Wednesday, November 13, 2019
Home > खेलकुद > अर्जेन्टिना ५-१ ले विजयी, मेसीले तीन डिफेन्डरलाई छक्याउँदै गरे उत्कृष्ट गोल – हेर्नुहोस भिडियो

अर्जेन्टिना ५-१ ले विजयी, मेसीले तीन डिफेन्डरलाई छक्याउँदै गरे उत्कृष्ट गोल – हेर्नुहोस भिडियो

एजेन्सी – कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुआलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

अर्जेन्टिनाको जितमा कप्तान लिओनेल मेसीले पहिलो हाफमा मात्र खेल्दै २ गोल गरेका थिए । दोस्रो हाफमा सर्जियो अगुएरोको स्थानमा मैदान प्रवेश गरेका लौतारो मार्टिनेजले पनि २ गोल थपे । अर्को गोल रोबर्टो परेराको नाममा रहयो ।

मेसीले खेलको ३७ औं मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । जिओभानी लो सेल्सोको पासलाई उत्कृष्ट नियन्त्रणमा लिँदै मेसीले तीन डिफेन्डरलाई छक्याउँदै उत्कृष्ट गोल गरे । त्यसको एक मिनेट नबित्दै मेसीले अर्को गोल थपे । लो सेल्सोको पासमा अगुएरोले गरेको प्रहार गोलरक्षकले बचाएपनि फर्केर आएको बलमा मेसीले गोल गरेका थिए ।

दोस्रो हाफमा अगुएरो र मेसीको स्थानमा मार्टिनेज र पाउलो डिबाला मैदान प्रवेश गरेका थिए । ६३ औं मिनेटमा मार्टिनेजले कर्नरमा आएको बललाई नियन्त्रणमा लिँदै गोल गरे । त्यसको १० मिनेटपछि मार्टिनेजले व्यक्तिगत दोस्रो गोल थपे । कर्नरमा आएको बललाई उत्कृष्ट हाफ भली प्रहार गर्दै उनले अर्जेन्टिनालाई ४-० को अग्रता दिलाए ।

खेलको ९ मिनेट समय बाँकी रहँदा परेराले अर्जेन्टिनालाई ५-० ले अगाडी बढाए । विङ्बाट आएको क्रसलाई मार्टिनेजले गोलको दिशा दिन नसक्दा फार पोस्टमा रहेका परेराले गोल गरेका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा निकारागुआले पेनाल्टीमा गोल फर्कायो । डिफेन्डर निकोलस ओटामेन्डीले ह्याण्ड गरेपछि प्राप्त पेनाल्टी बरेराले सदुपयोग गर्दै सान्त्वना गोल गरे ।

अर्जेन्टिनाले कोपा अमेरिकाको समूह चरणमा कोलोम्बिया, पाराग्वे र कतारको सामना गर्नेछ । अर्जेन्टिनाले पहिलो खेल जुन १५ मा कोलोम्बियाविरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: