Monday, June 14, 2021
Home > जीवनशैली > करेन्ट लागेर दुवै हात गुमाएकी बालिका रूपाकाे अठोट, खुट्टैले लेखेर डिग्री पास गर्ने… सम्मानका लागि सेयर गराैं

करेन्ट लागेर दुवै हात गुमाएकी बालिका रूपाकाे अठोट, खुट्टैले लेखेर डिग्री पास गर्ने… सम्मानका लागि सेयर गराैं

जहाँ करेन्ट लागेर दुवै हात गुमाएकी बालिका रूपा रौतारको परिवार बस्छ । उनीहरू यो घरमा बस्न थालेको झण्डै ५ वर्ष भयो । टोलका धेरैलाई थाहा छ– रूपा बस्ने यहीँ हो । रूपाको परिचय यतिले पुग्दैन । रूपा कलाकार पनि हुन् । अनि खुट्टाले लेखेर विद्यालयमा राम्रो अङ्क ल्याउने विद्यार्थी । आइतबार बिहान ८ बजे रूपा बस्ने घर पुग्दा उनी भर्खर नुहाएर आमासँगै टीभी हेर्दै थिइन् ।

उनीसँग कुराकानी गर्नुथियो । कुराकानी सुरु भयो । कुरा गर्दैगर्दा भित्तामा झुन्डाएको क्यालेन्डरमा बाल्यकालको फोटोमा रूपाको आँखा पटक पटक ठोक्किन्थे । झुण्ड्याएको क्यालेन्डरमा दुई हातमा चुरा लगाएको र मुसुक्क हाँसेको रूपाको एउटा फोटो थियो । हल्का कलर उडेको जस्तो देखिने फोटोलाई निकै जतनसाथ राखिएको बुझ्न सकिन्थ्यो ।

आखिर किन उनको आँखा त्यो फोटोमा पटक पटक पर्छ ? जिज्ञासा स्वभाविक थियो ।

प्रश्नले उनलाई निकै भावुक बनायो । उनी भावुक बनिन् । भनिन्– ‘यो मेरो फोटो अमूल्य सम्पत्ति हो, किनकि मेरा हात भएका अरू फोटाहरू छैनन् र अब कहिल्यै खिच्न पनि पाइँदैन । तसर्थ मलाई यो फोटोले बाल्यकालको सम्झना आउँछ ।

आमा इन्द्रकलाका अनुसार २ वर्षको उमेरमा खिचेको हो त्यो तस्बिर । रूपाको स्थायी घर कपिलवस्तु वाणगङ्गा नगरपालिका वडा नं. ३ धनकौलीमा हो । छोरीको करेन्ट लागेपछि बुटवल बस्न थालेका हुन् उनीहरू । यहाँ बस्न थालेपछि कहिले काहीँ मात्रै पुरानो घर जान्छन् ।

१४ वर्ष विदेशी भूमिमा पसिना बगाएका रूपाका बुबा अहिले रूपासँगै छन् । बुटवलको आम्दा अस्पतालमा सुरक्षा गार्डको काम गर्छन् रूपाका बुबा । रूपाका दाइ बुटवलमै अध्ययन गर्दैछन् । आमाको काम चाहिँ रूपाको सहयोग गर्ने हो ।

आमाले केही वर्षसम्म्म रूपालाई बिहान सङ्गीत सिक्न बुटवलको मिलनचोक लैजाने अनि अध्ययनका लागि दीप बोर्डिङ स्कुलमा पुर्याउने र ल्याउने गरिन् । अहिले रूपा आफै बस चढेर स्कुल र अन्य ठाउँमा पनि जान सक्छिन् ।

आमा इन्द्रकला भन्छिन्– ‘छोरी आफै काम गर्न थालेपछि मलाई निकै सहज भएको छ ।’

घटना यस्तो थियो
०५८ साल वैशाखमा जन्मिएकी रूपा समान्य बिरामी थिइन् । उनका बुबा विष्णु विदेशमा थिए । आमा इन्द्रकालालाई चिठ्ठी लेख्न आउँदैथ्यो । विदेश गएका रूपाका बुबा विष्णुसँग परिवारको संवादको माध्यम भनेकै चिठ्ठी थियो । अहिले जस्तो हातहातमा मोबाइल थिएन ।

कपिलवस्तुको होराइजनमा पढ्दै गरेकी रूपालाई घरमा बोलाएर आफन्तकोमा चिठ्ठी पुर्याउने भन्दै रूपाकी आमा इन्द्रकला घरबाट निस्किइन् ।

छोरीलाई स्कुलबाट ल्याएर आफन्तकोमा चिठ्ठी दिन गएकी उनी आफन्तसँग कुराकानी गर्दैगर्दा रूपा अचानक घरको दोस्रो तलामा पुगेको कसैलाई थाहै भएन ।

इन्द्रकलाले घटना स्मरण गरिन्– एक्कासि आवाज आयो । हेर्दा कतै देखिएन, घरमाथि हेर्दा त छोरी करेन्ट लागेर टिनमा बजारिएकी रैछ । टिनमा बजारिएपछि पनि दाउरा राखेको ठाउँमा झरी । घाँटीमा, शरीरमा दाउरासमेत गाडिएका थिए । हातमा दनदनी आगो मात्र बलेको देखेपछि लुम्बिनी अञ्चल अस्पताल लगेँ, त्यहाँबाट टिचिङ अस्पताल ।

त्यहाँ पनि नभएपछि कान्ति बाल अस्पतालमा लगियो । ६ दिन डाक्टरले रूपालाई उपचार गरिरहे । हातको मासु कुहिन थाल्यो । जलेको हाड र मासु पलाउन सम्भव थिएन । त्यसैले उपचारको सातौँ दिन रूपाका दुवै हात काटियो । रूपालाई काठमाडौँमा ६ महिनाको उपचारपछि कपिवस्तु ल्यायौँ । ४ लाख रूपैयाँ खर्च भयो ।

रूपाको जब होस खुल्यो
घटनापछि रूपा लामो समयसम्म होसमा आइनन् । ‘थाहा पाउँदा त दुवै हात थिएनन्, पट्टी बाँधिएको थियो । डाक्टरले बचाउन यति गर्नुभएको होला भन्ने लाग्यो’, रूपा भन्छिन् । ‘डाक्टरले हात नकाटेको भए क्यान्सर हुन सक्ने भएकाले हात काट्नुभएको रे’, उनले सुनाइन् ।

अस्पतालमा आउने शुभेच्छुकले त्यो बेला प्राधिकरणमा राहतका लागि अपिल गर्न बारम्बार भने । तर उनी छोरीलाई छाडेर हिँड्न सकिनन् । आमा नदेख्दा रूपा अस्पतालको बेडबाट रुन्थिन् । इन्द्रकलाले त्यो बेला विद्युत प्राधिकरणमा राहतका लागि निवेदन दिनसमेत पाइनन् । पछि निवेदन दिदा ढिला भइसकेको थियो । घटना घटेको ७ दिनमा निवेदन दिनुपर्ने हुन्छ । बल्लतल्ल उनले प्राधिकरणबाट ९७ हजार रूपैयाँ राहत पाइन् । त्यतिन्जेलसम्म रूपाका परिवारको ४ लाख रूपियाँ सकिसकेको थियो ।

रूपाको हात गुमेपछि उनको परिवार अन्तै मोडियो । सामान्य आर्थिक अवस्था रहेको रौतार परिवारलाई रूपालाई कपिलवस्तुस्थित पढ्दै आएको विद्यालयले पढाउन मानेन । त्यसपछि यो परिवार रूपाकै खुशीको लागि बुटवल आयो । कतारमा रहेका बुबा विष्णु पनि नेपाल फर्किए । त्यसपछि उनीहरू बुटवलको लक्ष्मीनगर हुँदै हाल देवीनगरस्थित साङ्ग्रिला पथमा बस्छन् ।

यसरी जान्छिन् रूपा विद्यालय
रूपा आमाको सहयोगमा मुख्य राजमार्गसम्म पुग्छिन्, बिहानको सङ्गीत कक्षाका लागि । विद्यालयका लागि भने घर नजिकैको होराइजनचोकसम्म स्कुल बस आउने भएकाले आमाको सहयोग चाहिँदैन । उनी बसमा बुटवलको सुख्खानगरमा रहेको दीप बोर्डिङ पुग्छिन् ।

प्रार्थना सकिन्छ । साथीहरूसँगै प्रार्थना गरेपछि उनी कक्षा ८ को कोठाभित्र छिर्छिन् । देव्रे साइडमा उनलाई छुट्टै बस्ने स्थान राखिएको छ । साथीसँगै बस्छिन्, पढ्छिन्, खाजा खान्छिन् अनि विद्यालय सकेपछि पुनः घर फर्किन्छिन् रूपा । रूपाको दैनिकी यही हो ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले रूपाको पढाइ मध्यम रहेको बताए ।

उनले खुट्टाले लेख्ने भए पनि अक्षर चाहिँ राम्रा भएको बताए । स्वाभाविक रूपमा दुई हात भएको विद्यार्थी र दुई हात नभएको विद्यार्थीहरूको गतिविधि फरक हुन्छ । त्यसमा समान्य असर पर्ने नै भयो । तर रूपाको आत्मविश्वास र मिहिनेतले उनलाई अध्ययन र कला क्षेत्रमा राम्रो फड्को मार्न सहयोग पुग्ने शिक्षकहरूको विश्वास छ । उनलाई विद्यालयले निःशुल्क अध्ययनको व्यवस्था मिलाएको छ । डिग्री पास गर्ने सपना

रूपा रौतार अहिले १६ वर्षकी भइन् । आठ कक्षामा पढ्दै आएकी रूपा सङ्गीत कक्षा पनि स्थानीय बागेश्वरी सङ्गीतालयमा निःशुल्क नै सिक्छिन् । रूपाको भर्खर मात्रै हिम्मत भाकी छोरी गीति एल्बम बजारमा आएको छ । ‘रूपाको सङ्गीतमा रुचि छ, उनको क्षमता पनि छ । गत वर्ष देवदहमा भएको प्रदर्शनीमा आइडल पनि भईन्’, रूपालाई सङ्गीत सिकाउँदै गरेका गुरु सुरेश सेन्चुरी भन्छन्– ‘रूपाको क्षमता अपरम्पार छ ।’

रूपाले खुट्टाले खान्छिन्, खुट्टैले लेख्छिन् । मोबाइल पनि खुट्टैले चलाउँछिन् । भविष्यमा राम्रो गायिका बन्ने लक्ष्य लिएकी रूपा पढाइमा पनि तेज छिन् । ‘रूपाको पढाइ राम्रो छ । सङ्गीत पनि उस्तै छ । विद्यालयले आवश्यक सहयोग गरेको छ’, रूपा अध्ययनरत विद्यालयका प्राचार्य न्यौपानेले बताए । रूपाले सङ्गीत र पढाइ दुवैलाई सँगसँगै लैजाने इच्छा रहेको बताइन् । ‘जसरी भए पनि डिग्री पास गरेरै छाड्छु’, उनले आफ्नो सपना सुनाइन् । भनिन्– ‘मेरो हात छैन । तर पढ्नका लागि कुनै अप्ठ्यारो छैन । म जसरी पनि डिग्री पास गर्छु ।’

रातो पाटीबाट साभार

Leave a Reply

error: Please Dont Copy My Content!! !!