते सम्म निचो भएर कर्मभावमा गोचर गर्ने हुनाले वाणीमा कठोरता आउने तथा आमाको स्वास्थमा समस्या देखा पर्नेछ । जेष्ठ २६ गतेबाट असार ११ गतेसम्म लग्नमा स्वगृह भएर भद्र योगको निर्माण र असोज ३ गतेबाट असोज १९ गतेसम्म चौथो भावमा प्रवेश गरी पुनह भद्र योग र बुध आदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्ट पावरमा वृद्धि हुनेछ भने बोलेरै धेरै कामहरु गर्न सकिनेछ ।

प्रतिकुल समयमा शनिको मन्त्र जप तथा भटुक भैरव तथा माता बंगालामुखीको भक्तिभावका साथ पुजा तथा आराथना गर्नाले लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले बैशाख , भाद्र, मंसिर र चैत्र महिना उत्कृष्ट रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कर्कट राशि हुनेहरुका लागि यो वर्ष विभिन्न अवसरहरुको सदुपयोग गरि जीवनमा उल्लेख्य सुधार गर्दै अगाडि बढ्न सकिने समय रहेको छ । आश्विन १९ गते सम्म सुख भावमा गोचर गर्ने बृहस्पतिले आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । कृषि तथा चौपाया व्यवसायमा लगानी बढाई प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । घरजग्गाको खरिद बिक्रीबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने स्थायी सम्पति जोड्ने समय रहेको छ । आश्विन १९ गतेदेखि फाल्गुन १९ गते सम्म विद्या भावमा गोचर गर्ने बृहस्पतिले विद्यार्थीहरुले पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्न सक्नेछन् । शेयर बजार, अध्ययन अध्यापन, बैक तथा वित्तीय क्षेत्रमा समय खर्चिनेहरुले राम्रो प्रगति गर्न सक्नेछन् भने नोकरीमा बढुवा हुने योग रहेकोछ । माया प्रेमका कोपिलाहरु फक्रिनेछन् भने सुयोग्य बर बधुको लगन गाठो बाधिनेछ । फाल्गुन १९ गते पछि सत्रु भावमा प्रबेस गर्ने बृहस्पतिले ऋण,रोग तथा शत्रुको बृद्धि गर्नेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

वर्षभरि नै छैटौ भाव गोचर गर्ने शनिले वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रहि काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागि यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा निति निययको पालन गरि काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । मावली तथा मामा पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ ।

फाल्गनु ०९ गते सम्म लग्नमा गोचर गर्ने राहु र पत्नी स्थानमा गोचर गर्ने केतुले तपाई आफ्नै कारणले कामहरु बिग्रनेछन् । आफन्तहरु टाडिने तथा साझेदारी व्यवसायमा केही उतारचढाब आउनेछ । फाल्गुन ०९ गते पछि विदेश भावमा जाने राहु र छैटौ भावमा प्रवेश गर्ने केतुले अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले बैसाख, जेष्ठ, असोज, मंसिर महिना राम्रो रहेकोछ । बंगलामुखी देवीको पुजा तथा आराधना तथा शनिबार विष्णुको पूजा तथा पिपलमा जल चडाउँला लाभ मिल्नेछ भने राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नको लागि बटुक भैरबको पुजा तथा आराधाना गर्दा लाभ मिल्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सिंह राशि भएकाहरुका लागि समग्रमा समय राम्रो रहेको छ । आश्विन १९ गतेसम्म पराक्रम भावमा रहने बृहस्पतिले यात्राको क्रममा विभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध बिग्रनेछ भने कुटुम्बजनसँग झै झगडाको योग बन्नेछ । बिचौलियाहरुको प्रभावमा परि तपाईबाट नराम्रा निर्णयहरु हुन सक्छन् ध्यान दिनुहोला । सरकारी पद धारण गरी सेवा प्रवाह गर्नेहरुबाट अनावश्यक झन्झट बेहोर्नु पर्नेछ । आश्विन १९ गतेपछि फाल्गनु १९ गतेसम्म सुख भावमा गोचर गर्ने बृहस्पतिले घर जग्गा तथा भौतिक सम्पति जोड्न सकिनेछ । पैतृक सम्पति आफ्नो नाममा आउने योग रहेको छ । नाफामुखी व्यवसाय भन्दा सेवामुखी व्यवसाय फस्टाएर जानेछ भने प्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । प्रेम सम्बन्धहरुलाई विवाह मार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । फाल्गुन २० गतेबाट पञ्चम भावमा प्रवेश गर्ने बृहस्पतिले शेयर बजार तथा बैकिङ क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । वंश वृद्धिको गतिलो योग रहेकोछ भने घर परिवारमा मांगलिक कामहरु हुनेछन् । बौद्धिक क्षेत्रमा सामेल भई आफ्नो तार्किक भनाई प्रस्तुत गर्ने अवसर जुर्नेछ ।

फाल्गनु ९ गतेसम्म खर्च भावमा गोचर गर्ने राहु र छैटौ भावमा गोचर गर्ने केतुले औषधि उपचार खर्च बढाउँने तथा सुखमा कमी गर्ने तथा पशु चौपायबाट हानि हुनेछ । घर छोडी देश विदेशको यात्रा हुनेछ भने राज्यबाट अपमान, दण्ड तथा जरिवाना सहनु पर्नेछ । प्रतिस्पर्धीहरु तथा शत्रुहरु हाबी हुनेछन् । काममा वा व्यवसायमा बिध्नबाधाहरु गर्नेहरुले सताउँन सक्छन् । आँखामा कष्टको अधिक सम्भावना रहेको छ । फाल्गनु ९ गतेपछि आय भावमा प्रवेश गर्ने राहु र पञ्चम भावमा प्रवेश गर्ने केतुले प्राकृतिक स्रोत तथा पैतृक सम्पतिको परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । कुटनीति तथा राजनीति क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समयले साथ दिने हुदा नाम तथा दाम दुवै कमाउने ग्रह योग रहेकोछ ।

वर्ष भरिनै (विद्या, बुद्धि, सन्तान) भावमा गोचर गर्ने शनिले मानसिक अस्थिरता बढ्नेछ भने योजनाहरु कार्यान्वयनको चरणमा लैजान मुस्किल पर्नेछ । सन्तान तथा आफन्तसँग मतभेद रहनेछ । स्वास्थ्यमा नसा तथा ग्याट्रिक सम्बन्धि समस्याले सताउनेछ । अध्ययनमा मन जाने भएपनि शनिको प्रभावले भनेजस्तो नतिजा आउनेछैन । राशि स्वामी सूर्य पौस महिना भरि शनि सँग पञ्चम भावमा गोचर गर्ने हुनाले बुवाको स्वास्थमा समस्या आउनेछ ।

बृहस्पतिको नकारात्मक प्रभावबाट बच्न देवी तथा बंगलामुखीको पूजा तथा आराधना गर्ने शनिदेवलाई खुसी पार्नको लागि विष्णुको पूजा तथा आराधना, पीपलमा जल चडाउँने, राहु तथा केतुको लागि भैरबको दर्शन तथा आराधना गर्नुपर्दछ । आर्थिक दृष्टिकोणले जेष्ठ,असार,भाद्र,कार्तिक र माघ महिना राम्रो रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कन्या राशि हुनेहरुका लागि समग्रमा यो वर्ष राम्रो रहेको छ । आश्विन १९ गतेसम्म धनस्थानमा र आश्विन १९ गतेपछि पराक्रम भावमा जाने बृहस्पतिले समाजसेवा तथा राजनीति गर्नेहरुले जनताको गतिलो समर्थन पाउनेछन् भने राज्यबाट पद पाउने अधिक सम्भावना रहेको छ । काउन्सेलिङ, मोटिभेसन,गायन तथा संगितको क्षेत्रबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । सांगितक कार्यक्रमकै शिलशिलामा देश बिदेशको यात्रा हुनेछ । नयाँ काम पाउँने तथा नोकरीमा पदोन्नतिको गतिलो सम्भावना रहेको छ । व्यापार व्यवसायमा समय खर्चिने हरुले भने जस्तो आम्दानी गर्न सक्नेछन् । विद्या तथा प्रतिस्पर्धाहरुमा तपाईको नाम अग्र स्थानमा आउनेछ । कुनै पनि काम गर्न जोस जागर आउँने तथा ईच्छाशक्तिमा बृद्धि भएर जानेछ । माया प्रेममा फक्रन लागेका कोपिलाहरुलाई बिबाहमा परिणत गरि घरजम गर्न सकिनेछ । घर परिवारमा आफन्त तथा कुटुम्ब सबैको सहयोग तथा समर्थन पाईने हुँनाले मन प्रशन्न रहनेछ ।

फाल्गुन ९ गतेसम्म लाभ स्थानमा गोचर गर्ने राहुले र पञ्चम भावमा गोचर गर्ने केतुले अकस्मात धन तथा भौतिक सम्पति लाभ हुनेछ भने ईष्टमित्रहरुबाट सहयोग प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गरि प्रशस्त आम्दानी गर्न सकिने तथा सरकारी धन तथा सम्पति प्राप्त हुनेछ । दाजुभाई तथा छिमेकीबाट तपाईको थाल्नु भएको काम र चाल्नु भएको कदममा साथ रहनेछ । विवादित विषयलाई टुङग्याउँदै अगाडि बढ्न सकिनेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । फाल्गुन १९ पछि कर्म स्थानमा प्रवेश गर्ने राहुले र सुख भावमा जाने केतुले मान सम्मानमा अकस्मात बृद्धि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतिर रुचि बढ्नेछ भने भुमि लाभ हुनेछ ।

फाल्गुन १९ पछि सुख भावमा प्रवेश गर्ने बृहस्पति र वर्ष भरिनै सुख भावमा गोचर गर्ने शनिको अढैयाको प्रभावका कारण सत्रु बढ्ने तथा रोग लाग्ने समय रहेको छ । यात्राका सवालमा केही कष्ट बेहोर्नु पर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेको छ । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । घर जग्गा तथा पैतृक सम्पतिमा विवाद हुने योग रहेको छ । राज्यबाट सेवा प्रवाह गर्नेहरुले अनावश्यक दुख दिनेछन् तर जन्म कुण्डलीमा शनि उच्च, स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ ।

राशि स्वामी बुध जेष्ठ २६ गतेबाट असार ११ गतेसम्म कर्मस्थानमा स्वगृह भएर भद्र योगको निर्माण र असोज ३ गतेबाट असोज १९ गतेसम्म लग्न भावमा प्रवेश गरि पुनह भद्र योग र बुध आदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेको छ । कन्फिडेन्ट पावरमा वृद्धि हुनेछ भने बोलेरै धेरै कामहरु गर्न सकिनेछ । जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुक भैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरु फलदायी रहनेछन् । आर्थिक दृष्टिकोणले असार, साउन, मंशिर तथा फाल्गुन राम्रो रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
यो वर्ष तुला राशि हुनेहरुका लागि उत्साहजनक वर्ष रहनेछ । वर्ष भरिनै पराक्रम भावमा गोचर गर्ने शनिले व्यापार व्यवसायमा सुक्ष्म व्यवस्थापन तथा समयको सदुपयोग गर्दै लगानी गर्ने वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेकोछ । न्यायालय फाईनान्स, चार्टर एकाउन्टेन, मेडिकल र वकालत पेशा व्यवसायमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ । छिमेकी तथा दाजुभाईबाट सहयोग तथा समर्थन पाईने हुनाले मन प्रशन्न रहनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुति देखाउन देश विदेशको यात्रा गर्न सकिनेछ ।

फाल्गुन ९ गतेसम्म राज्यभावमा गोचर गर्ने राहु र सुख भावमा गोचर गर्ने केतुले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सांगठनिक विस्तार तथा प्रशिक्षण कार्यक्रमकै सवालमा देश विदेशको यात्रा हुनेछ । कुटनीतिको कारक राहु स्वयम् राज्य भावमा गोचर गर्ने हुनाले राजदुत तथा परराष्ट्र जस्ता क्षेत्रमा पद पाईने तथा स्थानान्तरण हुनेछ । पशुपालन तथा कृषि व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । त्यस्तै शुख भावमा गोचर गर्ने केतुले घर जग्गा, हाउजिङ, ढुङगा माटो वा कन्ट्रक्सनको क्षेत्रमा समय लगानी गर्नेहरुका लागि अकस्मात धन तथा भौतिक सम्पति प्राप्त हुनेछ । किर्तिमानी काम गरि प्रसिद्धि कमाउँन सकिनेछ भने मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सवारी तथा भुमि प्राप्तिको गतिलो सम्भावना रहेको छ । फाल्गुन ९ गते पछि भाग्य भावमा प्रवेश गर्ने राहु र पराक्रम भावमा गोचर गर्ने केतुले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपस्थिति रहनेछ । भाग्यले साथ दिने हुदा सानो-सानो प्रयत्नले सकारात्मक तथा उपलब्धिमुलक कामहरु हुनेछन् ।

आश्विन १९ गतेसम्म प्रथम भावमा गोचर गर्ने बृहस्पतिले कामहरु समयमा नसकिने तथा विलम्व हुने हुनाले मान सम्मानमा कमी हुनेछ । निति नियम नमान्दा वा नियम संगत काम नगर्दा राज्यबाट दण्ड तथा जरिजाना हुनेछ । आश्विन १९ गते पछि फाल्गुन १९ गते सम्म धन स्थानमा रहने बृहस्पतिले परिस्थिति अनुकुल बन्ने तथा भाग्ले साथ दिनेछ । स्कुल, कलेज तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने विवाह गरि घरजम गर्न सकिनेछ ।

राशि स्वामी शुक्र बैसाख ६ गतेबाट बैसाख ३० गतेसम्म अष्टम भावमा स्वगृह भई बस्ने हुुनाले नसोचेको धन तथा सम्पति लाभ हुनेछ । चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो सम्भावना रहेको छ । फेन्सी तथा विलाशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । साउन १६ गतेबाट भाद्र १७ गतेसम्म र कार्तिक ६ गतेबाट मंसिर १२ गतेसम्म खर्च भावमा निचो भएर गोचर गर्ने शुक्रले उपचार खर्च बढ्ने तथा कष्टकर यात्रा पनि हुन सक्छ ध्यान दिनुहोला । भाद्र १८ गतेबाट कार्तिक ५ गतेसम्म र मंसिर १३ देखि पौस १७ गतेसम्म प्रथम भावमा स्वगृह भई मालव्य योगको निर्माण गर्ने शुक्रले भौतिक सम्पति तथा विलाशी वस्तुको प्रयोग तथा परिचालन गरि आर्थिक अवस्था मजबुत पार्न सकिनेछ । घर जग्गा तथा सवारि साधन जोडिनेछ भने घर परिवारमा शुभ तथ मांगलिक कार्य हुनेछ ।

आर्थिक दृष्टिकोणले साउन, भाद्र, पौष तथा चैत्र अनुकुल रहेको छ । प्रतिकुल समयमा देवी तथा बंगलामुखीको दर्शन, पुजा तथा आराधना, तथा बृहस्पतिको मन्त्रजप गरि समयलाई फलदायी बनाउन सकिनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
यो वर्ष पूर्वाद्धको समय संघर्षमय रहे पनि उत्तरार्द्दको समय उत्साहजनक रहनेछ । आश्विन १९ गतेसम्म खर्च भावमा गोचर गर्ने बृहस्पतिले लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा हुनेछ । नोकरीमा आफ्नो कार्य क्षमता देखाउन नसक्दा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेको छ । स्वास्थ्य समस्या देखिने हुदाँ उपचार खर्च बढेर जानेछ भने आँखामा समस्या आउनेछ । विशेष गरि कोल्डस्टोर, कलेजो,जण्डिस तथा सुगर रोग भएकाहरुले सचेत रहनु होला । माया प्रेममा एक अर्कालाई शंकाको नजरले हेर्दा नचाहदाँ नचाहदै छुट्नु पर्ने अवस्था आउँनेछ । आष्विन १९ गतेपछि फाल्गुन १९ सम्म जन्म राशिमा बृहस्पतिको आगमनले सुधारका संकेतहरु देखिनेछन् । फाल्गुन १९ गते पछि धनस्थानमा जाने बृहस्पतिले व्यापार व्यवसायमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । स्कुल, कलेज, बैंक तथा वित्तीय क्षेत्र, न्यायिक निकाय, एकाउन्टेन जस्ता क्षेत्रमा समय लगानी गर्नेहरुले मनग्गे धन तथा भौतिक सम्पति जोड्ने योग रहकोछ ।

फाल्गुन ९ गतेसम्म भाग्य भावमा गोचर गर्ने राहु र पराक्रम भावमा गोचर गर्ने केतुले विभिन्न अवसर आउने र ती अवसरलाई सदुपयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउँने तथा पदोन्नतिको वा अनुकुल ठाउँमा स्नानान्तरण हुँनेछ । प्राकृतिक तथा सरकारी धन तथा पैतृक धनको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा कुटनीतिको क्षेत्रमा समय खर्चिनेहरुका लागि देश तथा जनताकै कामको लागि देश विदेशको यात्रा हुनेछ भने राजदुत, एनजिओ, आईएनजिओ, विदेशबाट सञ्चालित सस्थाहरुमा नियुक्ति तथा स्थानान्तरण हुनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । नयाँ उद्योगधन्दा तथा व्यापार व्यवसायबाट भने जस्तो आम्दानी हुनेछ । भौतिक सम्पति तथा भुमि जोड्ने समय आउनेछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकिकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने नवीन कार्यमा मन जानेछ । शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने छोटो-छोटो यात्रा अधिक हुनेछ । फाल्गुन ९ गतेपछि कष्टभावमा जाने राहु र धन भावमा जाने केतुले अकस्मात धन सम्पति वृद्धि हुने योग रहे पनि भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा विशेष ख्याल गर्नुहोला ।

वर्ष भरि नै शनिको अन्त्य शाढे सात दशाको कारणले आर्थिक अवस्था कमजोर रहनेछ भने काममा विलम्ब हुनेछ । झुटा आरोप लाग्ने तथा मान सम्मानमा कमीको महसुस हुनेछ भने आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा दुरी बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । हतियार तथा दुर्घटना भई चोटपटक लाग्नेछ भने दाजुभाई तथा जीवन साथीसँग मनमुटाव बढ्नेछ । तर पनि जन्मकुण्डलीमा शनि उच्च, स्वगृह, मित्रगृह तथा ३,६,११ भावमा भए काम तथा अध्ययनको शिलशिलामा देश विदेशका यात्रा हुनेछ । आर्थिक दृष्टिकोणले बैसाख, भाद्र, असोज, माघ महिना अनुकुल रहेकोछ । बंगलामुखीको पुजा तथा आराधना तथा शनिलाई खुसी पार्नको लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धनु राशि भएका व्यक्तिहरुलाई पूर्वाद्ध तथा मध्यकाल उत्साहजनक रहेपनि उत्तरार्द्दको समय केकी संघर्षमय रहनेछ । आश्विन १९ गतेसम्म आय भावमा गोचर गर्ने बृहस्पतिको प्रभावले सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सरकारी तथा प्रसाशनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल कलेज, बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । विद्यार्थी वर्गहरुले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको शिलशिलामा देश विदेशको यात्रा हुनेछ । माया प्रेम गर्ने जोडीहरुले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । लामो दुरीको धार्मिक यात्रा हुनेछ भने परोपकारजन्य काममा सहभागी भईनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रशस्त रुपैयाँ पैसा कमाउँन सकिनेछ भने उपहार तथा चिठ्ठा प्राप्तिको योग रहेको छ । ईच्छित चाहना तथा मनोकामनाहरु पुरा हुनेछन् । आश्विन १९ गतेपछि खर्च भावमा जाने बृहस्पतिले स्वास्थ्यमा समस्या आउनेछ । कोल्ड स्टोर, जन्डिस ,कलेजो तथा मोटोपन भएका व्यक्तिहरुले विशेष ख्याल गर्नुपर्नेछ । फाल्गुन १९ गते पछि जन्म राशिमा प्रवेश गर्ने बृहस्पतिले व्यापार तथा नोकरीमा बिध्न बाधाको सामना गर्नुपर्नेछ भने राजभए र मानसिक क्लेश बढ्नेछ । खर्च बढ्ने हुनाले आर्थिक व्यवस्थापन गर्न गाह्रो हुनेछ ।

वर्षभरिनै शनिको मध्य साडेसातको प्रभाव रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरुलाई विभिन्न समस्या आईपर्ने, झुटा आरोप लाग्ने तथा समयमा काम सम्पन्न नहुने तथा शरिर कमजोर हुने समस्या आईपर्नेछ । जन्म कुण्डलीमा शनि स्वगृह, उच्च तथा मित्रगृहमा हुनेहरुका लागि भने शनिले राम्रा तथा परिणाममुखी फल दिनेछ । फाल्गुन ९ गतेसम्म अष्टम भावमा गोचर गर्ने राहु र धन भावमा गोचर गर्ने केतुले अकस्मात आर्थिक अवस्था बलियो भए पनि भौतिक सम्पति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला अचानक दुर्घटना, चोटपटक, रोगले सताउनेछ । फाल्गुन ९ गते पछि सप्तम भावमा जाने राहु र राशि भावमा जाने केतुले अचानक व्यापार व्यवसायमा वृद्धि हुनेछ भने लामो दुरीको मनोरञ्जनात्मक तथा व्यापारिक यात्रा हुनेछ । साझेदारी व्यवसायमा समय लगानी गर्नेहरुले मनग्गे धन सम्पति जोड्ने समय रहेको छ । लामो समयदेखिको प्रेम सम्बन्धमा भने माया प्रेममा एक अर्कालाई अविश्वास तथा शंका गनाले नचाहँदा नचाहँदै छुट्टिनु पर्ने बाध्यता आउनेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ ।

साडेसातको प्रभाव हुनेहरुले महांकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा पानी चढाउँदा फाईदा हुनेछ । बृहस्पतिको लागि माता बंगालामुखीको पूजा तथा आराधना गर्नाले शुभफल प्राप्त हुनेछ र जन्म कुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरुले वटुक भैरव र छिन्नमस्ताको उपासना गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ, असोज, कार्तिक तथा फाल्गुन महिना राम्रो रहेकोछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मकर राशि हुनेहरुका लागि समग्रमा समय राम्रो रहेको छ । आश्विन १९ गतेसम्म राज्यभावमा र फाल्गुन १९ गतेसम्म आय भावमा गोचर गर्ने बृहस्पतिले बृहस्पतिले राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले सम्मानजनक पद प्राप्त गर्नेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले साथ दिने हुनाले सानो प्रयत्नले ठुलो काम बन्नेछ । व्यापार व्यवसायमा समय लगानी गर्नेहरुले प्रशस्त रुपैयाँ पैसा कमाउँन सक्नेछन् भने लगानी बढाउँने अवसर जुट्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रका प्रगति हुनेछ भने विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर जग्गा तथा स्थायी सम्पति जोड्न सकिनेछ । नयाँ कामको खोजीमा रहेकाहरुले नयाँ काम पाउँने तथा नोकरीमा पदोन्नति हुनेछ । माया प्रेमको सम्बन्ध विवाहमा परिणत हुनेछ भने जीवन साथीको सहयोगले विशेष काम गर्ने अवसर प्राप्त हुनेछ । फाल्गुन १९ गतेपछि खर्च भावमा जाने बृहस्पतिले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । दिर्घकालीन रोगीहरुले विशेष ख्याल गर्नुपर्ने समय रहेकोछ ।

फाल्गुन ९ गतेसम्म व्यापार भावमा गोचर गर्ने राहु र राशि भावमा गोचर गर्ने केतुले व्यापार विस्तारको सवालमा देश बिदेशका यात्रा हुनेछ भने अकस्मात धन तथा सम्पतिमा वृद्धि हुनेछ । स्वदेशमा उत्पादित सामानहरुको व्यापार व्यवसाय विदेशमा निर्यात बढ्नेछ भने व्यापार विस्तारकै शिलशिलामा लामो दुरीको समुन्द्र पारको यात्रा हुनेछ । छोटो समयमा आर्थिक उन्नति गरि जीवन स्तर उकास्न सकिनेछ । फाल्गनु ९ गते पछि छैटौ भावमा जाने राहु र खर्च भावमा जाने केतुले खर्च बढाए पनि उपलब्धिमुलक कामहरु हुनेछन् । विदेशी लगानीबाट सञ्चालित संस्थाहरुमा काम पाउने प्रशस्त सम्भावना रहेको छ भने अफिसियल यात्रा हुनेछ । विद्यार्थीहरुले अध्ययनकै शिलशिलामा यात्राको तय गर्नुपर्नेछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा होसियार हुनुहोला दुर्घटना नहोला भन्न सकिन्न ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कुम्भ राशि हुनेहरुका यो वर्ष उत्साहपुर्वक बित्नेछ । आश्विन १९ गतेसम्म भाग्य भावमा र फाल्गुन १९ सम्म राज्य भावमा र फाल्गुन १९ पछि लाभ स्थानमा गोचर गर्ने बृहस्पतिले राजनीति तथा कुटनीतिको क्षेत्रमा लामो समय देखि काम गर्नेहरुले राज्यबाट कार्यकारी पद प्राप्तिको योग रहेकोछ । नया काम पाउने तथा नोकरीमा बढोत्तरीको ग्रह योग रहेकोछ । सानो प्रयत्नले ठुलो काम बन्नेछ भने राज्यबाट मान सम्मान तथा ईज्जत प्रतिष्ठा पाईनेछ । कृषि,पशुपालन तथा सहकारी क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, बैंक तथा इन्सुरेन्समा जस्ता क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । पैतृक सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकाहरु त्था सुयोग्ग बर तथा बधुको लगन गाठो कसिनेछ । मातृभुमि छोडेर लामो दुरीको फाईदाजनक धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने पुत्र लाभको गतिलो सम्भावना रहेकोछ ।

फाल्गुन ९ गतेसम्म शत्रु भावमा गोचर राहु र खर्च स्थानमा गोचर गर्ने केतुले मनमा अशान्ति पैदा गर्नेछ भने आँखा तथा स्वास्थ्य सम्बन्धी समस्या निम्त्याउँनेछ । पुराना रोगहरु बल्झने तथा दीर्घकाल सम्म चल्ने रोग लाग्न सक्छ ध्यान दिनुहोला । मामा तथा मावली पक्षबाट तपाईको काममा सहयोग तथा समर्थन रहनेछैन । फाल्गुन ९ गतेपछि राहु पञ्चम भावमा र केतु आय भावमा प्रवेश गर्ने हुनाले धन तथा सम्पतिमा अचानक बृद्धि हुनेछ । शेयर बजार, लट्री तथा सट्टाको कारोबार एक्कासी बढ्नेछ । भाग्य तथा आयमा वृद्धि भई आर्थिक अवस्था मजबुत रहनेछ ।

वर्षभरिनै शनि अनुकुल हुनाले भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । विदेशी भाषा तथा विदेशी संस्कार र संस्कृतिको अनुशरण गर्नेहरुका लागि समय उत्तम रहेको छ । बहुमुल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपश्थिति रहनेछ । भुमि तथा खनिज पदार्थको व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ भने नोकरीमा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्री वर्गबाट सहयोग पाईनेछ ।

आर्थिक दृष्टिकोणले बैसाख साउन, मंसिर, पौष महिना उत्कृष्ट रहेको छ । बिधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखिको पूजा तथा आराधना तथा राहु केतुको लागि बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
यो वर्ष मीन राशि हुनेहरुका लागि सुरुको समय संघर्षमय रहेपनि अन्तको समय भने उल्लाशमय रहनेछ । आश्विन १९ गतेसम्म कष्ट भावमा रहने बृहस्पतिले स्वास्थ्यमा समस्या आई अत्याधिक खर्च हुनेछ । भौतिक सम्पतिमा विवाद आउनुको साथै परिवारजनसँग टाडिएर लामो दुरीको कष्टकर यात्रा हुनेछ । व्यवहारिक समस्या बढ्नेछ भने ऋण, रोग तथा संकटको सामना गर्नु पर्नेछ । विधिविधान पुर्वक काम नगर्दा राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्ने तथा दण्ड जरिवाना तिर्नुपर्नेछ । आश्विन १९ गतेपछि भाग्य भावमा र फाल्गनु १९ गतेपछि राज्य भावमा जाने बृहस्पतिले खोज तथा अनुसन्धानकै शिलशिलामा लामो दुरीको यात्रा हुनेछ । समाजमा गुमेको साख फिर्ता गर्न सकिनेछ भने राजनीति तथा कल्याणकारी क्षेत्रमा समय लगानी गर्नेहरुले राज्यबाट पद पाउने तथा प्रशस्त सेवा सुबिधा पाउने ग्रह योग रहेकोछ । राज्यको निकायमा बसेर काम गरिरहेकाहरुले अनुकुल स्थानमा सरुवा तथा कार्यकारी पदमा बसी देश र जनताको सेवा गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनमा सुधार हुने तथा नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । कुनै पनि पेशा व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानी गर्न सक्नेछन् । विवाह बन्धनमा बाधिने गतिलो योग रहेकोछ भने लामो समय देखि प्रेममा रहेकाहरुले आफ्नो सम्बन्धलाई आत्मियता थप गर्ने अवसर प्राप्त हुनेछ ।

फाल्गुन ९ गतेसम्म पञ्चम भावमा गोचर गर्ने राहु र केतुले अचानक धन तथा दौलतको वृद्धि गर्नेछ भने चिठ्ठा तथा उपहार प्राप्तिको गतिलो सम्भावना रहेको छ । विदेशी तथा कुटनितिको क्षेत्रमा रही काम गर्नेहरुले नयाँ प्रकृतिको काम गरी मनग्गे धन सम्पति जोड्ने समय रहेको छ । फाल्गुन ९ पछि सुख भावमा प्रवेश गर्ने राहु र राज्य भावमा गोचर गर्ने केतुले बसाई सराई तथा मातृभुमि छोडी अन्य स्थानमा स्थानान्तरण हुने योग रहेकोछ भने जागरि तथा व्यवसायमा अलि बढी चनाखो भएर काम गर्नु पर्नेछ ।

वर्षभरि नै राज्य भावमा गोचर गर्ने शनिले नोकरी तथा कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय भएपनि उनीहरुका नकारात्मक सोचाई तथा गलत क्रियाकलापहरुलाई चिर्दै सुधारमुखी काम गर्न सकिनेछ । कामहरुमा विलम्ब भएपनि अन्तत प्रतिफल भने उत्साहमुखी हुनेछ । नचाहदाँ नचाहादै मुद्दा मामिला जस्ता विवादास्पद बिषयमा सहभागीपर्ने भएपनि अन्तत छुट्कारा पाईनेछ ।

आर्थिक दृष्टिकोणले जेष्ठ, भाद्र,पौष र माघ महिना उत्कृष्ट रहेका छन् । विधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखीको पूजा,आराधना तथा दर्शन र शनिको लागि मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चडाउँनाले लाभ मिल्नेछ ।

(ज्योतिष दुर्गा प्रसाद भण्डारी)

Leave a Reply

error: Please Dont Copy My Content!! !!