काठमाडौं–सरकारले प्रर्दशनका लागि निश्चित स्थान तोकेको विरोधमा नागरिक अगुवाले राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेका छन् । डाक्टर गोविन्द केसीको नेतृत्वमा शनिबार राजधानीको माईतीघर मण्डलामा विरोध प्रर्दशन भएको हो ।राजधानीको माईतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सरकारले प्रर्दशन, सभा लगायत कार्यक्रमका लागि अन्य विभिन्न ७ स्थान
तोकेपछि सो निर्णयको विरोध गरिएको हो ।‘ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार, नागरिक स्वतन्त्रतामा अतिक्रमण बन्द गर’ लगायत नारा सहितका प्लेकार्ड बोकेका प्रर्दशनकारीले मण्डला परिसरमा केही समय सरकार विरोधी नारा पनि लगाए ।
प्ले कार्ड सहित प्रर्दशनको नेतृत्व गरेका डाक्टर केसीले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने काम गरेकोमा आपत्ती जनाए । प्रर्दशनकारी उज्वल राणाले विगतमा निश्चित स्थानलाई मात्रै निषेधित क्षेत्र घोषणा गर्ने सरकारले अहिले सबै स्थानमा रोक लगाउदै प्रर्दशन, सभाका लागि निश्चित स्थान तोक्नुले पञ्चायत र राणा शासन भन्दा पनि बढी निरंकुश बन्दै गएको स्पष्ट भएको बताए
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बैशाख १६ गते देखि लागू हुने गरी २ गते सूचना जारी गर्दै खुल्लामञ्च, तिनकुने खुल्ला चौर कोटेश्वर,भुईखेल चौर भगवान पाउ,पेप्सीकोला खेल मैदान, सानो गौचरण फुटबल, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुल्ला स्थान र सिफल चौर गौशाला बाहेकका स्थानमा सभा, प्रर्दशन गर्न रोक लगाईएको जनाएको थियो