Friday, May 14, 2021
Home > समाचार > लक्की शेर्पा नेपाल छाडेर भागेपछि…

लक्की शेर्पा नेपाल छाडेर भागेपछि…

माघ– मानव तस्करीको गम्भीर आरोप लागेपछि सरकारद्वारा बोलाइएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा भागेर सुटुक्क अष्ट्रेलिया पुगेकी छन् ।आफ्नै चालक वाङछु शेर्पाले आफूलाई जागिर दिएबापत मोटो रकम लिएको तथा राजदूत शेर्पाले मानव तस्करी गर्ने गरेको संगीन आरोप लगाएपछि उनलाई सरकारले गत महिना सोधपुछका लागि नेपाल बोलाएको थियो ।

राजदूत शेर्पासँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकरदास बैरागीले बयान लिएका थिए । त्यस क्रममा उनले आरोप अस्वीकार गरे पनि मन्त्री ज्ञवाली र सचिव बैरागी उनको जवाफबाट सन्तुष्ट हुन सकेनन् । ज्ञवालीको रिपोर्टिङको आधारमा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बर्खास्त गर्ने निर्णयमा पुगेका थिए । बीचमा लक्ककीले रातारात राजनीतिक चलखेल गरेर बर्खास्त नगर्ने वातावरण बनाइन् । राजीनामा दिने सर्तमा बर्खास्त नगर्न नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड सहमत पनि भए ।

तर, लक्की सहमतिअनुसार राजीनामा दिनुको साटो राजदूतकै हैसियतमा अष्ट्रेलिया पुगेपछि दुवै अध्यक्षले धोका खाएको महसुस गरेका छन् । ‘राजदूतबाट हटे पनि बाँकी राजनीतिक जीवनमा धक्का नलागोस् भनेर राजीनामा दिन भनिएको थियो’, ओलीनिकट स्रोतले भन्यो, ‘तर, उनी त दिन्छुदिन्छु भन्दै भागेको शैलीमा सुटुक्क अष्ट्रेलिया पुगिछन् ।’ स्रोतका अनुसार पछिल्लो एक साता लक्कीलाई परराष्ट्र मन्त्रालयबाट सम्पर्कमा ल्याउन निकै कोसिस गरिएको थियो । तर, उनी सम्पर्कबाहिरै बसेर केही दिनअघि सिड्नी पुगेकी हुन् ।

Leave a Reply