Wednesday, May 12, 2021
Home > समाज > बझाङबाट आयो यस्तो दुःखद खबरः जस्ले सबैकाे मन यसरी तानिइरह्यो

बझाङबाट आयो यस्तो दुःखद खबरः जस्ले सबैकाे मन यसरी तानिइरह्यो

रिदम सिंह, माघ २ बझाङ । साइपाल गाउँपालिकाको धलौन माध्यमिक विद्यालयको ७ कक्षामा पढ्ने कविता धामी कात्तिक १५ देखि नै फुर्सदमा छिन् । अर्धवार्षिक परीक्षा दिएर हिउँदे बिदा भएको उनको स्कुल एकैपटक फागुनको १६ गते मात्र खुल्ने भएपछि उनी लामो बिदा मनाउन सदरमुकाम झरेकी छन् ।

‘अर्धवार्षिक परीक्षा दिएपछि बिदा दिए । अब वार्षिक परीक्षाको बेला मात्र खुल्छ,’ कविताले भनिन् । लामो समयसम्म स्कुल बन्द हुदाँ पढाइ पूरा हुन्छ त ? उनले भनिन, ‘यो वर्ष मात्र होइन, पढाइ त कहिले पनि पूरा हुँदैन । प्रत्येक वर्ष यस्तै हो ।’

यहाँका विद्यार्थी वैशाखको पहिलो साताबाट किरा टिप्न लेक जान्छन् । भदौ पहिलो साता मात्रै गाउँ फर्किन्छन् । स्कुलको पढाइ कसरी छुट्छ भन्ने विवरण दिंदै धुली आधारभूत विद्यालयमा ७ कक्षा अध्ययरत डोल्मा लामाले भनिन्, ‘भदौदेखि दसैं बिदा नहुन्जेल पढाइ हुन्छ । दसंै तिहार बिदापछि अर्धवार्षिक परीक्षा हुन्छ । अनि जाडो बिदा सुरु भइहाल्छ । हिउँदभरि विद्यालय बन्द हुन्छन् । एकैपटक चैतमा परीक्षा हुन्छ । एक वर्षमा २ महिनाजति स्कुल खुल्छन् होला ।’

उनले साइपाल गाउँपालिकामा रहेका सबै ५ वटा विद्यालयमा अध्ययनरत ७ सयभन्दा बढी विद्यार्थीहरूले प्रत्येक वर्ष पढाइ पूरा नगरेरै वार्षिक परीक्षा दिइरहेको बताइन । यसरी प्रत्येक वर्ष अर्धवार्षिक परीक्षा दिएपछि एकै पटक वार्षिक परीक्षामा मात्र विद्यालय टेक्ने बाध्यता साइपाल गाउँपालिकाका विद्यार्थीको मात्र छैन, जिल्लाको उत्तरी भेगका २ दर्जनभन्दा बढी विद्यालयमा पढ्ने तीन हजारभन्दा बढी विद्यार्थीले धेरै वर्षदेखि यस्तै नियत भोगिरहेका छन् ।

यार्सागुम्बा संकलन हुने साबिकका काँडा, सुर्मा, दौलिचौर, मेलबिसौना, दहबगर र जयपृथ्वी नगरपालिकाको सुइल, मयाना, गजौन र बारिलका २४ भन्दा बढी विद्यालयका विद्यार्थी वैशाखदेखि साउनसम्म यार्सा टिप्न जाने भएकाले विद्यालय बन्द हुन्छन् । हिउँदमा चिसोका कारण कात्तिकको दोस्रो सातादेखि फागुनसम्म विद्यालय बन्द हुने गरेका छन ।

हिमाली क्षेत्रका बासिन्दा हिउँदयाममा केटाकेटीसहित औल झर्ने भएकाले विद्यालय खोले पनि पढ्न कोही नआउने गरेकाले विद्यालय बन्द गर्नुपरेको शिक्षक बताउँछन् । ‘यहाँका मानिसहरू हिउँद सुरु हुनासाथ केटाकेटी बोकेर बेसी झरिहाल्छन् । शिक्षकहरू दिनभर स्कुलमा आगो तापेर बस्नुपर्छ । विद्यार्थी एक जना पनि हुँदैनन,’ सदरमुकाम चैनपुरमा भेटिएका धुली आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज जोशीले भने,‘वैशाख नलाग्दै लेकतिर गइहाल्छन् । अनि पूरा पढाइ कसरी हुन्छ ?’

शिक्षकहरूले विद्यालय खुलेको बेला पनि राम्रोसँग नपढाउने गरेका कारण यहाँका विद्यार्थीको पढाइ कमजोर हुने गरेको विद्यार्थीको आरोप छ । ‘सरहरू वर्षमा दुई महिना मात्र स्कुल आउँछन, आएको बेला पनि नपढाइकन रक्सी खाएर गाउँमै हल्लिन्छन,’ ८ कक्षामा अध्ययनरत जस्मल बोहराले भने, ‘खासमा यहाँ नपढेरैपरीक्षा दिनुपर्छ भने पनि हुन्छ ।’

वर्षमा २ महिना मात्र विद्यालय खुल्ने समस्याका कारण सबैभन्दा बढी मार साइपाल गाउँपालिकाका विद्यार्थीको पढाइमा परेको छ । यहाँका ५ वटा विद्यालयमा ७ सय ४२ जना विद्यार्थी अध्ययनरत रहेको जिल्ला शिक्षा इकाइको आँकडा छ । वर्षमा कम्तीमा २ सय २० दिन विद्यालय खुल्नुपर्ने र कम्तीमा २ सय १० दिन कक्षा संचालन भएको हुनुपर्ने व्यवस्था शिक्षा नियमावलीमा गरिएको भए पनि यहाँका विद्यार्थीले ६०र७० दिन मात्र कक्षा लिएको भरमा परीक्षा दिनुपर्ने अवस्था छ । २ वटा माध्यमिक विद्यालय रहेको काँडामा यस वर्षको एसईई, परीक्षामा काँडा माविमा एक जना पनि विद्यार्थी उत्तीर्ण भएनन । अघिल्लो वर्षकोपरीक्षामा अर्काे विद्यालय धलौन माविले शून्य नतिजा ल्याएको थियो ।

सदरमुकाम चैनपुरदेखि ९० किलो मिटर उत्तरमा पर्ने यो गाउँपालिका दुर्गम भएका कारणले यसअघि सघन निरीक्षण गर्नसमेत गाह्रो भएको र भौगोलिक विकटता, चिसो मौसम र यार्साका कारण विद्यार्थीको पढाइ बिग्रने गरेको जिल्ला शिक्षा इकाइ प्रमुख सुरेन्द्र कठायतले बताए ।

‘चिसोमा कक्षा संचालन गर्न सकिंंदैन, गर्मीमा विद्यार्थी रोक्न सकिंदैन,’ उनले भने, ‘केटाकेटीका आँखा तेजिला हुने भएकाले बढी यार्सा भेट्टाउँदा रहेछन् । २र३ कक्षा पढ्ने विद्यार्थीले ३ महिनामा एक डेढ लाख कमाउँछन् । हामीले चाहेर पनि रोक्न सक्ने अवस्था छैन ।’ उनले अब विद्यालयलाई नियमन गर्ने सबै अधिकार स्थानीय तहमा नै गएको बताउँदै गाउँपालिकाले यस्तो समस्या समाधानका लागि सोच्नुपर्ने बताए ।

साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले यस गाउँपालिकाको शिक्षा शाखा प्रमुखको रूपमा जिल्ला शिक्षा इकाइले पठाएका स्रोत व्यक्ति प्रेम बुढा एक वर्षदेखि आफूहरूको सम्पर्कमा नआएका कारण यहाँको शैक्षिक अवस्था लथालिंग भएको बताए ।

उनले यस विषयमा आफूहरूले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा इकाइमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको बताए । जिल्ला शिक्षा इकाइ प्रमुख कठायतले भने शिक्षा शाखाको कर्मचारीउपस्थित नभएमा अर्काे भर्ना गर्ने अधिकार पनि गाउँपालिकालाई नै भएकोले यस विषयमा कसैलाई दोष दिन नमिल्ने बताए । स्टेटसेभेन अनलाइन

Leave a Reply